प्रदेश सभामा सामाजिक विकास मन्त्रालयको प्रगति प्रस्तुत «

प्रदेश सभामा सामाजिक विकास मन्त्रालयको प्रगति प्रस्तुत

धनगढी-सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशनको सातौं बैठकमा प्रदेशको सामाजिक विकास मन्त्रालय र त्यस मातहतका कार्यालयहरुको प्रगति विवरण पेश गरिएको छ ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालय र मातहतका कार्यालयहरुले विगत दुई वर्षमा गरेका क्रियाकलापहरुको प्रगति प्रस्तुत गरेका हुन् । प्रदेश सभाको शुन्य समयमा प्रदेश सांसद्हरुले मन्त्रालयबाट गरिएका कार्यक्रमहरुको विवरण माग गरेपछि सभामुख अजुर्नबहादुर थापाले मन्त्रालयलाई जवाफ पेश गर्नु निर्देशन दिएका थिए ।
मन्त्री सुवेदीले मन्त्रालय र मातहतका कार्यालयको प्रगतिको रुपमा अल्ट्रासाउण्ड मेसिन खरिद, टाइप वि एम्बुलेन्स खरिद, अक्सिजन प्लान्ट जडान, विद्यालय भवन निर्माण, विधेयक निर्माण, खेलकुद मैदान निर्माण, आयुर्वेद प्रतिष्ठानको सम्भाव्यता अध्ययन लगायतका प्रगति विवरण पेश गरे । उनले चालु आर्थिक वर्षका सम्पूर्ण कार्यक्रमहरुको अख्तियारी प्रत्यायोजन गरिसकेको, फाप्ला क्रिकेट मैदान निर्माणका लागि जग्गा प्राप्तिको चरणमा रहेको र प्रदेश विश्व विद्यालय र प्रदेश पोलिटेक्निक ईन्ष्टिच्युटको सम्भाव्यता अध्ययन तथा डिपिआर निर्माणका लागि तयारी भइरहेको जनाए ।
मन्त्री सुवेदीले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी सेवा प्रदान गरिरहेको बताए । उनले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मनोवल बढाउन ६ हजार ३७ जना १० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता वितरण गरिएको जानकारी दिए । उनले प्रदेशमा सञ्चालित स्वास्थ्य शिविरबाट १५ हजार दुई सय ५९ महिला र नौ हजार सात सय ४२ जना पुरुषलाई स्वास्थ्य सेवा प्रदान गरिएको बताए । उनले १४ हजार नौ सय १६ जना महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या स्वास्थ्य शिविरबाट निदान गरिएको जानकारी दिए । उनले चार जना बाजुरा र एक जना बझाङको सुत्केरी महिलाको हवाई सेवाद्वारा उद्दार गरिएको बताए ।
८८ वटा प्रसुति केन्द्र स्थापना, ४३ वटा सहरी स्वास्थ्य केन्द्र स्थापना र ३१ वटा सामुदायिक स्वास्थ्य ईकाईको भवन निर्माण गरिएको मन्त्री सुवेदीले बताए । उनले ८८ वटा चार कोठे, ८८ वटा दुई कोठे विद्यालय भवन निर्माण गरिनुको साथै १२ वटा प्राविधिक शिक्षालयको छात्रावास निर्माण गरिएको बताए । त्यसैगरी, एक सय ३६ वटा विद्यालयको पर्खाल निर्माण गरिएका मन्त्री सुवेदीले प्रदेश सभालाई जानकारी दिए ।
उनले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा पर्ने गरी ३२ वटा खेलकुद मैदान निर्माण गरिएको बताए । उनले प्रदेश गौरवको योजनाको रुपमा अगाडि बढाइने फाप्ला क्रिकेट मैदान निर्माणका लागि जग्गा प्राप्तिको चरणमा रहेको बताए ।
उनले यि योजनाहरु मध्ये अधिकांश निर्माण सम्पन्न भएको र केही योजनाहरु चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा सम्पन्न हुने बताए ।
स्थानीय तहका स्वास्थ्य सेवा सुधारका लागि ४४ वटा स्थानीय तहहरुलाई १८ लाख रुपैयाँका दरले अनुदान दिएको मन्त्री सुवेदीले जनाए । उनले २७ वटा बढि चाँप रहेको स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएको बताए ।
उनले आयुर्वेद प्रतिष्ठानको लागि सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गरिएको जनाउँदै प्रतिष्ठान स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताए । उनले हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, अनमी, अहेब, इन्जिनियर, सब इन्जिनियर लगायत एक सय ८३ जना स्वयम्सेवक परिचालन मार्फत् प्राविधिक सेवा प्रदान गरिरहेको जनाए ।
मन्त्री सुवेदीले प्रदेश विश्वविद्यालय र प्रदेश पोलिटेक्निक ईन्ष्टिच्युट स्थापनाका लागि सम्भाव्यता अध्ययन डिपिआर निर्माणका लागि इविडिङ गर्ने तयारीमा मन्त्रालय रहेको बताए । उनले मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, सुदूरपश्चिम आरोग्य कार्याक्रम, जेष्ठ नागरिकलाई योग ध्यान र स्वास्थ्य शिविर, जीवनशैली परामर्श, सिकलसेल एनिमिया, थाइलेसिमिनिया व्यवस्थापन कार्यक्रम, गाउँघरमा स्वास्थ्यकर्मी कार्यक्रम, महिला स्वयम्सेविकालाई स्वास्थ्य बिमा कार्यक्रम लगायतका कार्यक्रमहरु मन्त्रालयले अगाडि बढाउने तयारी गरिरहेको बताए । उनले चालु आर्थिक वर्षका सम्पूर्ण कार्यक्रमहरुको अख्तियारी सम्बन्धित कार्यालयहरुलाई दिइसकेको जनाउँदै समयमै सबै योजनाहरु कार्यान्वयनको चरणमा पुगेको दावी गरे ।
प्रदेश सांसद्हरुले प्रदेश सभाको यसअघिको बैठकहरुमा मन्त्रालयहरुले गरेको कामको प्रगति प्रदेश सभालाई जानकारी नगराएको भन्दै गुनासो गर्नुका साथै अब हुने कार्यक्रमको जानकारी समेत नदिएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्