अलपत्र हाईअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणमा जोड

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लौठचौरमा निर्माणधिन हाईअल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणलाई अघि बढाउन पहल समिति गठन गरिएको छ । जग्गा विवाद, सरोकारवालाले चासो नदिँदा आठ वर्षदेखि अलपत्र टे्रनिङ सेन्टर निर्माण कार्य अघि बढाउन पहल समिति गठन गरिएको छ ।
जिल्ला खेलकुल विकास समितिको प्रमुखका रुपमा आएका कविदत्त न्यौपानेले चासो दिँदै अलपत्र टे्रनिङ सेन्टर अघि बढाउन पहल समिति गठन गराउन सफल भएका छन् । आइतबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय र खेलकुद विकास समितिको सहजीकरणमा गरिएको संयुक्त अनुगमनपछि जग्गा विवाद टुग्याउन र निर्माण कार्यलाई अघि बढाउन पहल गर्ने निर्णय गरिएको छ ।
हालसम्म जग्गा कसका नाममा पास गर्ने ? आवश्यक जग्गा कसरी प्राप्त गर्ने भन्ने कुराले टे्रनिङ सेन्टर निर्माणको विषय गिजोलिएको थियो । आइतबार अनुगमनपछि भएको छलफलले पहल समिति गठन गर्ने टे्रनिङ सेन्टर निर्माणको जग्गा पातारासी गाउँपालिकाको नाममा पास गर्ने निर्णय भएको छ । विगतमा वडा, गाउँपालिका र खेलकुद विकास समितिमध्ये कसको नाममा जग्गा पास गर्ने विषयमा अन्यौलता भएर जग्गा विवाद चुलिएको थियो ।
आइतबारको निर्णयसँगै जग्गा विवाद सुल्टिने र निर्माण अघि बढ्ने बाटो खुलेको छ । आवासिय भवनसहित हाईअल्टिचुट टे्रनिङ सेन्टर निर्माण गर्न ५० हजार वर्गमिटर जग्गा चाहिने १२ हजार वर्गमिटर जग्गा दिन जग्गा दाता तयार छन् । बाँकी ३८ हजार वर्गमिटर जग्गा प्राप्तिमा विवाद भएपछि निर्माण कार्य रोकिएको थियो । विद्यालय र स्थानीयबीच जग्गा विवाद चुलिएपछि निर्माण कार्य रोकिएको हो ।
हालसम्म करिब दुई करोड बढी बजेट जग्गा विवाद नटुंगिदै खर्च भइसकेको छ । उक्त बजेटले मैदानको माटो सम्याउने मात्रै काम भएको छ । पछिल्लो समय जग्गा विवाद चुलिँदै गएपछि वर्षेनि करोडौं बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । हरेक वर्ष बजेट विनियोजन हुने तर जग्गा विवाद कायमै रहँदा खर्च नहुने समस्या रहेपछि सरोकारवालाले अनुगमन गरेका छन् ।
सो ट्रेनिङ सेन्टर कर्णाली प्रदेशकै महत्त्वको आयोजना भएकाले कुनै पनि हालतमा पूर्णता दिनु पर्नेमा समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जोड दिए । ट्रेनिङ सेन्टर निर्माणका लागि पहिलो पटकका १५ लाख,दोस्रो पटक ७५ लाख तेस्रो पटक ५० लाख र चौथो पटक ५० लाख बजेट विनियोजन भईसकेको छ । करिब दुई करोड बढी बजेट खर्च भइसक्दा समेत जग्गा विवाद नमिल्दा आयोजना अलपत्र बनेको हो ।
