सेयर बजारमा निरन्तर गिरावट, अलमलमा लगानीकर्ता

काठमाडौं–(जेठ ६–२८सम्म) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २२.०८ अंकले गिरावट आउँदा सेयर बजार पुँजीकरण ३२ अर्ब २३ करोड १० लाख रुपैयाँले घटेको छ । कारोबार रकममा तीव्र उतारचढाव देखिएको यो अवधिमा लगानीकर्ताको सेयर मूल्य ३२ अर्ब बढीले घटेको हो ।
जेठ ६ मा नेप्से परिसूचक २६७७.४६ बिन्दु र कुल बजार पुँजीकरण ४४ खर्ब ५५ अर्ब २६ करोड ८२ लाख रुपैयाँ रहेकामा जेठ २८ मा नेप्से परिसूचक २६५५.३८ बिन्दु र कुल बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७२ लाख रुपैयाँमा झरेको छ । कडा नीति ल्याएर सेयर बजारलाई प्रभाव पारेको भन्दै तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको अवकाशमा दीपावली गर्ने लगानीकर्ताले ‘बजारमैत्री’ भनिएका डा. विश्व पौडेल गभर्नर भएको अवस्थामा बजार घट्नुको कारण अहिलेसम्म फेला पार्न सकेका छैनन् ।
नीतिगत रुपमा लगानीकर्ताका अधिकांश माग सम्बोधन भइसकेका छ । गभर्नर पौडेल आइसकेपछि सेयर धितो कर्जामा कायम १२५ प्रतिशतको जोखिम भारलाई घटाएर १०० प्रतिशत कायम गरिएको छ । यसबाहेक बैंकको ब्याजदर न्यून बिन्दुमा झरेको छ भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त छ । बैंकहरूले सेयर धितो कर्जा विस्तार बढाइरहे पनि बजार बढ्नुको साटो निरन्तर घटिरहेको छ ।
कतिपयले गभर्नर आएपछि पनि सूचक नबढ्नु सेयर बजारको पुरानै रोग भएको उल्लेख गरेका छन् । अहिले बजार घट्नुको मुख्य कारण ‘पुरानै रोग’ बल्झिनु भएको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका कोषाध्यक्ष मदन पौडेल बताउँछन् । उनी विगतमा केही घटना घट्नुपूर्व घट्दै छ भन्ने हल्लाका कारण सेयर बजार बढ्ने र पछि घटना भइसकेपछि घट्ने समस्या रहेकाले अहिले पुन: दोहोरिएको बताउँछन् ।
उनी भन्छन्, ‘गभर्नर पौडेल आउँदै भन्ने समाचारले माहोल तात्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । यो पुरानै रोग हो । विगतमा पनि कुनै परिवर्तन आउन लाग्दा बढ्ने र पछि घट्ने अवस्था थियो ।’ सेयर बजार घट्नुमा यति मात्र कारण छैन । पछिल्लो समय ‘ग्रुप ट्रेडिङ’ मौलाउँदै गएको छ । सोही पनि समस्या भएको सरोकारवाला बताउँछन् ।
‘ग्रुपमै कारोबार गर्ने कारोबारी सक्रिय छन् । उनीहरूअनुसार बजार चल्ने गरेको छ । फन्डामेन्टलले काम नगरेको लामो समय भयो,’ सेयर बजारका एक जानकारले भने । नेपाल इन्भेस्टर्स फोरम अध्यक्ष तुलसीराम ढकाल सेयर बजार थप अगाडि बढ्न नसक्नुमा पछिल्लो समय बहस भइरहेको बाफिया संशोधनको विषय पनि मुख्य कारण रहेको ठान्छन् ।
उनले प्रतिनिधिसभाअन्तर्गतको लेखासमिति बैठकको छलफलमा बैंकर र व्यवसायी छुट्याउने बहस चलिरहेकाले लगानीकर्ता दोधारमा परेको सुनाए । ‘गभर्नर पौडेलले पनि बैंकर र बाफिया छट्याउनुपर्ने तर्क पेस गरेकाले अहिले लगानीकर्ता केही हदसम्म सशंकित भएका हुन्,’ उनले भने । यस्तै, अहिले असार मसान्तको दबाब र मौद्रिक नीतिको पूर्वसन्ध्या भएका कारण पनि सेयर बजार बढ्न नसकेको जानकारको धारणा छ । अब साउन पहिलो साता बजारले केही गति लिने र त्यसपछि मौद्रिक नीतिपछि बजार लयमा आउने उनीहरूको बुझाइ छ ।
तीन महिनापछि कारोबार रकम १२ अर्ब नाघ्यो
यो साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भयो । गत साता २६४०.९६ बिन्दुमा बन्द भएको नेप्स यस साता ०.५५ प्रतिशत अर्थात् १४.४२ अंक बढेर २६५५.३८ विन्दुमा पुगेको छ । यो साता पाँच कारोबार दिन बजार खुलेको थियो । यीमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो । नेप्सेसँगै यो साता कारोबार रकम पनि बढ्यो ।
गत साता दैनिक औषतमा ७ अर्ब २६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साताको अन्तिम दिन बिहीबार साढे १२ अर्ब बढीको सेयर कारोबार भएको छ । दैनिक औषतमा १० अर्ब ८ करोडको सेयर खरिद बिक्री भए । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९९ अब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता २४ अब रुपैयाँ बढेर ४४ खब २३ अर्ब रुपैयाँ पुगेको छ ।
यो साता १३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्यो भने ७ उपसमूहको परिसूचक घट्यो । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत बढ्यो । गत साता ३४५०.८३ बिन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यो साता १९०.३१ अंक बढेर ३६४१.१४ बिन्दुमा पुगेको छ । व्यापार उपसमूहको परिसूचक यो साता सर्वाधिक १.६३ प्रतिशत घटेको छ । गत साता ४२५४.९१ बिन्दुमा बन्द भएको उपसमूहको परिसूचक यो साता ६९.२४ अंक घटेर ४१८५.६७ बिन्दुमा झरेको छ ।
अंकका आधारमा यो साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १५०.०५ अंक घटेको छ । यो साता पियोर इनर्जीको सेयर मूल्य सर्वाधिक ६०.९८ प्रतिशत बढेको छ । गत साता ५१२ रुपैयाँ ३० पैसा रहेको कम्पनीको अन्तिम सेयर मूल्य यो साता ८२४ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, यो साता बुटवल पावर कम्पनीको सेयर मूल्य २१ प्रतिशत बढेको छ भने श्री इन्भेष्टेमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य करिब २१ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य यो साता सर्वाधिक १७.२३ प्रतिशतले घटेको छ ।