सात वर्षमा कर्णालीकाे ५८ प्रतिशत बजेट खर्च

वीरेन्द्रनगर– कर्णाली प्रदेश सरकारले सात वर्षमा ५८.१७ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले विगत ७ वर्षमा कुल बजेट १ खर्ब ९९ अर्ब ९४ करोड विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ ६३.३९ प्रतिशत र पुँजीगततर्फ ५४.९५ प्रतिशत खर्च भएको हो । दुवै शीर्षक गरी समग्रमा ५८.१७ प्रतिशत खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले बताए ।
विकास नाममा विनियोजन गरेको बजेट काम नगरेर बर्सेनि सरकारी ढुकुटीमा जम्मा हुँदा कार्यान्वयनमा चुनौती थपिएको हो । असारे विकासमा रमाउने कार्यशैलीका कारण बर्सेनि विकास बजेट सरकारी ढुकुटीमा फिर्ता हुने गरेको छ । संघ सरकारले उपलब्ध गराएको विकास बजेटसमेत खर्च गर्न नसक्दा कर्णालीमा कर्मचारी र राजनीतिज्ञको बीचमा आरोप प्रतिआरोप चल्दै आउने गरेको छ ।
विगतमा कर्मचारी अभाव हुँदा पनि विकास खर्च कमजोर थियो भने अहिले कर्मचारीको दरबन्दी थप हुँदा पनि विकास बजेट कार्यान्वयनमा समस्या हुँदै आएको पूर्व आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बताए । चालु वर्षको बजेट कार्यान्वयनका लागि मुख्ममन्त्री यामलाल कँडेलले विभागीयमन्त्री, सचिव तथा जिल्लास्थित कार्यालय प्रमुखलाई सँगै राखेर धेरै पटक छलफल गरे पनि कार्यान्वयन हुन सकेको छैन् ।
चालु आर्थिक वर्ष २०८१/८२को जेठ मसान्तसम्म चालुतर्फ ५४.३६ प्रतिशत र पुँजीगततर्फ ३१.९१ प्रतिशत खर्च भएको छ । औसतमा यो ४०.५० प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । प्रदेश स्थापना भएदेखि आव २०८०/८१ सम्म आन्तरिक आम्दानी २ अर्ब ९२ करोड ३४ लाख भएको छ । उक्त बजेट कुल लक्ष्यको ९१.३२ प्रतिशत हुन आउँछ ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको आन्तरिक आय आम्दानी जेठ मसान्तसम्मको ५२ करोड १५ लाख अर्थात् लक्ष्यको तुलनामा ६२.५ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु वर्षमा बजेट विनियोजनको तुलनामा ७५ प्रतिशत अर्थात् २३ अर्ब २५ करोड ६५ लाख खर्च हुने अनुमान प्रदेश सरकारले गरेको छ । योजना छनोट प्रणाली वैज्ञानिक नभएको भन्दै आलोचना भइरहँदा आव २०८२/८३ मा प्रदेश सरकारले योजना बैंकमार्फत बजेट निर्माण गरेको छ ।
असार १ मा आएको बजेट विगतभन्दा बढेर आएको छ । गत वर्ष कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.२६ प्रतिशत रहेकोमा चालु वर्षमा ४.७४ प्रतिशत हुने प्रक्षेपण सरकारले गरेको छ । आव २०७५/७६ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन १ खर्ब ५१ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा हाल आएर १.६८ गुणाले वृद्धि भई २ खर्ब ५५ अर्ब ५९ करोड पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन बढ्दै गएको छ । गत आर्थिक वर्ष प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ७६ अमेरिकी डलर रहेकोमा चालु वर्षमा १ हजार ८९ अमेरिकी डलर पुग्ने अनुमान छ । आव २०८१/८२ को पहिलो १० महिनामा नेपालको औसत उपभोक्ता मुद्रास्फीति ४.३९ प्रतिशत रहेको छ भने सोही अवधिमा कर्णाली प्रदेशको औसत उपभोक्ता मुद्रास्फीति ३.५४ प्रतिशत रहेको छ ।