Logo

बुल सकियो, हामी हेरेको हेर्‍यै

सेयर बजारमा बियर र बुल हुन्छ । नेपालमा दुई–तीन वर्षको बियरिस र तीन–चार वर्षको बुलिस बजार हुन्छ भन्ने मान्यता छ । २०५१ सालमा नेपाल स्टक एक्सचेन्ज स्थापना भएपछि कम्तीमा २० महिना र बढीमा ५२ महिनामा सूचक बढेर टपमा पुगेको इतिहास छ । त्यस्तै कम्तीमा २७ महिना र बढीमा ३९ महिनामा घटेर बटममा पुगेको इतिहास छ ।

२०६५ भदौमा ११७५ पुगेको नेप्से परिसूचक २०६८ फागुनमा २९२ मा झरेको थियो । त्यसपछि २०७३ साउनमा १८८१ मा पुगेको परिसूचक २०७६ असोजमा ११ सयमा झरेको थियो । २०७८ भदौमा ३२ सय पुगेको सूचक २०८० मंसिरमा १८०६ मा झरेको थियो ।

२०७७ सालदेखि सेयर किनबेच अनलाइनबाट हुने गरेको छ । डिम्याट खाता द्रुत गतिमा बढेको छ । २०७६ सालसम्म १५ लाख रहेको डिम्याटको संख्या ६ वर्षमा ६५ लाख पुगिसकेको छ । पहिलेभन्दा अहिले सेयर खरिद–बिक्री सहज भएका कारण बुल बियरको चक्र छिटो आउन सक्छ भन्ने आकलन विश्लेषकहरूले गरेका थिए ।

छिट्टै नेप्से परिसूचकले ३२ सय नाघेर माथि जान्छ भन्ने अनुमान गर्दागर्दै डेढ वर्ष बितिसक्यो । २०८१ भदौ २ मा सूचक ३०४८ पुगेको थियो । त्यसपछि २४ सय देखि ३ हजारको रेन्जमा तलमाथि गरिरहेको छ । त्यसअघि १८ सयदेखि २३ सयको रेन्जमा खेलिरहेको थियो ।

विगतको इतिहास हेर्दा पहिलेको टपलाई नाघ्ने र बियरमा त्यो बटमसम्म झर्ने गरेको देखिन्छ । यस हिसाबले हेर्दा अहिले नेप्से परिसूचक ३२ सय नाघेर ४ हजार पनि कटिसक्नुपर्ने र पछि झर्दा ३२ सयको हाराहारीसम्म झर्नुपर्ने हो । सूचक ६ हजारसम्म पुग्छ भनेर अनुमान पनि सार्वजनिक भएका थिए । नेप्से सूचक अहिले २७ सयको हाराहारी साइडवेज खेलिरहेको छ ।

नेपालको इतिहासमा नेप्से सूचक टपमा पुग्दा अर्थतन्त्र बिग्रेको अवस्थामा हुन्थ्यो । अर्थात् आर्थिक अवस्थासँग यसको विपरीत सम्बन्ध देखिएको छ । अर्को कुरा, ब्याजदर न्यून बिन्दुमा हुन्थ्यो । पोजेटिभ र नेगेटिभ कोरिलेसन हेर्दा विभिन्न जोड्न सकिन्छ । तर, धेरै विश्लेषकले आर्थिक वृद्धि र ब्याजदरलाई लिएको देखिन्छ ।

अहिले अर्थतन्त्र कमजोर अवस्थामा छ । आर्थिक वृद्धि त्यति न्यून नभए पनि डिमान्ड नभएका कारण राजस्व परिचालन घटेको छ । ऋणको ब्याजदर १५-१६ प्रतिशतबाट झरेर ७-८ प्रतिशतमा झरेको छ । यस आधारमा नेप्से परिसूचक धेरै माथि गइसक्नुपर्ने हो ।

अर्थतन्त्र बिग्रेको बेला सेयर बजार बढ्नुको पछाडि अर्थशास्त्रको नियम छ । आम लगानीकर्ता यो बेला डराएर लगानी बेचिरहेका हुन्छन् । स्मार्ट लगानीकर्ताले भने यही बेला सस्तोमा सम्पत्ति खरिद गरिरहेका हुन्छन् । जब अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्छ, आम लगानीकर्ताले सम्पत्ति किन्न थाल्छन् । माग बढेको बेला स्मार्ट लगानीकर्ताले सम्पत्ति बेचेर नाफा गर्छन् ।

