स्थानीय तहमा अझै पुगेन बैंकिङ सेवा «

स्थानीय तहमा अझै पुगेन बैंकिङ सेवा

स्थानीय तहको निर्वाचन भएको १० महिना बितिसक्दा पनि मकवानपुरका अधिकांश गाउँपालिकामा अझै बैंकिङ सेवा पुग्न सकेको छैन । भौगोलिक विकटता, सुरक्षा तथा भौतिक पूर्वाधारको अभाव देखाउँदै बैंकहरू स्थानीय तहमा शाखा विस्तार गर्न मानिरहेका छैनन् ।
राष्ट्र बैंकले सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । बैंकिङ सेवा अभावमा स्थानीय तहका कर्मचारी र गाउँपालिकाका स्थानीय वित्तीय कारोबार गर्न हेटौंडा धाउनुपर्ने बाध्यता छ । जिल्लाको राक्सिराङ, कैलाश, बागमती र मकवानपुरगढी गाउँपालिकामा हालसम्म एउटा पनि बैंक पुगेको छैन । बागमती गाउँपालिकामा बिगत केही महिनादेखि ज्योति विकास बैंकले शाखा विस्तार गरेर काम सुरु गरे पनि त्यो पर्याप्त नभएको गाउँपालिका अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाको खाता हेटौंडामा रहेको नेपाल बैंकमा छ । “बैंकहरूको इच्छाशक्ति कम भएकाले हामीलाई कारोबारमा समस्या भइरहेको छ ।” उनले भने, “कारोबार पनि कम हुन्छ भन्ने सोचले बैंकहरू सहरमा मात्र केन्द्रित भइरहेको पाइन्छ ।”
सरकारी बैंकको पनि शाखा विस्तार गर्न आफूले कुरा अघि बढाइरहेको अध्यक्ष घलानले बताए । स्थानीय तहका कर्मचारीको तलब तथा अन्य सामान्य कारोबार ज्योति विकास बैंकमार्फत गरिए पनि स्थानीयले भने गाउँमै बैंकिङ सेवाको अनुभूति गर्न नपाएको घलानको भनाइ छ ।
भौगोलिक हिसाबले दुर्गम रहेको भन्दै बैकहरू गाउँ छिर्न नमानेको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानको भनाइ छ । “बैंक राख्नका लागि भवन पनि तयार छ, सुरक्षाका लागि प्रहरी चौकी पनि छ तर, खै किन हो बैंकहरूलाई गाउँमा ल्याउनै सकिएको छैन ।” कैलाश गाउँपालिकाका स्थानीयले एक दिन धाएर हेटौंडामा आई वित्तीय कारोबार गर्ने गरेका छन् ।
 गाउँपालिका कार्यालयको खाता पनि हेटौंडाकै बैंकमा सञ्चालन भइरहेको छ । तलबभत्ता जम्मा गरिदिन र रकम झिक्न कर्मचारी हेटौंडा धाइरहनुपर्दा सेवा प्रवाहमा समेत समस्या पर्ने गरेको अध्यक्ष मोक्तानले बताए ।मकवानपुरको सबैभन्दा दूर्गम राक्सिराङ गाउँपालिकामा पनि हालसम्म कुनै बैंक स्थापना हुन सकेको छैन । गाउँपालिकाले अर्को गाउँपालिकामा रहेको बैंकमा खाता सञ्चालन गरी कारोबार गरिरहेको छ । राक्सिराङ गाउँपालिकाको खाता मनहरी गाउँपालिकास्थित मनहरी बजारमा रहेको सिटिजन बैंकबाट सञ्चालन भइरहेको छ ।
 “बैंकलाई गाउँ लैजान मुख्य कुरा सुरक्षाको समस्या रहेको छ, पक्की भवन पनि हामीसँग अभाव छ भने स्थायी सडक पनि बनिसकेको छैन ।” राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने । सुरक्षाको निम्ति आफूहरू  प्रहरी चौकी स्थापनाको तयारी गरिरहेको उनले बताए । सुरक्षाको व्यवस्था भए सिटिजन बैंकले सेवा दिन तत्पर रहेको बताइरहेको मल्लले बताए ।
 यसैगरी मकवानपुरगढी गाउँपालिकाको अवस्था पनि उस्तै छ । सरकारी कारोबार गर्न बैंकको अभावले गर्दा कर्मचारी, शिक्षक, स्थानीयलगायतलाई सास्ती भएको छ । वित्तीय कारोबारका लागि दुई दिनसम्मको समय खर्चेर हेटौंडा झर्नुपर्ने बाध्यता छ । स्थानीय तहबाट हुने सम्पूर्ण किसिमका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरिए पनि सबै गाउँमा बैंक नपुगिसकेकाले त्यसको कार्यान्वयनमा समस्या भएको जनप्रतिनिधिहरूको भनाइ छ । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका छन् । एक उपमहानगरपालिका, नगरपालिका र चारवटा गाउँपालिकामा बैंकिङ सेवा पुगेको भए पनि चारवटा स्थानीय तहमा अझै बैंकको सुरसार छैन ।

केशव समर्पण

प्रतिक्रिया दिनुहोस्