केन्द्र भन्छ हटाऊ, प्रदेश भन्छ पुनर्विचार गर «

केन्द्र भन्छ हटाऊ, प्रदेश भन्छ पुनर्विचार गर

सरकारले आगामी चैत १ गतेबाट देशभर रहेका २० वर्ष पुरानो सवारी हटाउने नीतिको व्यवसायीले विरोध गरेका छन् । सरकारको कदम गलत भएको भन्दै व्यवसायीहरूले सवारी हटाउनै परे पेसामा संलग्नलाई विकल्प दिएर उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । सोमबार टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौंडाको २६ औं साधारणसभा तथा १४ औं अधिवेशनमा वक्ताहरूले २० वर्ष पुराना गाडी नेपालको अफरोडमा अझै १० वर्ष चल्न सक्ने दाबी गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद सुवेदीले नेपालको सडकमा नयाँ गाडी गुडाउँदा एक वर्षमै थोत्रो हुने अवस्था रहेको भन्दै २० बर्ष पुरानो गाडी हटाउने नीति गलत भएको बताए । उनले २० वर्षे पुराना गाडी पनि बलियो र कच्ची बाटाका लागि उपयुक्त भएको दाबी गर्दै सरकारले अव्यावहारिक र असान्दर्भिक नीति ल्याएको आरोप लगाए ।
 कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले प्राविधिक मर्मतपछि चलाउन सकिने अवस्थाका हजारौं गाडी विस्थापन गरेर नयाँ गाडी हालेर सरकारले भ्रष्टाचार गर्न खोजेको आरोप लगाए । “सरकारले २० वर्ष पुरानो गाडी हटाउन किन यति धेरै आतुरी गरेको हो बुझ्न सकिएको छैन, पहिले सिंहदरबारभित्रका ३० औं वर्ष पुराना गाडी हटाएर देखाओस् ।” उनले भने । २० वर्षे पुराना गाडी मर्मतपछि अझै दशौं वर्ष चल्न सक्ने दाबी गरे । 
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले सवारीसाधनको अव्यावहारिक रूपमा आयु तोकिनु ठीक नभएको तर्क राखे । कुनै प्राविधिक पुष्टिविना नै गाडीको आयु तोकेर विस्थापन गरी लगानी खेर जाने नीति गलत भएको बताए ।
“एक्कासि सवारी विस्थापित गर्दा ठूलो आर्थिक भार खेप्नुपर्ने हुन सक्छ, यस विषयमा सोचेर अघि बढ्न केन्द्रीय सरकारसँग अनुरोध गर्दछु ।” मन्त्री जमरकट्टेलले प्रदेश सरकार अहिले कानुन निर्माणको चरणमा रहेकाले यस प्रदेशमा यातायात व्यवसायीलाई मारमा नपार्ने किसिमको नीति बनाइने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस्