मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो । त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो ।
५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए । मिश्र नवराज सुवेदी संयोजक रहेको ‘संयुक्त जनआन्दोलन समिति’मा सदस्य सचिवसमेत थिए । उनलाई प्रहरीले चैत १५ गते घटनापछि त्यही साँझ पक्राउ गरी हिरासतमा राखेको थियो ।