स्याङ्जाका श्रमिक परिवारलाई दुई करोड

स्याङ्जा– स्याङ्जास्थित आप्रवासी स्रोत केन्द्रले सन् २००७ सालदेखि साउदी अरबमा रोजगारीका सिलसिलामा मृत्यु भएका सात श्रमिकका परिवारलाई २ करोड २१ लाख रुपैयाँ सामाजिक सुरक्षा बीमा रकम प्रदान गरेको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका परिवारलाई सामाजिक सुरक्षा बीमाअन्तर्गतको उक्त रकम प्रदान गरिएको हो ।
वैदेशिक रोजगारीका सिलसिलामा विदेशी भूमिमा काम गर्ने क्रममा दुर्घटना, रोग तथा अन्य कारणले मृत्यु भएका श्रमिकका परिवारलाई केन्द्रको सहजीकरणमा साउदी अरबको सामाजिक सुरक्षा बीमाअन्तर्गतको आर्थिक सहायता रकम उपलब्ध गराइएको छ । यसरी सहायता रकम पाउनेमा २०२४ मा मृत्यु भएका कालीगण्डकी गाउँपालिका ३ का सूर्यबहादुर पाण्डे क्षेत्रीका परिवारलाई ४९ लाख ९९ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ ।
२०११ मा मृत्यु भएका पुतलीबजार १४ का राजेन्द्रकुमार राईको परिवारलाई १२ लाख ३२ हजार रुपैयाँ वितरण गरिएको छ । २००७ मा मृत्यु भएपछि अर्जुन चौपारी गाउँपालिका–१ का डोलबहादुर खत्रीको परिवारलाई १२ लाख रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भीरकोट नगरपालिकाका कुलबहादुर सुनारको परिवारलाई ३४ लाख ७१ हजार र खुमानाथ लामिछानेको परिवारलाई ३५ लाख ८५ हजार रुपैयाँ बीमा रकम दिइएको छ ।
केन्द्रले दिएको जानकारीअनुसार चापाकोट नगरपालिका– ४ का बेगबहादुर थापाको परिवारलाई २६ लाख र अर्जुनचौपारी गाउँपालिका–१ का जयबहादुर रोक्काको परिवारलाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका बिरुवा गाउँपालिका–८ का निरज गुरुङ, अर्जुनचौपारी गाउँपालिका– २ का रेशमबहादुर कामी र अर्जुनचौपारी– ३ का कृष्णबहादुर विकको परिवारलाई सामाजिक सुरक्षा बीमा रकम दिने प्रक्रिया अन्तिम चरणमा पुगेको केन्द्रका सूचना तथा परामर्शकर्ता रमेश पौडेलले जानकारी दिए ।
वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी २०७६ देखि जिल्ला प्रशासन कार्यालयभित्र सहायता केन्द्र स्थापना भएको थियो । सहायता केन्द्र प्राविधिक कारणले दुई वर्ष अवरुद्ध भएको थियो भने २०८१ वैशाखदेखि पुन: सुचारु भएको हो ।
राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनुका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गर्ने गरिएको केन्द्रका परामर्शकर्ता जेशिका सिंह थापा ठकुरीले बताइन् । केन्द्रमार्फत विदेशमा मृत्यु भएका व्यक्तिको बीमा सुविधाका लागि सहजीकरण गर्दै सहायता प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरूले व्यहोर्नुपर्ने सास्ती, झन्झट र समस्या न्यूनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट सहयोग गर्दै आएको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । वैदेशिक रोजगारीमा गएर समस्यामा फसेका वा उतै मृत्युवरण गरेका आप्रवासीका परिवारलाई कानुनी सहायता लिने विधिसम्बन्धी परामर्श दिनका लागि सहायता केन्द्रमा दुई जना कर्मचारी परिचालन गरिएको पौडेलले बताए ।