फरक प्रयोजनका लागि फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति लिएर तोकिएको रेन्जभित्र मात्र रेडियो फ्रिक्वेन्सी प्रयोग गर्न सरोकारवालालाई निर्देशन दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सेलुल मोबाइल, माइक्रोवेब र स्याटेलाइट सेवाका लागि बाँडफाँट गरिएका फ्रिक्वेन्सी अनुमति प्राप्त गरेर तोकिएको रेन्जभित्र मात्र प्रयोग गर्न आग्रह गरेको हो ।
‘दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँट तथा मूल्यसम्बन्धी नीति, २०८० मा सेलुलर/मोबाइल सेवा, माइक्रोवेब सेवा र स्याटेलाइट सेवामा प्रयोग गर्न बाँडफाँट गरिएका फ्रिक्वेन्सी प्रयोग अनुमति लिएर अनुमति प्राप्त रेन्जभित्र मात्र उपरोक्त फ्रिक्वेन्सीको प्रयोग गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, प्राधिकरणले भनेको छ ।
बजारमा अनुमति नलिई तथा अनुमति पाएभन्दा फरक प्रयोजनका लागि फ्रिक्वेन्सी प्रयोग गर्ने क्रम बढेको गुनासोपछि प्राधिकरणले यस्तो सूचना जारी गरेको हो । अवैध रूपमा इन्टरनेट सेवा प्रदान गर्न माइक्रोवेब उपकरणको प्रयोग गर्नेदेखि विदेशी स्याटेलाइट सेवाप्रदायकले अनुमतिबिनै नेपालमा आफ्नो सेवा विस्तार गर्ने तथा व्यक्तिगत वा संगठनात्मक प्रयोजनका लागि बिनाअनुमति वाकीटकी वा अन्य सञ्चार उपकरण प्रयोग गरिरहेको गुनासो बेलाबेला आउने गरेको प्राधिकरणको भनाइ छ ।
कसैले अनुमतिबिना वा गलत तरिकाले फ्रिक्वेन्सी प्रयोग गर्दा अनुमति लिएर सञ्चालनमा रहेका अन्य सेवामा असर पुग्ने प्राधिकरणले बताएको छ । यसबाट मोबाइल नेटवर्कमा कल काटिने, इन्टरनेट स्लो हुने वा स्याटलाइट टिभीको सिग्नलमा समस्या आउन सक्छ । अर्कोतर्फ अनुमतिबिना फ्रिक्वेन्सी प्रयोग गर्दा राज्यले राजस्वसमेत गुमाउनुपर्ने अवस्था आउने प्राधिकरणले उल्लेख गरेको छ ।