स्याङ्जाको फेदीखोला आफ्नै भवनमा

स्याङ्जा– स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । जिल्लाकै कान्छो पालिकाका रुपमा चिनिएको फेदीखोला गाउँपालिका स्थापना भएको ९ वर्षपछि आफ्नै भवनबाट प्रशासकीय काम थालेको हो । भवन निर्माणको सम्झौताअनुरूप दुई वर्षमा सक्नुपर्ने भएपनि चार वर्षमा मात्र सम्पन्न भएपछि पालिकाले आफ्नै भवन प्रयोग गर्न पाएको छ ।
पालिकाले जेठको दोस्रो हप्तादेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ । ३ रोपनी क्षेत्रफलमा भवन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित नवनिर्मित भवनका चार तलामा ३५ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्षको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाको नवनिर्मित भवनमा दुईवटा हल, लिफ्ट, १९ वटा शौचालय र एउटा अपाङ्गमैत्री शौचालयसमेत बनाइएको छ । जिल्लामै बनेका पालिकाका भवनमध्ये लिफ्टसहितको भवन फेदीखोलाको पहिलो हो । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जा जिल्लामा फेदीखोला गाउँपालिकाको भवन नै अन्तिममा निर्माण सम्पन्न भएको छ ।
संघीयता लागु हुनुपूर्व तीन नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटले पहिल्यै बनेका भवन प्रयोग गरेका छन् भने संघीयतासँगै बनेका दुई नगरपालिका र पाँच गाउँपालिकाले यसअघिनै भवन निर्माण गरिसकेका छन् । संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र फेदीखोला गाउँपालिकाको ६०/४० प्रतिशत लागतमा ८ करोड ५२ लाखमा भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
पालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार निर्माण सकिए पनि निर्माण कम्पनीले एक करोड ३४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । पालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपनि निर्माण कम्पनीले हस्तान्तरण भने गरेको छैन । गाउँपालिकाले हालसम्म साबिक फेदीखोला गाविसको भवन मर्मत गरेर कार्यालय र शाखाहरु सञ्चालन गर्दै आएको थियो ।
चापाकोटको चिस्यान केन्द्र तीर्न वर्षदेखि अलपत्र
चापाकोट नगरपालिकामा कृषिउपज भण्डारण गर्न निर्माण सुरु गरिएको ‘चिस्यान केन्द्र’ ३ वर्षदेखि अलपत्र परेको छ । चापाकोट–८ क्वामीस्थित ठूल्लपोखरामा निर्माण सुरु भएको चिस्यान केन्द्र बजेट अभावमा तीन वर्षदेखि अलपत्र भएको हो । आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट चिस्यान केन्द्रको निर्माण थालिएको थियो ।
चिस्यान केन्द्र निर्माणमा पछिल्लो दुई वर्ष बजेट विनियोजन नहुँदा केन्द्र निर्माणको काम अलपत्र परेको नगरपालिका–८ का वडा अध्यक्ष टोपलाल न्यौपानेले बताए । ‘पछिल्ला दुई आर्थिक वर्षमा प्रदेशबाट चिस्यान केन्द्र निर्माणका लागि बजेट विनियोजन भएको छैन’ अध्यक्ष न्यौपानेले भने, ‘वडा तह र नगरपालिकाबाट पहल भएपनि केन्द्रको निर्माणले गति लिन सकेको छैन ।’ प्रदेश सरकारबाट आगामी वर्षका लागि घोषणा हुने बजेटमा केन्द्र निर्माणले प्राथकिता पाउने आशा गरेको न्यौपानेले बताए ।
तत्काल बजारमा खपत हुनेभन्दा बढी उत्पादन भएका तरकारी, फलफूल, आलुलगायत कृषिजन्य उत्पादन भण्डार गर्न कृषकको मागअनुसार केन्द्र निर्माण सुरु गरिएको थियो । चापाकोटमा केन्द्र निर्माण हुने भएपछि उत्साही भएका स्थानीय कृषक निर्माण कार्यमा भएको ढिलाइले पुन: निरुत्साहित भएका छन् । चिस्यान केन्द्र निर्माण गर्न २ करोड २२ लाख लाग्ने अनुमान गरिएको थियो । चिस्यान केन्द्र स्थापना भए चापाकोट नगरपालिकाका कृषकसहित छिमेकी गल्याङ्, वालिङ र पाल्पाको रामपुर नगरपालिकाका कृषकसमेत लाभान्वित हुने छन् ।