ब्याजदरमा पनि अर्थशास्त्रको नियम लागू हुन्छ । बैंकमा मुद्दती गर्दा ११-१२ प्रतिशत ब्याज आउँदा मानिसहरू मुद्दतीमा पैसा राख्न चाहन्छन् । जब ब्याज घट्छ, तब सेयर किन्ने सम्भावना बढ्छ । सस्तोमा ऋण पाएपछि ऋण लिएर सेयर किन्ने बढ्छन् । अनि सेयरको माग बढेर मूल्य माथि जान्छ । सेयर बजारमा पूर्वानुमान प्रायः मिल्दैन । घटना भएपछि कारण खोज्ने क्रममा विश्लेषकहरूले विभिन्न कारण, तर्क र आधार खोज्छन् । यस्ता आधार जता जोड्यो, उतै मिल्ने जस्तो देखिन्छ । तर, वास्तवमै कारण के थियो भन्ने पछि पनि थाहा हुँदैन ।

पुँजीको अर्को नियम जता सुरक्षा र मुनाफा छ, उतै बग्ने हो । कानुनतः नेपालबाट विदेश पुँजी लैजान पाइँदैन । तर, व्यवहारमा भारत र नेपालमा पुँजी आउने–जाने गरेको विश्वास गरिन्छ । तेस्रो मुलुकमा पनि नेपालीहरूले क्रिप्टो, सेयर, विभिन्न स्किमहरूमा लगानी गर्ने गरिरहेकै छन् । लगानी नगर्दा पनि नगदमै बसिरहेका हुन सक्छन् । हुन्डीबाट विदेश पैसा पठाउने कारोबार पनि चलिरहेकै छ ।

स्रोत नखुलेको सम्पत्ति कारोबारमा कडाइ गर्ने कानुन छ । तथापि, चलाखी गरेर टुक्रयाएर कारोबार गर्ने सम्भावना रहन्छ । यस्तो रकमले बजारलाई प्रभाव पार्न सक्छ । त्यसैले बजारलाई कुन फ्याक्टरले के असर गर्छ भन्ने यकिन गर्न सकिँदैन । सेयर बजारमा धेरै सोझासीधा लगानीकर्ताको पैसा डुब्छ, केही टाठाबाठाले कमाउँछन् भनिन्छ । यो बजार धेरै भोलाटाइल हुन्छ । सर्वसाधारणको लगानी सुरक्षाका लागि उतारचढावलाई नियन्त्रण गर्नुपर्छ भन्ने पनि नियामक अधिकारीबाट सुनिन्छ ।

वास्तवमा सेयर बजारको सुन्दर नियम भनेकै उतारचढाव हुनु र पूर्वानुमान गर्न नसकिनु हो । उतारचढाव नहुने र पूर्वानुमान गर्न सकिने हो भने यो बजार नै चल्दैन । एक जनाले मूल्य घट्छ भनेर सोच्दा अर्कोले बढ्छ भनेर सोचेर नै बजार चल्ने हो ।

सेयर बजारको विशेषता भनेको कसैलाई मूर्ख र कसैलाई स्मार्ट साबित गर्ने हो । जसले नाफा गर्छ, ऊ स्मार्ट हो । जसले घाटा गर्छ, ऊ मूर्ख हो । आम सर्वसाधारणभन्दा सीमित टाठाबाठाले कमाउने सम्भावना बढी हुन्छ । यो स्वाभाविक हो ।

बजार खुला हुन्छ । त्यसैले जो पनि अरूभन्दा बाठो भएर निस्कन स्वतन्त्र हुन्छ । यो उच्च जोखिमको बजार भएको हुँदा आफ्नो जोखिम वहन क्षमता हेरेर मात्र लगानी गर्नुपर्छ, बचतको पैसा लगानी गर्नुपर्छ, भएभरको सम्पत्ति यसमा खन्याउनु हुँदैन भन्ने आम सिद्धान्त रहेको छ । सेयर बजार सधैँ माथि नै जाने हो भन्ने भनाइमा प्रायःको एकमत देखिन्छ । तर, कहिले माथि जान्छ भन्ने मात्र थाहा नभएको हो । त्यसैले दीर्घकालीन लगानी गर्नेले पक्का नाफा गर्छ भन्ने एउटा विश्वास रहेको छ । के यो मान्यता सही हो त ?

