अस्वस्थ प्रतिस्पर्धा र भारतीय गाडीले ट्रक व्यवसायी धराशयी

अस्वस्थ प्रतिस्पर्धा र भारतीय गाडीका कारण पूर्वका ट्रक व्यवसायीहरू धराशयी हुने अवस्थामा पुगेका छन् ।
प्रतिस्पर्धाकै कारण ढुवानी भाडा सस्तो भएको छ । व्यवसायीहरूबीचको प्रतिस्पर्धाले सरकारले तोकेभन्दा झन्डै २० प्रतिशत कम भाडादरमा ढुवानी गर्नुपरेको विराटनगर ट्रक व्यवसायी संघका अध्यक्ष मेघराज सिग्देल बताउँछन् । आवश्यकभन्दा बढी ट्रक हुँदा यस्तो समस्या आएको हो । खासगरी पछिल्लो समय उद्योगहरू आफैंले ट्रक खरिद गरी ढुवानी गर्न थालेका छन् ।
“विगतमा उत्पादित वस्तु ढुवानी व्यवसायीमार्फत् निर्यात गर्ने उद्योगीहरू हाल आएर आफ्नै ट्रकमार्फत् गर्न थालेका छन्,” सिग्देलले भने, “यसले पनि व्यवसायीहरू समस्यामा परेका छन् ।” उनका अनुसार विराटनगरमा दैनिक एक सय ट्रकका लागि सामान तयार भए पनि दुई सयभन्दा बढी ढुवानीका ट्रक तयारी अवस्थामा हुन्छन् । यसले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिएको छ ।
विराटनगरबाट काठमाडौंका लागि सरकारले तोकेको भाडा ३७ हजार ७ सय हो । तर, अस्वस्थ प्रतिस्पर्धाका कारण ३० हजारमै सामान बोक्न व्यवसायीहरू तयार छन् । त्यस्तै व्यवसायीहरूले १७ हजार रुपैयाँ सरकारले तोकेको भाडा भए पनि वीरगञ्जका लागि १३ हजारमै व्यवसायीले काम गर्नुपरेको छ । विराटनगर–नेपालगञ्ज ३१ हजार सरकारले तोकेको छ । तर, व्यवसायीले २८ हजारमा सामान बोकिरहेका छन् । ३३ हजार सरकारले तोको विराटनगर–पोखराको भाडा व्यवसायीले २६ हजार लिइरहेका छन् ।विराटनगर–हेटौंडा १९ हजार रुपैयाँ सरकारले तोकेको छ भने यहाँका व्यवसायीहरूले १६ हजारमै बोक्नुपर्ने बाध्यता छ । विराटनगर–धनगढीको भाडा सरकारले ४४ हजार रुपैयाँ तोके पनि ३८ हजारमै सामान बोकिरहेका छन् ।
त्यतिकै खाली धन्क्याउनुभन्दा कम भाडादरमा भए पनि व्यवसायीहरू सामान बोक्न तयार हुन्छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्ष विनोद खड्काका अनुसार पूर्वमा विभिन्न संस्थामा दर्ता भएका करिब २ हजार ट्रकहरू छन् । यसबाहेक दर्ता नगरी सञ्चालनमा पनि छन् । यसमा विराटनगर ट्रक व्यवसायी संघमा २७५, कोशी ट्रक व्यवसायी संघमा ५ सय, बिर्तामोड ट्रक व्यवसायीमा २५०, पूर्वाञ्चल ट्रक व्यवसायी संघमा १५० वटा ट्रक दर्ता भएर सञ्चालनमा रहेको उनी बताउँछन् । यसबाहेक सगरमाथा ट्रक व्यवसायी संघसहित जोड्दा पूर्वमा २ हजारभन्दा बढी ढुवानीका ट्रक छन् ।
अझ दुर्घटना हुँदा कानुनले तोकेभन्दा ज्यादा रकम दिनुपर्ने बाध्यताले पनि व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको संघका अध्यक्ष सिग्देल बताउँछन् । “आवश्यकताभन्दा बढी भएपछि स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ नै,” उनी भन्छन्, “उद्योगका उत्पादनमा कमी आउनु र उद्योग आफैंले ढुवानी गर्नुले पनि व्यवसायीहरू धराशयी बन्दै गएका हुन् ।”
चालकको तलब, खाना र भत्तामा मात्रै ४५ हजार मासिक खर्च हुन्छ । ट्रक चले पनि नचले पनि चालकको तलब, बैंक ब्याज, बिमालगायतको खर्च हुने कोशी ट्रक व्यवसायी संघ इटहरीका अध्यक्ष विद्यापति उपाध्यायको भनाइ छ । बन्दहड्तालको मार पनि व्यवसायीले खेप्नुपरेको उनी दुखेसो पोख्छन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने लहरले चालक पाउनै गाह्रो परेको उनले बताए । “केही वर्ष काम गरेर अनुभवको प्रमाणपत्र बनाउने र विदेश जाने क्रम बढेको छ,” उनी भन्छन्, “यसले चालकको पूरै अभाव छ ।” अर्कोतर्फ यातायात कार्यालयले ठूलो सवारीको लाइसेन्स वितरण नगर्दा समस्या भएको छ । “लाइसेन्स भएका चालक सीमित हुँदा बढी तलब दिएरै राख्नुपर्ने बाध्यता छ,” संघका अध्यक्ष सिग्देलले भने, “यतिबेला ट्रक व्यवसायीहरू एउटा होइन दर्जनौं समस्याबाट घेरिएका छन् ।” अझ भारतीय गाडीले भारबहन क्षमताभन्दा बढी बोक्दा समस्या भइरहेको अध्यक्ष सिग्देलले गुनासो पोखे ।