Logo

इजरायलमा कार्यरत नेपालीको सुरक्षा चासो बढ्दाे

काठमाडौं– इजरायल र इरानबीच जारी युद्ध बढ्दै जान थालेपछि इजरायलमा काम गरिरहेका नेपालीको सुरक्षा चासो बढेको छ । यसअघि हमाससँगको युद्धभन्दा धेरै खतरा मानिएको इजरायल–इरान लडाइँमा दुवै देशले ठूलो क्षति बेहोरिरहेका छन् । यस्तो बेला नेपालमा इजरायलमा कार्यरत नेपालीको सुरक्षा चासोबारे सरकारले चासो देखाएको हो ।

इजराय युद्धमा प्यालेस्टिनी अतिवादी समूह हमासले नेपालका विपिन जोशीलाई अहिलेसम्म नछाडेकाले नेपालीको सुरक्षा चासो बढेको हो । सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र इरानबीचको युद्धबारे जानकारी लिन इजरायली राजदूत स्मुलिक एर बाससँग भेट गरेकी छन् । मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिन् । मन्त्री राणाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालले विज्ञप्ति जारी गदै इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ । राजदूत बासले इजरायलमा रहेका नेपालसहित सबै देशका नागरिकको सुरक्षामा इजरायल गम्भीर रहेको बताएका थिए । हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ नेपाली सबै सुरक्षित रहेको परराष्ट्रले जनाएको छ ।

इजरायल र इरानमा रहेका नेपाली नागरिकले आवश्यकताअनुसार सम्बन्धित दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ । परराष्ट्रमन्त्रीका प्रेस सल्लाकार एकनारायण पाठकले हाल इजरायलमा नेपाली सुरक्षित रहेको र एयरपोर्ट पनि पूर्ण रुपमा बन्द नरहेकाले फर्कन चाहनेका लागि विकल्प रहेको जानकारी दिए । जोर्डन, साइप्रस र अर्को एक रुटमार्फत आउ/जाउ गर्न सकिने विकल्प रहेको उनको भनाइ छ ।

यसैबीच इजरायलस्थित नेपाली दूतावासले इजरायल–इरानको बढ्दो तनावका कारण आउन सक्ने समस्यालाई ध्यानमा राखेर इजरायलका विभिन्न स्थानमा बसोबास गरिरहेका नेपालीको सुरक्षा र हितका लागि दूतावासमा २४सै घन्टा हटलाइन खुला राखिएको जनाएको छ । यसका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र तृतीय सचिव सञ्जयकुमार शाहसँग सम्पर्क गर्न सकिने दूतावासले बताएको छ ।

इजरायलस्थित नेपाली दूतावासले पछिल्लो समय विकसित परिस्थितिलाई दृष्टिगत गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशन जारी हुन सक्ने जनाउदै सचेत हुन आग्रह गरेको छ । यसअघि दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरेको छ । तोकिएका प्रोटोकल पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रय स्थल सुविधा भए त्यस वरपर रहन सूचना जारी गरिएको थियो ।

दूतावासले आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन नेपालीलाई अनुरोध गर्दै आएको छ । यसअघि नै युद्धको अनुभवमा काम गरिरहेका नेपाली तुलनात्मक रुपमा यसपटक त्यति त्रसित भने देखिएका छैनन् । त्यहाँ कार्यरत नेपालीले साइरन बजिरहेका बेलासमेत काम गरिरहेको र सम्भावित आपतकालीन अवस्थामा बंकरमा बस्ने गरेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्