सुपर खुदीले मर्स्याङ्दी–९ का स्थानीयलाई संस्थापक सेयर दिने

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधिन सुपर खुदी जलविद्युत आयोजनाले सोही गाउँपालिका–९ का स्थानीयलाई पनि संस्थापक सेयर दिने भएको छ । विभिन्न मागसहित आयोजनाविरुद्ध आन्दोलन गरेका स्थानीयको माग सम्बोधन गर्दै आयोजनाले संस्थापक सेयर दिने भएको हो ।
गाउँपालिकाको वडा–२ र ३ बीचमा रहेको खुदी खोलामा निर्माणाधिन सुपर खुदी हाइड्रोको प्रभावित क्षेत्रमा वडा–२ र ३ लाई मात्र कायम गरेपछि वडा–९ का स्थानीयले आन्दोलन गर्दै आएका थिए । अन्तत: वडा अध्यक्षसहित आन्दोलन समिति र आयोजना पक्षबीच स्थानीयका माग आयोजनाले सम्बोधन गर्ने र अब स्थानीयले आन्दोलन नगर्ने गरी सहमति भएको मर्स्याङ्दी–९ का वडा अध्यक्ष हरिशचन्द्र थापाले बताए ।
सहमति अनुसार आयोजनाले प्रक्रिया पुर्याएर मस्र्याङदी–९ का स्थानीयलाई तीन करोड बराबरको संस्थापक सेयर उपलब्ध गराउने, आयोजनाको छरछिमेक कार्यक्रमअन्तर्गत सो वडालाई पनि समेट्ने र बजेट उपलब्ध गराउने सहमति भएको छ । त्यसैगरी पुन: वातावरणीय प्रभाव मूल्यांकनलाई प्राथमिकतामा नराख्ने, स्थानीयका तर्फबाट भएका विरोध र आन्दोलनका कार्यक्रमलाई स्थगित गर्ने सहमति भएको छ ।
खुदी खोलामा निर्माणाधिन २६ मेगावाटको माथिल्लो खुदी खोला जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको क्रममा दुईवटा वडालाई मात्रै समेटेपछि विगत केही महिनादेखिनै स्थानीयले विरोध गर्दै आएका थिए । आन्दोलित स्थानीयले आफ्नो वडा व्यवहारिक रुपमै जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्रमा पर्ने भन्दै सोही अनुसार कायम गर्न तथा पुन: वातावरणीय प्रभाव मूल्यांकन गर्न माग गर्दै जलस्रोत तथा उर्जा मन्त्रालयमा अनुरोधसमेत गरेका थिए ।
तर संस्थापक सेयर र प्रभावित क्षेत्रमा लगानी हुने छरछिमेक कार्यक्रम आफ्नो वडामा आउने भएपछि पुन: वातावरणीय मूल्यांकन गर्नुपर्ने माग नराखिएको आन्दोलनरत पक्षले जनाएका छन् । सो वडालाई प्रभावित क्षेत्र कायम गर्न माग गर्दै गत माघमा भएको भेलाले स्थानीय रामबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय समन्वय समिति समेत गठन गरेको थियो ।