सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण छलफल

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित सम्बन्धित सबै कर्मचारीको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं उपत्यकाबहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकको अनलाइन सहभागितामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेका साथै उपनिर्देशक पदमप्रसाद सोडारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुरबहादुर भुजेलले प्रस्तुत गरे । तालिममा ग्राहकको सम्पत्ति र आयको स्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैरकानुनी कमाइ र आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने उपायलगायत विषयमा जानकारी दिइएको थियो ।
काठमाडौं उपत्यका बाहिरका स्थानमा अन्य कर्मचारी र अभिकर्तालाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कार्यपत्र प्रस्तुत गर्दै यसको महत्त्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीबाट हुनुपर्ने कार्यबारे विस्तृत जानकारी गराएका थिए ।