Logo

भारत र बंगलादेशमा गरी दैनिक साढे ३ सय मेगावाट विद्युत निर्यात

काठमाडौं– यो वर्षको मनसुन सुरु भएको १५ दिन भइसकेको छ । वर्षा हुन थालेसँगै स्वाभाविक रुपमा नदीमा पानीको सतह वृद्धि हुँदै गएको छ । हिउँदमा जडित क्षमताको एक तिहाइमात्र विद्युत उत्पादन गरिरहेका नदी प्रवाही जलविद्युत आयोजनाको उत्पादन बढ्न थालेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत उत्पादन बढेसँगै देशभित्र खपत भएर उब्रिएको विद्युत निर्यात गर्ने क्रम बढेको छ ।

विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार आइतबारदेखि दैनिक औषत साढे ३ सय मेगावाट विद्युत निर्यात सुरु भएको छ । दैनिक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात थालिएको छ भने बाँकी भारतमा निर्यात भइरहेको छ । भारतको हरियाणा राज्यमा जेठ १८ (जुन १) देखि १८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबारदेखि बढाएर २०० मेगावाट निर्यात थालिएको प्राधिकरण प्रवक्ता ढकालले जानकारी दिए । त्यस्तै, बिहारमा पनि ८० मेगावाट विद्युत आइतबारबाटै निर्यात सुरु गरिएको छ । यसबाहेक इन्डियन एक्सचेन्ज मार्केटमा पनि दैनिक ३० मेगावाटसम्म विद्युत पठाइरहेको प्राधिकरणले जनाएको छ । ‘यसअनुसार दुवै देशमा गरी दैनिक करिब ३५० मेगावाट विद्युत निर्यात भइरहेको छ,’ प्रवक्ता ढकालले भने ।

प्राधिकरणका अनुसार भारतले अहिलेसम्म निर्यातको लागि अनुमति दिएको क्षमता ९ सय ४० मेगावाट हो । त्यति नै क्षमताको विद्युत असार दोस्रो हप्तादेखि निर्यात गर्ने तयारी भइरहेको छ । भारतले मध्यकालिन अवधिको लागि ४ सय मेगावाट क्षमताको र ५४० मेगावाट इन्डियन एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धामार्फत बिक्री गर्न अनुमति दिएको छ ।

मध्यकालीन अवधिको निर्यातका लागि बिहारमा १२५ मेगावाटको स्वीकृति भए पनि अहिलेसम्म ८० मेगावाटमात्र पठाउन सकिएको छ । त्यस्तै, हरियाणा राज्यमा २३५ मेगावाटको लागि अनुमति भएकोमा २ सय मेगावाटमात्र निर्यात थालिएको छ । अर्को ४० मेगावाट भने नेपाल, भारत र बंगलादेश सम्मिलित त्रिदेशीय सम्झौता अनुसार आइतबारदेखि बंगलादेश निर्यात सुरु भइसकेको छ । ‘दुई हप्ताअघि नै मनसुन सुरु भए पनि अझै नदीमा पानीको सतह पर्याप्त मात्रामा वृद्धि नभइसकेकोले तोकिएको भन्दा न्यून विद्युत निर्यात गरिरहेका छौं,’ प्रवक्ता ढकालले भने ।

अर्कोतर्फ इन्डियन एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धामार्फत बिक्री गर्नको लागि अनुमति दिइएको ५४० मेगावाट क्षमता हो । त्यसमध्ये अहिले औषत ३० मेगावाटमात्र दैनिक निर्यात भइरहेको छ । आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन थालिएपछि स्वीकृत क्षमताअनुसारकै विद्युत भारतीय बजारमा पठाउने प्राधिकरणको दाबी छ ।

अहिले राष्ट्रिय प्रणालीमा जडित विद्युत क्षमता ३ हजार ६०२ मेगावाट भए पनि जलविद्युतको मात्रै जडित क्षमता ३ हजार ३३६ मेगावाट छ । त्यसबाहेक सौर्य ऊर्जा ११७, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उत्पादित ९० मेगावाट, थर्मल प्लान्ट ५३.४ मेगावाट र चिनी मिलमार्फत ६ मेगावाट उत्पादन भइरहेको छ । जलविद्युतको जडित क्षमतामध्ये पानीको सतह नबढ्दा अहिले २ हजार ३ सय मेगावाटमात्र उत्पादन भइरहेको छ । त्यसमध्ये पनि देशभित्र खपत १ हजार ९ सय मेगावाट भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

कात्तिकसम्म निरन्तर बंगलादेश विद्युत निर्यात
शनिबार रातिदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात थालिएको छ । यो कात्तिकसम्म निरन्तर निर्यात हुनेछ । बंगलादेश निर्यात गरिएको विद्युतबाट नेपालले मासिक २५ करोड रुपैयाँ आम्दानी गर्नेछ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट ५ महिनामा १ अर्ब २५ करोडबराबर आम्दानी हुने बताए । यो अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने प्रक्षेपण छ ।

प्राधिकरणले आइतबारदेखि नेपाल र भारत जोड्ने अन्तरदेशीय प्रसारण लाइन ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन मार्फत ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको हो । गत वर्ष कात्तिक ३० (नोबेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मिनेटका लागि बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यो वर्ष सम्झौताले तोकेको समयअनुसार नै आइतबारदेखि विद्युत निर्यात सुरु गरेको हो । अघिल्लो वर्ष नेपालले बंगलादेशमा ४ लाख ७० हजार युनिट विद्युत बिक्री गरेको थियो । नेपाल, भारत र बंगलादेशबीच दैनिक ४० मेगावाट विद्युत भारत हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज २०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्दा ३० कात्तिकमा एक दिनमात्रै निर्यात भएको थियो । त्यसबापत ३० हजार ८० अमेरिकी डलर बंगलादेशबाट प्राप्त गर्न बाँकी छ । नेपाल र भारतबीच विद्युत खरिदबिक्री भारतीय रुपैयाँमा भए पनि बंगलादेशसँग भने अमेरिकी डलर (प्रतियुनिट ६.४० सेन्ट) मा तोकिएको छ ।

बंगलादेश निर्यात हुने विद्युत त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादन हुने क्रमशः १८.६० र २१.४० गरी कुल ४० मेगावाट हुनेछ । यी आयोजनाबाट उत्पादिन विद्युत बंगलादेश निर्यात गर्न भारतीय केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएको छ । प्राधिकरणले सम्झौताअनुसार सन् २०२९ अक्टोबर २ सम्म अनुमति दिएको हो ।

बंगलादेश निर्यात गर्ने विद्युतमा नेपाल विद्युत प्राधिकरणले आयोजनास्थलदेखि नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरसम्मको प्राविधिक चुहावट व्यहोर्नु पर्नेछ । मुजफ्फरपुरमा राखिएको मिटरमा देखाएअनुसार बंगलादेश निर्यात गरिने बिजुलीको मूल्य प्राधिकरणले प्राप्त गर्नेछ । मुजफ्फरपुर बिन्दुपछिको भारतले लिने प्रसारण लाइन शुल्क, चुहावट र अन्य तोकिएको करलगायत आर्थिक दायित्व बंगलादेशले व्यहोर्नेछ । गत वर्ष असोजमा नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार नेपालले हरेक वर्ष पाँच महिना बर्खाको समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारत र बंगलादेशलाई निर्यात गर्दै आएको छ ।

बंगलादेश विद्युत निर्यात सुरु भएको अवसरमा ऊर्जामन्त्री दीपक खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारत र बंगलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको उल्लेख गरे । ‘अघिल्लो वर्षदेखि नेपालले विद्युत आयातभन्दा निर्यात धेरै गर्दै आएको छ,’ उनले भने । मुलुकको दिगो आर्थिक विकासका लागि उर्जा क्षेत्र भरपर्दो माध्यम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै जाने उनले बताए । ‘सरकारले आन्तरिक विद्युत खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,’ उनले भने ।

मन्त्री खड्काले विद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनासँगै बूढीगण्डकी, अपर अरुणलगायत ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको बताए । विद्युत व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको उनको भनाइ छ । जलविद्युत क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सरकारले बिनाधितो दुई लाखदेखि पाँच लाखसम्मको सेयर दिन लागेको उनले बताए ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले आगामी दिनमा थप विद्युत बंगलादेश निर्यात गर्नका लागि छलफल भइरहेको बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा व्यापारको युगमा प्रवेश गरेको बताए । भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी हुने उनको भनाइ छ । ‘अहिले लोडसेडिङ छैन र हुँदैन पनि । उत्पादित बिजुली बढी भएरै बिक्री सुरु गरिएको छ । ट्रिपिङको समस्या कहिलेकाहीँ देखिएर झ्यापझ्याप बत्ती जाने गरे पनि यसलाई हटाउँदै लगिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्