जाऊँ है पोखरा अभियानले ४० प्रतिशत आन्तरिक पर्यटक बढे

पोखरा– जाऊँ है पोखरा अभियानले पोखरामा आन्तरिक पर्यटक आगमन ४० प्रतिशतले वृद्धि भएको छ । करिब दुई दशकअघि सुरु भएको उक्त अभियानले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय रूपमा सुधार भएको होटल संघ पोखराले बताएको हो ।
पोखरा आउने पर्यटकमध्ये दुईदेखि तीन प्रतिशत नेपाली हुने गरेकोमा उक्त अभियान सञ्चालनपछि हाल त्यस्तो आँकडा ४० प्रतिशत पुगेको आयोजक संघका अध्यक्ष एवं अभियानका संयोजक लक्ष्मण सुवेदीले बताए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएको छ । आन्तरिक पर्यटक नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप अभियानलाई निरन्तरता दिइएको उनले बताए ।
पुरानो सम्बन्धका कारण आफूहरू नेपालको पश्चिम तथा पूर्व हुँदै छिमेकी मुलुक भारतसम्म गर्मी छल्न चलो पोखरा जस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको संघले जनाएको छ । पर्यटकीय बस सेवा र हवाई सेवामार्फत पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न व्यवसायीहरू थपिनु पर्ने उनको भनाइ थियो ।
होटल संघ पोखरा नेपालले गत जेठ २९ बाट यही असार दुई सम्म पश्चिम नेपालका केही महत्त्वपूर्ण सहरहरूमा सञ्चालन गरेको जाऊँ है पोखरा अभियानको क्रममा व्यवसायीहरूले कनेक्टिभिटीमा जोड दिँदै यसो गर्दा दुवैतर्फ पर्यटक आगमन वृद्धि हुने दावी गरे । व्यवसायीहरू आपसी सहकार्य गर्दै स्तरीय बस सेवा सञ्चालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य सहर र पर्यटनको राजधानी पोखरा जोड्ने गरी हवाई सेवा सञ्चालन गर्नु पर्ने विषयमा चर्चा गरिएको अध्यक्ष सुवेदीले जनाए ।
संघले दुई दशकअघि सुरु गरेको जाऊँ है पोखरा अभियानअन्तर्गत यसपटक पाल्पा, वुटवल, नेपालगन्ज, सुर्खेत र दाङमा अन्तक्र्रिया र पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पोखरासँग सिधा हवाई सेवा सञ्चालन गर्ने विषय आफूले सम्बन्धित ठाउँमा राख्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष सुवेदीले पर्यटनका लागि पहुँच पहिलो आवश्यकता भएको भन्दै स्तरीय बस सेवा र हवाई सेवामार्फत सातै प्रदेश जोड्ने संघको उद्देश्य रहेको बताउँदै यसको लागि प्रदेश सरकारले विशेष पहल गर्न आग्रह गरे । दाङको घोराहीमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले सिमानाकामा भारतीय पर्यटकलाई चेकजाँच बढी भयो भन्ने गुनासो आउने गरेको स्मरण गराउँदै यसलाई सुधार गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्द्धनमा यो अभियान सञ्चालन गरिएको हो । पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन अभियान सहयोगी हुने विश्वास गरिएको छ । पोखराको होटल क्षेत्रमा पाँच खर्बभन्दा बढी हाराहारीको लगानी रहेको, एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र करिब २० हजार जनाले रोजगारी पाएको संघका अध्यक्ष सुवेदीले बताए ।
उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमवहादुर शाही, बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडका उपाध्यक्ष किरण पोखरेल, आयोजक संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले पोखरा र पश्चिम नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तयार रहेको बताए ।