अटोमोबाइल व्यवसायको विकासमा जोड

विराटनगर– अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र प्रवर्द्धन गर्न व्यवसायीहरूले सरकारसँग ठोस नीतिगत पहलको माग गरेका छन् । शनिबार विराटनगरमा आयोजित मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनको उद्घाटन समारोहमा व्यवसायीहरूले उक्त कुरमा जोड दिएका हुन् ।
उनीहरूले अटो व्यवसायसँग जोडिएका संरचनागत समस्याको समाधानका लागि सरकार र निजी क्षेत्रबीच समन्वय अपरिहार्य रहेको धारणा राखेका थिए । एसोसिएसनका अध्यक्ष संजयकुमार श्रेष्ठले सडकको अवस्था, बेमौसमी वर्षा, पेट्रोलियम आपूर्तिको अनिश्चितता र प्रशासनिक झन्झटले व्यवसाय प्रभावित भइरहेको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रमा सुधारको माग गरे ।
श्रेष्ठले भन्सार समस्या, रोड परमिट, ट्राफिक प्रणाली, स्टिकर अनिवार्यता जस्ता प्रशासनिक कार्यलाई अनलाइन प्रणालीमार्फत सहज बनाउनुपर्नेमा जोड दिए । साथै, फ्याँकिएका वा निष्क्रिय सवारीसाधन पुन: सञ्चालनमा आउने क्रम रोक्न स्टिकर प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरे ।
उनका अनुसार सर्भिसिङ, मर्मत तथा ड्राइभिङ तालिममार्फत दक्ष जनशक्ति उत्पादन भइरहेको भए पनि व्यवहारमा अझै दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले मर्मतसम्भार क्षेत्रको पूर्वाधार विस्तारमा सरकारको ध्यान जानुपर्ने धारणा राखे । श्रेष्ठले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न नीति निर्माण, कर छुट, चार्जिङ स्टेसनको विकास तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताए ।
उनका अनुसार विद्युतीय सवारीले वातावरणमैत्री यातायातसँगै व्यापार घाटा न्यूनीकरणमा पनि भूमिका खेल्नेछ । भन्सार कार्यालय विराटनगरमा पूर्वाधारको अभावले सेवा प्रवाह प्रभावित भइरहेको उल्लेख गर्दै उनले आन्तरिक राजस्व कार्यालय तथा भन्सार विभागसँग समन्वय गरी सवारीसाधन आयात प्रक्रियालाई पारदर्शी र सहज बनाउन आग्रह गरे ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले उद्घाटन गरेको उक्त कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, सिएनआइका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेलगायतले उद्योग व्यवसायीमैत्री नीति बनाउन आग्रह गरेका थिए । उनीहरूले अटोमोबाइल व्यवसायको दिगो विकासका लागि स्पष्ट नीति, नियमन, पूर्वाधार तथा सरकारी साझेदारीको खाँचो रहेको धारणा राखे ।