Logo

मधेश प्रदेशको बजेट हिसाबमा गोलमाल

वीरगञ्ज– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेटको हिसाबकिताब नै गोलमाल प्रस्तुत गरेको छ ।

मधेश प्रदेश सभाको आगामी बजेट ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ हो । असार १ मा मधेश प्रदेश सभामा अर्थमन्त्री सुनिलकुमार यादवले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको घोषणा गरे । बजेटमा चालु खर्च र पुँजीगत खर्चमा गरिएको विनियोजनलाई हेर्दा बजेटको कुल आकार ४६ अर्ब ९८ करोड रुपैयाँ देखिन्छ । तर, बजेट पुस्तिकामा भने कुल बजेट ४६ अर्ब ९८ अर्ब रुपैयाँ लेखिएको छ ।

बजेटमा गल्ती भएको थाहा भएपछि अर्थ मन्त्रालयले यसलाई सच्याउने काम गरेको छ । अहिले अर्थ मन्त्रालयको वेबसाइटमा रकमको अंकलाई सच्याएर अपलोड गरिएको छ । तर, सच्याउँदा पनि प्रतिशतमा फेरि गल्ती भएको छ । प्रदेश सभामा प्रस्तुत भएको कुल आयव्यय र अनुमानित खर्चमध्ये पुँजीगत खर्च तथा चालु खर्चको प्रतिशत हिसाबमा त्रुटी भएको हो ।

अर्थमन्त्री यादवले प्रस्तुत गरेको बजेटमा पुँजीगत खर्च ३० अर्ब २६ करोड २८ लाख ३४ हजार र चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसको प्रतिशतमा हिसाब गर्दा पँुजीगत खर्च ६४.४१ हुनुपर्नेमा ६४.११ प्रतिशत उल्लेख छ । यस्तै, चालु खर्चतर्फ ३५.५९ हुनुपर्नेमा ३५.८९ प्रतिशत उल्लेख गरिएको छ । अर्थ मन्त्रालयले बजेटको अंक सच्याएर अपलोड गरे पनि प्रतिशत सच्याउन ध्यान दिएको छैन ।

बजेटिङमा विद्यावारिधी गरेका वीरगञ्ज कलेजका सञ्चालक समिति अध्यक्ष दीपेन्द्रकुमार चौधरीले मधेश प्रदेशले प्रस्तुत गरेको बजेटमा गम्भीर त्रुटी औंल्याएका छन् । उनले भने, ‘बजेट ४६ अर्ब ९८ करोड अर्थात् चालु खर्च ३५.५९ प्रतिशत र पुँजीगत खर्च ६४.४१ प्रतिशत हुनुपर्नेमा ४६ अर्ब ५८ करोड, चालु खर्च ३५.८९ प्रतिशत र पुँजीगत खर्च ६४.११ प्रतिशत रहेको छ । प्रदेशको बजेट रकम तथा खर्च प्रतिशत ‘बजेटको अनुसूची–१’ भन्दा फरक रहेको छ ।’

यसले प्रदेश सरकारको क्षमतामाथि नै प्रश्न उठेको उनले बताए । नेपाली जनताले विश्वास गरेर निर्वाचनमा जिताएर पठाएका र सरकारमा मन्त्री भएकाहरुले नै हिसाब गोलमाल प्रस्तुत गर्ने भएपछि नागरिकले उनीहरुलाई कसरी विश्वास गर्ने यो गम्भीर चिन्ताको विषय बनेको विज्ञहरु बताउछन् । ‘प्रदेश सभामा समेत रेकर्ड भएकोले त्यसको विश्वसनीयतामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ,’ उनले भने ।

प्रदेश सभा सदस्य युवराज भट्टराईले पनि मधेश प्रदेश सरकारले ल्याएको बजेटमा असाध्यै लापरवाही पाइएको बताए । प्रदेश सभाका सदस्यहरुलाई पनि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार उल्लेख गरिएको पुस्तिका वितरण गरिएको उनले जानकारी दिए । सरकारजस्तो जिम्मेवार निकायको बजेट प्रस्तुतिमा यति गम्भीर त्रुटी लज्जास्पद विषय भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्