Logo

सुदूरपश्चिमको राजस्व अझै ऋणात्मक

धनगढी– सुदूरपश्चिमको राजस्व सन्तुलन सुधारोन्मुख भए पनि अझै ऋणात्मक नै छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत गर्दै राजस्व र बजेट सन्तुलनमा सुधार देखिए पनि राजस्व सन्तुलन ऋणात्मक रहेको जनाएका हुन् ।

उनले बजेट सन्तुलन कुल गार्हस्थ्य उत्पादनको तुलनामा १.०७ प्रतिशतले धनात्मक र राजस्व सन्तुलन १.६४ प्रतिशतले ऋणात्मक रहको बताए । अघिल्लो आर्थिक वर्षमा यो अनुपात क्रमश: १.१९ प्रतिशत धनात्मक र १.७९ प्रतिशत ऋणात्मक थियो । आव २०८०/८१ को चैत मसान्तसम्मको प्रदेशको कुल आय १९ अर्ब ६१ करोड ११ लाख रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ०.८४ प्रतिशतले वृद्धि भई कुल आय १९ अर्ब ७७ करोड ६१ लाख भएको छ ।

सो अवधिमा गत वर्ष प्रदेशको कुल खर्च ९ अर्ब १३ करोड २० लाख भएकोमा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु खर्चमा १०.२ प्रतिशतले वृद्धि र पुँजीगत खर्चमा १६.७ प्रतिशतको गिरावटले कुल खर्चमा ३.७ प्रतिशतले संकुचन आएको छ । यस वर्षको सो अवधिमा कुल खर्च ८ अर्ब ७० करोड ५१ लाख भएको आर्थिक मामिलामन्त्री थापाले बताए । गत वर्षको चैत मसान्तको तुलनामा कर राजस्वतर्फ १४.२ प्रतिशतले र गैरकर राजस्वतर्फ २५.७ प्रतिशतले वृद्धि हुन गई कुल प्रादेशिक आन्तरिक राजस्व १९ प्रतिशतले बढ्न गएको उनले बताए ।

‘सार्वजनिक वित्त चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रदेशको सवारीसाधन कर र घरजग्गा रजिष्ट्रेशन शुल्क संकलनमा देखिएको सुधारले कर राजस्व बढ्न गएको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ,‘यातायात क्षेत्रको आम्दानी र सवारी चालक अनुमति पत्र तथा ब्लुबुक नवीकरणतर्फको आम्दानीमा केही सुधार देखिएको हुँदा गैरकर राजस्वमा समेत सुधार देखिएको छ । बाँडफाँट भई प्राप्त हुने राजस्वमा सुधार देखिएको छ भने संघीय अनुदान प्राप्तिमा गिरावट देखिएको छ । प्रादेशिक कुल आयमा सामान्य वृद्धि देखिएको छ । चालु खर्च बढ्दो क्रममा रहेको छ भने पुँजीगत खर्च घट्न गई कुल खर्चसमेत घट्न गएको छ । बजेट सन्तुलन अत्यधिक धनात्मक रहेको छ भने राजस्व सन्तुलन ऋणात्मक नै रहेको छ ।’

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सुदूरपश्चिमको कुल आय र कुल खर्च घट्दो क्रममा छ । ‘आन्तरिक राजस्वतर्फ केही स्थायीत्व देखिए पनि कुल गार्हस्थ्य उत्पादनमा योगदान सानो छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘यस अवधिमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा प्रादेशिक आय ५.६२ प्रतिशत र खर्च ४.५५ प्रतिशत छ । संघीय अनुदान र राजस्व प्राप्तिको अनुपातसमेत घट्दो क्रममा छ । बजेट सन्तुलन घनात्मक देखिएता पनि कमजोर खर्च गर्ने सक्ने क्षमतालाई संकेत गरेको छ ।’

आव २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको कुल खर्च २३.१ प्रतिशत घट्न गई १८ अर्ब ५१ करोड ३६ लाख पुगेको छ । सोही अवधिमा चालु खर्चमा ३.६ प्रतिशत र पुँजीगत खर्च ३३.२ प्रतिशतले घटेको मन्त्री थापाले बताए । उनले चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल खर्च ३.७ प्रतिशत घटी ८ अर्ब ७९ करोड ५१ लाख भएको, चालु खर्चमा १०.२ प्रतिशतले वृद्धि भएको र पुँजीगत खर्च १६.७ प्रतिशतले घटेको बताए ।

प्रतिक्रिया दिनुहोस्