Logo

११ महिनामा साढे ७ लाख युवा विदेशिए

काठमाडौं– चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकले यो वर्ष बिदेसिने संख्या ८ लाख २० बढी पुग्ने देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो वर्ष साउनदेखि जेठसम्म ७ लाख ५४ हजारले विदेश जान श्रमस्वीकृति लिइसकेको हुँदा ८ लाख नाघ्ने देखिएको हो ।

जेठसम्म प्रतिमहिना औसतमा ६८ हजार ५८८ र प्रतिदिन २ हजार २०० जनाले स्वीकृति लिएको देखिएको छ । श्रमस्वीकृति लिनेको संख्या आगामी दिनमा पनि यहीअनुसार हुने हो भने वर्षभरमा ८ लाख २० हजारभन्दा धेरै नेपाली विदेश पुग्ने देखिन्छ । विभागका निर्देशक टीकाराम ढकालले जेठसम्म ७ लाख ५४ हजार ४६८ युवाले श्रमस्वीकृति लिएको बताए । गत आवको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जान ६ लाख ९७ हजार युवाले श्रमस्वीकृति लिएका थिए ।

गत वर्ष मासिक औसत ६३ हजार ४४१ र दैनिक २ हजार ११४ युवाले श्रमस्वीकृति लिएको देखिन्छ । कोभिड संक्रमणका बेला २ वर्ष नेपालको आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत ३ वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड कायम गर्दै आएको छ । यो वर्षको मंसिरमा सबैभन्दा बढी युवाले रोजगारीका लागि विदेश जान श्रमस्वीकृति लिएको पाइएको छ ।

गत वर्षको जेठको तुलनामा यो वर्षको सोही अवधिमा ५६ हजार बढी युवाले श्रमस्वीकृति लिएको देखिन्छ । गत आवको सोही अवधिको तुलनामा श्रमस्वीकृति संख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको संख्या उच्च हुने संकेत देखिएको छ । यद्यपि, चालु आर्थिक वर्षको साउन, भदौ र असोजसम्म निरासाजनक थियो ।

चालु आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८१ हजार १०, पुषमा ६७ हजार २५७, माघमा ७१ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार र वैशाखमा ७८ हजार ५१ युवाले श्रमस्वीकृति लिएको विभागले जनाएको छ । मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको थियो । आव २०७८–७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मंसिरको तथ्यांकले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ । कोरोनाकालको लकडाउनयता आन्तरिक रोजगारीमा संकुचन आए पनि विगत ३ वर्षयता वैदेशिक रोजगारीमा जानेको संख्याले रेकर्ड नै कायम गर्दै आएको छ ।

गत आर्थिक वर्षमा ७ लाख ४१ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । आव २०७८–७९ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो । वैदेशिक रोजगारीको इतिहासमा चालु आवको मंसिरमा सबैभन्दा बढी ८३ हजार श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका छन् । यो संख्या वैदेशिक रोजगारको तथ्यांक राख्न सुरु गरेयता २९ वर्षकै उच्च रहेको छ । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयले यो वर्षको साउन, भदौ, असोज र कात्तिकको तुलनामा मंसिरबाट विदेश जान श्रमस्वीकृति लिनेको संख्या बढ्ने संकेत देखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्