साढे ६ अर्ब लागतमा पाँचतारे रोयल टुलिप सञ्चालनमा

काठमाडौं– ललितपुरको ग्वार्कोमा पाँचतारे रोयल टुलिप ब्रान्डको होटल सञ्चालनमा आएको छ । ६ अर्ब ५० करोड रुपैयाँमा पाँचतारे होटल सञ्चालनमा आएको हो । अन्तर्राष्ट्रिय होटल चेन लुभ्र होटल्स ग्रुपले काठमाडौंमा ‘रोयल ट्युलिप’ ब्रान्डको सेवा सुरुआत गरेको हो ।
होटलमा नेपालकै सबैभन्दा ठूलो कोठा संख्या र राजधानीकै सबैभन्दा धेरै माइस सुविधा उपलब्ध हुने दाबी गरिएको छ । होटलले नेपाली संस्कृति र पहिचानसँग मेल खाने गरी अन्तर्राष्ट्रिय स्तरको पाँचतारे सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । होटल द म्यासिफ होटल प्रालिद्वारा निर्माण गरिएको र सरोवर होटल्सद्वारा व्यवस्थापनमा ल्याइएको हो ।
होटल आकारका हिसाबले सबैभन्दा ठूलो कोठा र संख्याका आधारमा नेपालकै सबैभन्दा ठूलो बनेको छ । होटलमा चार वर्गका कोठा रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ३.५ किमि टाढा रिङरोडमा अवस्थित रहेको छ । रोयल ट्युलिप काठमाडौंमा तीन सय आठ कोठा र सुइट रहेको द म्यासिफ होटल प्रालिका अध्यक्ष राजेन्द्र शाक्यको दाबी छ ।
होटलमा सभा–सम्मेलन तथा आवासीय सेवामा नयाँ स्वरुप दिन खोजिएको छ । होटलमा काठमाडौंकै सबैभन्दा ठूलो ३० हजार वर्गफिटभन्दा बढीको सम्मेलन स्थल रहेको छ । यसमा ११ हजार वर्गफिटका दुई ठूला बैंक्वेट हल, ६ वटा अतिरिक्त मिटिङ कोठा रहेका छन् । सुसज्जित हल, साना बेडरुमदेखि विशाल वैवाहिक समारोहसम्म सञ्चालन गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय सम्मेलन, सरकारी स्वागत, विवाह, प्रदर्शनी र ठूला कर्पोरेट कार्यक्रमका लागि यो होटल उपयुक्त हुने अध्यक्ष शाक्यले बताए । होटलमा एक सय चार वटा कोठाबाट सेवा प्रारम्भ गरिएको छ । साथै, दुई उत्कृष्ट भोजनालय पनि सञ्चालनमा आएको अध्यक्ष शाक्यले जनाए । द अल्पाइन लाउन्ज र बार तथा प्रत्यक्ष संगीत र आधुनिक सजावटका साथ पाहुनालाई सेवा दिइरहेको छ ।
अध्यक्ष शाक्यले भने, ‘रोयल ट्युलिप काठमाडौं सुरुखात भएसँगै नेपालको पर्यटन विकासमा थप टेवा पुग्नेछ । होटलबाट उपलब्ध सेवाले नेपालको पर्यटन उद्योगमा खर्चालु पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास छ ।’ लुभ्रे होटल्स समूह विश्वका ७० बढी देशमा एक हजार सात सय ५० भन्दा बढी होटल सन्जाल रहेको अग्रणी अन्तर्राष्ट्रिय समूह हो ।
यो समूहले एकतारेदेखि पाँच तारेसम्मका होटल सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । यिनमा प्रिमियर क्लास, होसो, किरियाड, क्याम्पानाइल, ट्युलिप होटल्स एन्ड रेसिडेन्सेस, गोल्डेन ट्युलिप एवं रोयल ट्युलिपका साथै भारतको सारोभर नेटवर्क र फ्रान्सको होटल्स एन्ड प्रेफरेन्स ब्रान्डसमेत समावेश छन् ।