Logo

राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

संसदमा आज पनि नाराबाजी

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आइतबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका हुन् ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको हो ।

यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । आइतबारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उनले प्राङ्गारिक र प्राकृतिक मल उत्पादनलाई प्रवर्द्धन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यसमा लागेको कर हटाइएको तथा बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि वृद्धि हुने बताएका थिए ।

अर्थमन्त्री पौडेलले प्रस्ताव प्रस्तुत गरिरहेका बेला सांसद राजेन्द्र पाण्डेले सांसदको नाराबाजीका कारण मन्त्रीले भनेको कुरा नसुनिएकाले यसलाई एउटा निष्कर्षमा लगेरमात्र सभा सञ्चालन गर्न माग गरेका थिए । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्