प्रेम दिवसमा रातो गुलाफको विकल्पमा स्ट्रबेरी «

प्रेम दिवसमा रातो गुलाफको विकल्पमा स्ट्रबेरी

रुपन्देही-प्रेम दिवस लगायत विभिन्न समयमा रातो लगायत अन्य रंगका गुलाफका फूलहरु अत्यधिक प्रयोग हुन्छ । नेपालमा व्यावसायिक रुपमा गुलाफ फूल खेती अझै नहँुदा भारतबाट अत्यधिक आयात हुने गरेको छ ।
जसका कारणले गर्दा प्रेम दिवस (भ्यालेन्टाइन डे) मा मात्रै रातो गुलाफ आयात गर्दा करोडौं रुपैयाँ विदेशिने गरेको पुष्प व्यवसायी संघले जनाएको छ । प्रेम दिवसमा गुलाफको विकल्प के हुन सक्छ भन्ने धेरैले सोचेका छैनन् । तर भैरहवाका युवा कृषक आश गुरुङले स्ट्रबेरी खेतीमा सम्भावना देखेर तराईजस्तो गर्मि क्षेत्रमा यसको खेती गरिरहेका छन् । यो फललाई गुलाफको रुपमा उपहार दिन उनको सुझाव छ ।
स्ट्रबेरी हेर्दा आकर्षक र मुटुकै आकारको जस्तो हुने र स्वास्थ्यका लागि अति लाभदायक भएकाले भ्यालेन्टाइन डेमा उपहारस्वरुप गुलाफको रातो फूलको सट्टा स्ट्रबेरी फल दिँदा उपयुक्त हुने उनी बताउँछन् ।
रोजगारी बढ्ने, कृषिमा अपनत्व हुने र आर्थिक कृयाकलाप पनि बढ्ने भएकाले यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
पहाडी क्षेत्र र चिसो स्थानमा हुने बेरी प्रजातिको स्ट्रबेरी फलको व्यावसायिक खेती गुरुङले भैरहवामा यसै वर्षदेखि सुरु गरेका हुन् । दुई वर्ष परिक्षण गरेपछि तराई मधेशमा पनि स्ट्रबेरी फल फलाउन सम्भव भएकोे भन्दै उनले भारतबाट ४ हजार ५ सय वटा यो फलको बिरुवा ल्याएर रोपेका थिए । उनले आफू अध्यक्ष रहेको लुम्बिनी एग्रो फर्म तथा रिसर्च सेन्टरमा अन्य फलफूल र तरकारी सँगै यो खेती सुरु गरेका हुन् ।
उनको फर्ममा फलेको स्ट्रबेरी फल अहिले भैरहवा क्षेत्रमा प्रतिकिलो ८ सय रुपैयाँसम्ममा बिक्री भैरहेको छ । स्ट्रबेरीमालाई विश्वको दोश्रो सर्वाधिक लोकप्रिय बेरी फलको रुपमा लिइन्छ । पहिलो लोकप्रिय बेरी फल भने अंगुर हो । स्ट्रोबेरीमा कोलेस्ट्रोल घटाउने, एण्टी अक्सिडेण्ट, भिटामिन र अन्य खनिज पदार्थ प्रचुर मात्रामा पाइने गरेकोले स्वास्थ्यका लागि अत्यन्तै लाभदायक फल मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्