नागरिक लगानी कोष–रुरुक्षेत्र पालिका सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए ।
पालिका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । सम्झौताअनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत रुरुक्षेत्रद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गरिनेछ ।
पालिकाबाट सञ्चालित स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापनअन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिस अनिवार्य चाहिनेछ । योजनामा सहभागी स्वयंसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा संकलित रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनुपर्ने गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।