सिसाजन्य पत्रु सामान भारत निकासी रोकियो

भैरहवा– सिसा र अन्य सिसाजन्य वस्तुको पत्रु (स्क्रयाप) सामान भारत निर्यात गर्दा निकासी शुल्क लाग्ने भएपछि २० दिनदेखि त्यस्ता वस्तुको निकासी रोकिएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटतमार्फत पत्रु सामानको रूपमा रहेका बियर, रक्सीलगायतका सिसी बोतल, घर भवनका झ्याल ढोका तथा सवारीसाधनको रूपमा रहेका कार, जिप, बस र ट्रकका सिसामा निकासी शुल्क लगाउने निर्णय गरेको हो । बजेटले त्यस्ता पत्रु सामानमा प्रतिकिलो पाँच रुपैयाँ निकासी शुल्क निर्धारण गरेको छ ।
चालु आवसम्म निर्यात शुल्क शून्य थियो । निकासी कर्ताहरूले सिसाका पत्रु सिसा खरिद गर्दा प्रतिकेजी १० देखि १२ रुपैयाँसम्म पर्न जाने भएको छ । यो अत्यधिक भएको हुँदा निकासी गर्न गाह्रो भएको व्यवसायीहरूको भनाइ छ । विगत डेढ दशकदेखि पत्रुमा रहेका सिसाजन्य वस्तु भारत निकासी गर्दै आएका निकासीकर्ता व्यवसायी एवं सिपी ट्रेडिंग भैरहवाका प्रबन्ध निर्देशक अमित कुमार जयसवालले सरकारले निकासी शुल्क भनेर प्रति केजी पाँच रुपैयाँ तोकेपछि निकासी गर्न नसक्ने अवस्था सिर्जना भएको बताए ।
बजेट आएको दिनदेखि नै सिसाका स्क्रयापहरू भारत निकासी नभएको उनले जानकारी दिए । सरकारले पहिलो पल्ट नै धेरै शुल्क लगाएको कारण भारतका स्क्रयापसँग प्रतिष्पर्धा गर्न गाह्रो भएकोेले निकासी रोकिएको उनको भनाइ छ । ‘स्क्रयाप संकलन गरेर ल्याउँदा गाउँपालिका, नगरपालिकाले समेत बाटोभरी कर लिन्छन्, भैरहवामा सिद्धार्थनगरले प्रतिकिलो एक रुपैयाँका दरले कर लिन्छ । यसमा सरकारले पुनरावलोकन गर्नुपर्छ’ जयसवालले भने ।
निकासी शुल्क पाँच रुपैयाँ, नगरपालिकालाई एक रुपैयाँ, बाटामा रहेका स्थानीयलाई कर, संकलकलाई कर दिँदा खर्च बढ्न गई भारतमा महँगो पर्न जाने उनको भनाइ छ । भैरहवामा सिसाका स्क्रयाप भारत निकासी गर्नेमा सिपी ट्रेडर्स, सिपी ट्रेडिङ, वैष्णोदेवी इन्टरनेशनल, आर.एम.एस सप्लायर्स, शिव स्क्रयाप, सपना सप्लायर्स छन् । सिसाजन्य वस्तुको नेपालमा रिसाइक्लिङ हुँदैन् । नेपालभर जम्मा भएका बियर, रक्सीलगायतका सिसाजन्य वस्तुहरू संकलन गरी नेपालका सीमावर्ती सहरमा ल्याएर जम्मा गरिने र त्यहाँबाट भारतका फिरोजाबाद, गुजरात, नासिक, कलकत्तालगायतका सहरमा निकासी हुने जयसवाल बताउँछन् ।
जयसवालले संकलन गरेको सिसाका स्क्रयाप मात्रै २ हजार टन बढी रहेको र भैरहवा क्षेत्रमा अहिले निकासी हुन नसकेका सिसाका स्क्रयापहरू ४ हजार टनभन्दा बढी रहेको जयसवालको भनाइ छ । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सीमावर्ती सहरबाट सिसाका स्क्रयापहरू भारत निकासी रोकिएको बताए । विगतमा पनि सिसाका स्क्रयाप भारत निकासीमा समस्या थियो । अहिले निकासी शुल्क तोकिएपछि निकासी कर्ता व्यवसायीले निकासी रोकेको शर्माले बताए ।