Logo

१० महिनामा दुई हजार ४१ विदेशीले लिए श्रम स्वीकृति

काठमाडौं– चालू आर्थिक वर्षको १० महिनामा नेपालमा रोजगारीका लागि दुई हजार ४१ विदेशी श्रमिकलाई श्रम स्वीकृति दिइएको छ । नेपालमा दक्ष श्रमिक अभाव हुँदा विदेशी श्रमिक राख्न पाउने व्यवस्थाअनुसार साउनदेखि फागुनसम्म सो संख्याका विदेशीलाई श्रम स्वीकृति दिइएको हो ।

यो संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने गैरनेपाली नागरिक सात सय १० र नवीकरण गर्नेको संख्या एक हजार तीन सय ३१ रहेको छ । गत वर्षको यही अवधि अर्थात् (साउन–वैशाख) मा नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्या सात ४३ र नवीकरण गर्नेको संख्या एक हजार एक सय १९ थियो । यो संख्या गत आवको तुलनामा चालू आव फागुनसम्म एक सय ४१ जनाले बढी रहेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले आर्थिक वर्षको सुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पछि क्रमश: बढ्दै गएको बताए । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या स्थिर रहेको देखिन्छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरिए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत यहाँ आउने गरेको पाइन्छ ।

यसले दक्ष नेपाली श्रमिकले स्वदेशमै रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिकसमेत नेपालमा प्रवेश गरी काम गर्ने प्रवृत्तिले अर्बौं रुपैयाँ विदेशिने गरेको छ । कतिपय विदेशी परियोजनाले नेपाली श्रमिकलाई मात्र कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन । नेपालका श्रमिकलाई प्राथमिकता दिई नेपाली श्रम बजारमा उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रम स्वीकृति दिनुपर्ने विज्ञको सुझाव छ ।

नेपालमा उपलब्ध हुन नसक्ने दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय/विभागको सिफारिस एवं गृह मन्त्रालयको सहमतिको आधारमा श्रम स्वीकृति प्रक्रिया मिलाउन नीतिगत सुधार आवश्यक छ । रोजगार विभागले नेपालमा काम गर्ने विदेशीलाई अधिकतम ६ वर्षसम्म मात्र नवीकरण हुने जनाएको छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रम स्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम छ ।

विदेशबाट काम गर्न आउने विदेशी नागरिकका लागि नेपालमा काम गर्न दुई/तीन वटा प्रावधान छन् । त्यसमध्ये एउटा, कुनै ठूला प्रोजेक्ट सञ्चालन गर्न नेपाल सरकारसँग सम्झौता हुँदा नै कामदार विदेशी राख्ने भन्ने निर्धारण गरिएको हुन्छ । दोस्रो, माग गर्दा आवश्यक परे जनशक्ति नेपालमा नपाइए त्यस्तो अवस्थामा विदेशी राख्न पाइने विभागले जनाएको छ ।

यसैगरी तेस्रोमा स्वयंसेवाका रुपमा पनि नेपालमा विदेशीले काम गर्न पाउने प्रावधान छ । हालसम्मको तथ्यांकमा वार्षिक दुई हजार पाँच सय हाराहारी विदेशीले श्रम स्वीकृति लिने गरेको देखिन्छ । गत आवको तथ्यांकअनसार दुई हजार ६ विदेशीले नेपालमा काम गर्न सरकारबाट अनुमति लिएका थिए ।

यद्यपि, यो प्रावधान भारतीय श्रमिकका हकमा लागू हुने गरेको छैन । विभागका अनुसार भारतबाहेक अन्य देशबाट आउने कामदारले श्रम स्वीकृति लिनुपर्छ । नेपालमा आउने भारतीय श्रमिकजस्तै नेपालबाट पनि उता गएर काम गर्नेको संख्या धेरै छ । भारतका लागि श्रम स्वीकृति बहस हुँदा १९५० को सन्धिको कुरा उठ्ने गरेका कारण कडाइ नगरिएको विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्