हुम्ला राष्ट्रिय सडकमा जोडिँदै

हुम्ला– संघीय सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा हुम्लालाई राष्ट्रिय सडकमा जोड्न बेली ब्रिज बनाउने जिम्मा दिएपछि कामले तिव्रता पाएको छ । सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सिमानामा रहेको खार्पुनाथ पुलमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि हुम्ला राष्ट्रिय सडकमा जोडिने भएको छ । नेपाली सेनाले असार १० गते नै नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी काम तीब्र पारिएको छ ।
कर्णाली करिडोर अन्तरगतको यो खण्डमा पुल नहुँदा चुवाँखोला उद्गम भई आउने नदीमा सवारी साधन आवतजावत गर्न समस्या हुने गरेको थियो । हिउँदको मौसममा पानीको बहाव घट्ने भएकाले सवारी साधन नदीबाट नै तर्ने गरेको भएपनि वर्षायाममा पानीको बहाव बढ्दा समस्या हुने गरेको थियो । केही सवारी साधन नदीमा नै डुब्ने गरेको र सवारी साधन बिग्रने गरेको थियो ।
ब्रिज निर्माणमा नेतृत्व गरीरहेका नेपाली सेनाका सेनानी पुरबहादुर घर्तीले पुल समयमै निर्माण सम्पन्न गरी स्थानीयलाई सहज गराउनतर्फ ध्यान रहेको बताए । पुल नहुँदा हालको झोलुँगे पुलको पूर्वमा सुर्खेत नेपालगञ्जबाट निर्यात गरिएको सामान अनलोड गरी कामदारले पुल भारी बोकेर नै सार्नु परेको थियो । भरियाले सामान ओसार्नु पर्दा सामानको मूल्य बढ्ने र सामान भनेको बेला नपुग्ने अवस्था अझै रहेको छ ।
सडक मार्ग र हवाई मार्गबाट हुम्ला पुग्नुपर्ने हुम्ला नेपालको महँगो जिल्लाको रुपमा चित्रित भएपनि पुल निर्माणपछि बजार भाउमा केही सस्तो हुने आंकलन गरिएको छ । त्यसैगरी नेपाली सेनाले जिम्मा पाएको कर्णाली करिडोरको सडकमध्ये बोक्चे गौंडा, भी गौंडा र च्याछहरामा कम्तीमा ५ मिटर भिरलाई तल झारेर सडक मार्ग सहज गराउनतर्फ लागेको छ ।
यो सडक निर्माण पछि हुम्लीबासीलाई सडक मार्ग भएर सामान पैठारी गर्न र आवात जावत गर्न सहज हुने देखिएको छ । साथै सामानको मूल्यमा पनि केही सस्तो हुन गई जीवनयापनमा सहजता आउने देखिएको छ । राज्यको अन्तिम जिल्ला हुम्ला सडक सञ्जालमा जोडिए पछि हुम्लामा प्रकृति मन पराउने, जैविक खानेकुरा खान रुचाउने, लिमी लाप्चामार्फत कैलाश मानसरोवर दर्शन गर्न आउने पर्यटकलाई पनि सहज हुने भएको छ ।
सडकको पहुँच सहज भएपछि हुम्लीबासीको आयआर्जनमा समेत वृद्धि हुने देखिएको छ । हाल हुम्लामा आउने पर्यटक हवाइजहाजमार्फत आउनुपर्ने भएकाले पर्यटकको आवागमन न्युन रहेपनि सडक मार्ग सहज भएपछि हुम्ला पुग्ने पर्यटकको संख्यामा वृद्धि हुने पर्यटन व्यवसायीको विश्वास छ ।