Logo

स्थानीय तहमा बजेट निर्माणको चटारो

रोल्पा– जिल्लाका स्थानीय तह यतिबेला बजेट निर्माणको अन्तिम तयारीमा जुटेका छन् । केही स्थानीय तहले नीति तथा कार्यक्रम गाउँसभा र नगरसभामा पेश गरिसकेका छन् भने कतिपयले नीति तथा कार्यक्रमसँगै बजेट पनि एकै दिन सभामा पेश गर्ने जनाएका छन् । स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट निर्माणको क्रममा रहेका छन् ।

असार १० गतेभित्र नीति तथा कार्यक्रमसँगै बजेट ल्याउनुपर्ने प्रावधान बमोजिम यहाँका स्थानीय सरकार पनि यसको तयारीमा जुटेका हुन् । सुनिलस्मृति गाउँपालिकाले जेठ २६ मा गाउँसभाको १८औं बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । अध्यक्ष मणिराम बुढाथोकीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मत पारितसमेत गरिसकेको छ । नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेसँगै गाउँपालिका यतिबेला बजेट बनाउने तयारीमा जुटेको छ ।

गाउँपालिका आगामी असार १० गते अगाडी नै बजेट ल्याउने तयारीमा छ । गाउँपालिकाले सम्प२र्ण वडा तह र विषयगत शाखामा बजेटको सिलिङ वितरण गरिसकेको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष पवनकुमार कवरले बताए । ‘हामी वडाको कलष्टरमा योजना छनोट र सरोकारवालासँगको छलफलमा छौ’, उनले भने, ‘असार ३ गते वडाबाट बजेट छनोट गरिने छ ।’ जनताको आवश्यकता र मागमा केन्द्रीत रहेर बजेट बनाइरहेको उनले बताए ।

लुंग्री गाउँपालिकाले पनि आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभाको १९औ बैठकमा जेठ १८ गते गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै गाउँपालिका पनि बजेट ल्याउने तयारीमा छ । बजेट निर्माणको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ । वडा स्तरबाट बजेट छनोटको काम प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय सरकारलाई यतिबेला बजेटको तयारीका साथै आर्थिक वर्ष सकिन केही समय मात्र बाँकी हुँदा योजनाको अन्तिम भुक्तानी दिने, योजनाको अनुगमन गर्ने चटारो पनि छ । आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्ने गर्दछन् ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका पनि नीति तथा कार्यक्रमसँगै बजेट निर्माणको छलफलमै रहेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । ‘बस्तीस्तरबाट योजना छनोटको काम सबै भएको छ,’ उनले भने, ‘अब हामी विषयगत समितिमा छलफल गरी कार्यपालिका बस्ने तयारीमा छौं ।’ नगरपालिकाले असार ८ गतेभित्र नगरसभामा नीति तथा कार्यक्रम पेश गर्ने र असार १० गते बजेट पेश गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

आन्तरिक आम्दानी कमजोर हुँदा गत वर्षकै सेरोफेरोमा बजेट निर्माण हुने सम्भावना रहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । जिल्लाका दस वटै स्थानीय सरकार यतिबेला बजेट निर्माणको क्रममा रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र गाउँसभा/नगरसभामा बजेट पेश गर्नुपर्छ । सोही आधारमा स्थानीय तहले बजेट बनाउने गर्दछन् ।

चालु आवमा आन्तरिक विवादका कारण केही स्थानीय तहले ढिलो बजेट ल्याएका थिए । रोल्पाका स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत बलियो नहुँदा संघ र प्रदेश सरकारबाट आउने अनुदानमा निर्भर रहेर बजेट ल्याउने तयारीमा छन् । स्थानीय तहलाई धेरै अधिकार भएपनि त्यस अनुसार कार्यान्वयन गर्न सकेका छैनन् । जिल्लाका अन्य स्थानीय तहपनि बजेट निर्माणको अन्तिम तयारीमा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्