Logo

मधेसको पर्यटनमा जोडिँदै बिहार

बारा– मधेश प्रदेशलाई अन्तरदेशीय पर्यटकीय गन्तव्य बनाउन नेपाल र भारतका पर्यटन सम्बद्ध संघ–संस्थाका प्रतिनिधिले ‘मधेस पर्यटन मिट’मार्फत सम्भावनामाथि छलफल चलाएका छन् । नेपाल पर्यटन बोर्डद्वारा जनकपुर र वीरगन्जमा आयोजित ‘मधेस पर्यटन मिट’मा दुवै देशका पर्यटन सम्बद्ध संघ–संस्थाका प्रतिनिधिले मधेसको पर्यटन विकासलाई केन्द्रमा राखेर छलफल गरेका हुन् ।

शनिबार वीरगन्जमा आयोजित समापन कार्यक्रममा टुरिजम एसोसिएसन बिहारका अध्यक्ष एसके शर्माले नेपाल र भारतबीच ऐतिहासिक एवं धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको औंल्याए । बिहार मात्र नभई भारतको केन्द्र सरकारले समेत समन्वय गरेर नेपालको पर्यटन क्षेत्रको विकास गर्न तयार रहेको जानकारी गराए ।

बनारस टुरिजम बोर्डका सचिव सौरभ पाण्डेले भारतको धार्मिक पर्यटकलाई जोडने ठूलो आधार रामायण सर्किटअन्तर्गत जनकपुर रहेकाले यसको विकासमा दुवै देशको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे । सहभागीले जनकपुरलाई धार्मिक पर्यटनको बलियो आधार बनाउन रेल, हवाई र सडकले रामायण सर्किटलाई जोड्दै गएकाले भारत बहुआयामिक प्रचार गरिदिन आग्रह गरे ।

उक्त अवसरमा पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले मधेसमा पर्यटकीय सम्भावना बढी भएकाले अन्तरदेशीय पर्यटन प्रवर्द्धनमार्फत बढी लाभ लिन सकिने बताए । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मधेसको पर्यटन व्यवसायले फड्को मार्न यहाँका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा भारतीयसहित विदेशी पर्यटकलाई टिकाउन तथा आकर्षण बढाउनेतिर ध्यान नदिइँदा वीरगन्ज बाटोका रूपमा मात्रै प्रयोग हुँदै आएको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोककुमार टेमानीले मधेसमा भारतीय पर्यटक बढाउन स्थानीय तथा प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण हुने औंल्याए । नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्यटकीय गतिविधिलाई चलायमान बनाउन ‘मधेस पर्यटन मिट कार्यक्रम’ अघि सारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्