विश्वकै सर्वाेच्च स्थानमा धान फल्ने छुमचौरमा बन्ने हाईअल्टी च्युट ट्रेनिङ सेन्टर निर्माणपछि पातारासी खेल पर्यटनको हबसमेत बन्ने अपेक्षा गरिएको छ । १२ जनामध्येका एक जग्गादाता जग्गादाता रणबहादुर महताराले पहिलानै मन्जुरी नामा गरी सकेकाले ट्रेनिङ सेन्टर बनाउन जग्गा दिने बताए । उनले भने, ‘३१ सय वर्गमिटर जग्गा दिन मैले मन्जुरीनामा दिन तयार छु । हदबन्दीका कारण ढिला भएको हो । फुकुवाको प्रक्रिया अघि बढाएको छु । जग्गा विवादले आयोजना रोकिने छैन । मैले जग्गा दिएपछि सबै दिन तयार छन्, दिन्छौं ।’
१२ जना जग्गादातामध्ये ४ जना को १२ हजार वर्गमिटरको लालपुर्जा भएको र दिने सहमति भइसकेकोमा बाँकी ८ जनाको जग्गाको नापनक्सा तथा भोगचलन भएपनि लालपुर्जा नहुँदा समस्या भएको छ । हाईअल्टि च्युट ट्रेनिङ सेन्टर निर्माणका समस्या समस्या समधान गर्न पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा पहल समिति गठन गरिएको छ । उपाध्यक्ष रोकायाको संयोजकत्वमा ३ जना वडाध्यक्षसहित ७ सदस्यीय पहल समिति गठन भएको हो ।
उक्त समितिले जग्गा विवाद मिलाउनेदेखि अन्य सबै कामको कानुनी प्रक्रिया पूरा गरी निर्माणको बाटो खुलाउने छ । पातारासीकी उपाध्यक्ष तथा पहल समिति संयोजक जनमाया रोकायाले प्रदेशकै गौरबको आयोजनाका रुपमा सबैले साथ दिएर ट्रेनिङ सेन्टर अघि बढाउनु पर्ने बताइन् । कसैको स्वार्थ नबाझिएको र केही प्रक्रियागत जटिलताले समस्या भएपनि अब निर्माण कार्यलाई अघि बढाइने उनको भनाइ छ ।
पाँच करोड बढी बजेट फिर्ता
जग्गा विवादका कारण ट्रेनिङ सेन्टर निर्माणका लागि आएको करोडौं बजेट फ्रिज हुने गरेको छ । चालू आर्थिक वर्षका लागि आएको पाँच करोड २९ लाख बजेट फ्रिज भएको छ । खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले सुरुमा एक विद्यालय एक खेलमैदान कार्यक्रमअनुसार ट्रेनिङ सेन्टर निर्माण सुरु भएको बताए । पछि जग्गालगायत अन्य कारणले उक्त आयोजना अलपत्र परेको हो ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले सुरुमै ट्रेनिङ सेन्टर बनाउँदा जग्गा विवाद टुग्याउनु पर्नेमा हचुवामा काम भएको बताए । अब प्रदेशकै गौरबको आयोजना भएकाले सबै मिलेर अघि बढाउनु पर्नेमा जोड दिए । पातारासी–३ का अध्यक्ष गोविन्द रावतले पातारासी समृद्विसँग जोडिएको आयोजना सफल बनाउन सबैको एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘विगतमा विद्यालयको जग्गामा मै संरचना निर्माण भइहाल्छ भन्ने थियो । पछि गर्न नमिल्ने कुरो भयो । छेउमै रहेको सार्वजानिक जग्गामा विद्यालय सार्ने र विद्यालयको जगगासहित निजी जग्गामा ट्रेनिङ सेन्टर निर्माण सुरु गर्यौं । पछि जग्गाको विवादले रोकिएको हो । अब जग्गा दिन सबै तयार छन् । निर्माण हुने आशा पलाएको छ ।’
सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले दुुई पटक मन्त्रालयबाट ५० लाख र ७५ लाख बजेट ट्रेनिङ सेन्टर बनाउन बजेट आएपछि अख्तियारमा उजुरी परेपछि बजेट आउन छोडेको बताए । उनका अनुसार जग्गा विवाद टुग्याएपछि बजेटको अभाव नहुने र सबै विवाद समधानमा केन्द्रित हुनुपर्छ । जग्गा पास नभएसम्म अब काम अघि बढाउनु नहुनेमा उनले जोड दिए ।