Logo

देउराली–कुरी सडक १३ किलोमिटर कालोपत्रे र ढलान

दोलखा– धार्मिक गन्तव्यका रूपमा परिचित प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिर पुग्न अब सहज हुने भएको छ । कालिञ्चोक प्रवेश गर्ने मुख्य मार्ग देउराली–कुरी सडकखण्डको देउराली बजारदेखि ओढारेसम्मको पाँच किलोमिटर सडकमा कालोपत्रे सकिएसँगै अब यात्रा सहज भएको छ ।

चरिकोटस्थित पूर्वाधार विकास कार्यालयले व्यवस्थापन गरेको उक्त खण्डमा निर्माण कम्पनी याक्थुमहाङ–दाप्चा–सिमपानी जेभीले कालोपत्रे र ढलान पूरा गरेको छ । लामो समयदेखि अलपत्र ठेक्का केही दिनअघि सकिएको छ । अब सडकमा रङरोगन र ट्राफिक चिन्ह राख्ने काम सुरु भएको छ । पूर्वाधार विकास कार्यालय चरिकोटका डिभिजन इञ्जिनियर हरिप्रसाद ओझाले बताए ।

सडक २ वर्षमा पूरा गर्ने गरी २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता भएको थियो । तर ढिलासुस्ती र आर्थिक मन्दीका कारण थप २ वर्ष लगाएर भए पनि सडक पूरा भएको छ । सडकको २३ करोड ८९ लाख ७५ हजार १०९ लाख अनुमान रहेकोमा निर्माण व्यवसायीले १४ करोड ४८ लाख २२ हजार ७८६ मा सम्झौता गरेका थिए । सडकको टेवा पर्खाल, नाली निर्माण ३ किलोमिटर प्रिमिक्स कार्पेट कालोपत्रे र २ किलोमिटर ढलान भएको डिभिजन प्रमुख ओझाले बताए ।

यसअघि पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले दोलखासमेत हेर्ने हुँदा ठेक्का लगाउने र सम्झौता उतैबाट भएको हो । चरिकोटमै कार्यालय खुलेपछि सिन्धुपाल्चोकबाट हस्तान्तरण भएको रुग्न ठेक्कामध्ये यो पनि एक हो । निर्माण व्यवसायिका तर्फबाट विकास खड्का साइड इञ्चार्ज भएपछि अलपत्र रहेको काम पूरा गरेका हुन् ।

साइड इन्चार्ज खड्काका अनुसार पाँच किलोमिटर सडकमध्ये दुई किलोमिटर दूरीमा सडक ढलान र कालोपत्रे सबै पूरा भएकाले अब सामान्य मर्मत सम्हार र रङरोगन, ट्राफिक चिन्ह राख्नेलागयतका काम सुरु भएको छ । यो पनि असार पहिलो हप्ताभित्र पूरा हुने उनले दाबी गरे । सडक निर्माण पूरा भएपछि कालिञ्चोक जाने आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई सहज हुने भएको छ । देउराली–कुरी खण्डमा हिउँदमा हिमपात हुने भएपछि कार्यालयले भिरालो र सिमसार ठाउँमा सडकमा ढलान गरेको छ ।

प्रमुख इन्जिनियर ओझाका अनुसार भिरालो सडकमा हिमपात हुने र कालोपत्रे गर्दा सवारीसाधन चिप्लिने हुँदा त्यस्ता ठाउँमा ढलान गरिएको हो । एक वर्ष अघिमात्रै सोही सडकको चरिकोट–देउराली ६ किलोमिटर कालोपत्रे सम्पन्न गरेको थियो । मकैबारीबाट देउराली ३ किलोमिटर सडक पनि कालोपत्रे गरेको छ । देउरालीदेखि कुरीसम्मको दुरीमा यसअघि नै २ किलोमिटर ढलान गरिसकेको छ ।

चरिकोटदेखि कुरीसम्मको १७ किलोमिटर सडकको अप्ठ्यारो रहेको गैरी र फलामेगौडामा पनि सडक सहज बनाएको छ । अब करिब ४ किलोमिटर सडक ढलान गर्दा कुरीसम्मको यात्रा सहज हुने छ । कार्यालयले गैरी–कुरी खण्डमा ढलान गर्न ठेक्का आह्वान गरिसकेको छ । असारभित्रै ठेक्का सम्झौता हुने बताइएको छ । ६ करोडको ठेक्का आह्वान गरेकोमा पूरै काम नभएपनि एक वर्षभित्र अप्ठ्यारो स्थानमा ढलान गरेर यात्रा सहज बनाउने उनले दाबी गरे ।

सडक निर्माण सम्पन्न भएपछि चरिकोटदेखि कालिञ्चोक एक घण्टामा नै आवत–जावत हुनेछ । कालिञ्चोक मन्दिरमा मुख्य–मुख्य चाडपर्व, हिउँदको समय र खासगरी हिमपात भएको बेला पर्यटकको घुइँचो लाग्ने गरेको छ । सडक ढलान र कालोपत्रे भएपछि साना सवारी पनि कुरी पुग्न थालेका छन् । कुरीका होटल व्यवसायी हरि ओलीले हिउँ पर्ने बेला मात्रै नभएर कालिञ्चोक बाह्रै महिना पर्यटकका लागि आकर्षण हुने बताए । वर्षात्को सिजनमा हरियाली र विभिन्न फूल र चौंरीसँगै रमाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्