माथिको मान्यता सही मान्ने हो भने सेयर बजारको आधारभूत नियम उल्लंघन हुन्छ । सेयर बजारको आधारभूत नियम भनेको जोकोहीको मान्यतालाई अमान्य साबित गर्नु हो । दीर्घकालमा मूल्य बढेर मुनाफा हुने पक्का हो भने सबैले होल्ड गर्छन् । सबैले होल्ड गर्ने हो भने बजार नै चल्दैन । नेपालमा धेरै लगानीकर्ताले घाटामा सेयर होल्ड गरिरहेका छन् । होल्ड गर्दा बैंकको ब्याज थेगिँदैन । नेप्सेको औसत वार्षिक प्रतिफल १.५७ प्रतिशत छ । यसको अर्थ कम्पनीहरूको लाभांश खाएर किनेकै मूल्यमा सेयर बेच्दा घाटा हुन्छ ।

१० वर्ष सेयर होल्ड गरेर दोब्बर मूल्यमा बेच्दा पनि नाफा हुँदैन । यो स्थिति कायम रहने र लामो समय होल्ड गरेपछि मूल्य बढेर कुनै फाइदा हुँदैन । दुई–तीन वर्षमा दोब्बर वा एक–दुई वर्षमै डेढी मूल्य भयो भने बल्ल राम्रो मुनाफा हुने हो ।

नेप्से परिसूचक ३२ सय हुँदा २०७८ सालमा किनेको सेयर चार वर्ष फसिसक्यो । पहिलेकै मूल्यमा पुगेपछि बेच्दा पनि ब्याज घाटा पर्छ । नेप्से परिसूचक छिट्टै ५ हजार, ६ हजार पुग्छ र बेचौँला भनेर पर्खंदा अझै घाटा बढ्ने हो कि ? बरु नेप्से परिसूचक २७ सय हुँदा बेच्ने र घटेर २४ सय आउँदा किन्दा फाइदा हुन्छ कि ? तर बेचेपछि मूल्य नघटेर माथि–माथि गयो भने के गर्ने ?

के नेप्से सूचक ३२ सय नै नपुगी यस पटकको बुल सकिएको हुन सक्दैन ? यसअघि जस्तै पुरानो टपलाई ब्रेक गर्नैपर्छ भन्ने ग्यारेन्टी के छ ? बुलको टपमा पुग्नु भनेको नेप्से परिसूचक टपमा पुग्नु मात्र होइन; स्मार्ट लगानीकर्ताले असाधारण पैसा कमाएर सेयर बिक्री गर्नु पनि बुलको टप हो ।

नेप्से परिसूचकले यसअघिको बिन्दु ननाघे पनि सेक्टरवाइज सूचक र स्क्रिप्टवाइज सूचकले यसअघिको टप नाघिसकेका छन् । फाइनान्स समूहको सूचक २०७८ मा नेप्से टप लाग्दा ३३ सय थियो । २०८१ साउन भदौमा ४२ सय पुगेर अहिले २५ सयमा झरेको छ । होटल तथा पर्यटन समूह सूचक २०७८ भदौमा ४ हजार थियो भने २०८१ को साउनमा ८ हजार बिन्दुमा पुगेको थियो ।

विकास बैंक समूह पनि यो अवधिमा पहिलेको टप अर्थात् ६३ सय बिन्दुमा पुगेर फर्केको छ । हाइड्रोपावर समूहले पनि यसअघिको टप ३९ सय बिन्दुलाई छोएको छ । लगानी समूहले पनि २०७८ को टप पुनः छोएको छ । अन्य समूहले यसअघिको टप २४ सयलाई जितेर केही महिनाअघि २६ सय पुगेको थियो । बैंकिङ, जीवन बीमा र निर्जीवन बीमा समूहको सूचकले २०७८ को टपलाई भेट्न सकेको छैन । तर, स्क्रिप्ट विशेषलाई हेर्‍यो भने यी समूहमा कतिपयले टप नाघेका छन् । उदाहरणका लागि, यसअघि ६ सयको टप लागेको एभरेस्ट बैंक पोहोर ७ सय पुगेको थियो । अर्कातर्फ नबिल बैंकको मूल्य १७ सयबाट घटेर ५ सयमा आएकोमा पोहोर ७ सयसम्म पुग्यो । समूह सूचक दोब्बर हुँदा पनि चन्द्रागिरि हिल्स लिमिटेडको मूल्य पहिलेको टपमा जति पुग्न सकेन ।

केही समूह र स्क्रिप्टले पहिलेको टप नाघेर फर्केका छन् । त्यसमा बुल सकिएको मान्ने कि नमान्ने ? समूह र स्क्रिप्ट विशेषमा भएको उतारचढावले कैयौँ स्मार्ट लगानीकर्ताले कमाउने र मूर्खले गुमाउने भइसक्यो । पहिलेको टप ३२ सय अझै कटेकै छैन भनेर कुरेर बस्ने कि बुल त हामीलाई थाहा नदिई सकिइसकेछ भनेर सोच्ने ? सेयर बजारमा जसरी पनि सोच्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्