Logo

कर्णालीमा काम भन्दा नामका मात्र बन्दै जलविद्युत आयोजना

वीरेन्द्रनगर– कर्णाली जलस्रोतको धनी प्रदेश भएपनि हालसम्म नतिजामुखी काम हुन सकेको छैन । भेरी र कर्णाली, नलगाड, जगदुल्ला, सानीभेरी जस्ता नदीहरु अहिले पनि प्रयोगबिहीन छन् । विद्युत उत्पादनका हिसाबले कर्णालीको क्षमता १८ हजार मेगावाट भएको बताइएपनि हालसम्म ठोस उपलब्धी हुन सकेको छैन ।

आर्थिक वर्ष २०७६/०७७ सम्म ८ मेगावाट जलविद्युत उत्पादन भएकोमा आर्थिक वर्ष २०८०/०८१ सम्म १६ मेगावाट मात्र उत्पादन थपिएको तथ्यांक छ । कर्णालीका अधिकांश नदी तथा खोलामा अध्ययन तथा डीपीआरमै समय खर्च भएको देखिन्छ । प्रदेश सरकारले डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा मात्र सेयर लगानी गरेको छ । कर्णालीको प्रथम पञ्चवर्षीय योजनामा स्थानीयलाई जलविद्युतको मालिक बनाउने गरी विद्युत विकास गर्ने भनिएपनि नतिजा भने शून्य जस्तै रहेको छ ।

दोस्रो योजनामा पनि यही विषय उच्च प्राथमिकतामा परेको भएपनि प्रदेश सरकारको आफ्नै हैसियातबाट केही हुने देखिँदैन । दोस्रो पञ्चवर्षीय योजनामा पाँच वर्षभित्र २५० मेगावाट विद्युत उत्त्पादन गर्ने लक्ष्य राखिएको छ । संघ तथा निजी क्षेत्रसँग सहकार्यमा उक्त काम हुने दोस्रो पञ्चवर्षीय योजनामा उल्लेख गरिएको छ । संघ सरकारले समेत कर्णालीमा विद्युतीकरण गर्ने पुराना योजना हटाएर नयाँ थपेको छ ।

भेरी करिडोरमा ४०० केभी प्रशारण लाइनको योजना संघ सरकारले यो पटक सूचीबाट हटाएको छ । सुर्खेतको मैनतडा र जाजरकोटको दानीपिपलमा ४०० केभी सबस्टेशन निर्माण र १५० किलोमिटर प्रशारण लाइन निर्माण गर्ने योजना अहिले ओझेलमा परेको छ । बरु कर्णाली करिडोरमा १३२ केभी प्रशारण लाइन निर्माण गर्ने नयाँ योजना अगाडी सारिएको छ । कोहलपुरदेखि सुर्खेतसम्म निर्माणाधिण १३२ केभी प्रशारण लाइनको काम अझै पुरा भएको छैन ।

नलगाड जलविद्युत आयोजना, ताक्सुगाड जलविद्युत आयोजना, भेरी ‘ए’ जस्ता ठूला आयोजना निर्माण गर्न सरकारले खासै चाँसो नदिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आरोप लगाए । माथिल्लो कर्णालीमा रहेका जलविद्युत आयोजनामा समेत सरकारले बजेट विनियोजन तथा प्राथमिकतामा नपारेको उनको आरोप छ । बरु कर्णालीका विद्युत नपुगेका ठाउँमा सौर्य उर्जामार्फत विद्युतीकरणको काम हुँदै आएको छ ।

प्रदेश सरकारले कर्णाली उज्यालो कार्यक्रममार्फत वर्षेनी बजेट विनियोजन गरेपनि नतिजामुखी हुन सकेको छैन । नलस्यागाड (नलगाड) जलाशययुक्त जलविद्युत (४१७ मेगावाट) आयोजना जाजरकोटस्थित नलगाड नदीमा अवस्थित छ । यस आयोजनाको निर्माण तथा सञ्चालक नलगाड हाइड्रोपावर कम्पनी रहेको छ । जुन विद्युत उत्पादन कम्पनीको सहायक कम्पनीका रुपमा सन् २०१७ मा स्थापित भएको थियो ।

हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पास भइसकेको छ । प्रस्तावित आयोजनाले नलगाड नगरपालिका–२, ५, ७, ८, र बारेकोट गाउँपालिका–१, २, ५, ६, ७, ८ र ९ लाई प्रभाव पार्नेछ । आयोजना निर्माण सम्पन्न हुन ७ वर्ष ५ महिना लाग्ने अनुमान गरिएको छ भने आयोजनाको अधिकृत पुँजी एक अर्ब र जारी पुँजी ५० करोड रहेको छ । सम्भाव्यता अध्ययनका लागि लाइसेन्स पाएका १९ जलविद्युत आयोजना कर्णालीमा छन् ।

भेरी नदी जलविद्युत आयोजना १४० मेगावाट सहरतारा डोल्पा, माथिल्लो भेरी जलविद्युत आयोजना ३१५ मेगावाट त्रिपुराकोट डोल्पा, ५७ मेगावाटको मुगु खोला जलविद्युत आयोजना मुगु, ७.१ मेगावाट ताक्सुगाड जलविद्युत आयोजना नलगाड जाजरकोट रहेका छन् । त्यसैगरी अपर रुरु बन्छुखोला जलविद्युत आयोजना १९.६ मेगावाट चिलखाया कालीकोट, ७० मेगावाटको चुवाखोला जलविद्युत आयोजना बरुगङ्गा हुम्ला, १३५ मेगावाटको नाम्ला खोला जलविद्युत आयोजना मुगु, ३०६ मेगावाटको अपर मुगु कर्णाली जलविद्युत आयोजनाले समेत सम्भाव्यता अध्ययनका लागि लाइसेन्स लिएका छन् ।

सम्भाव्यता अध्ययनकै लाइसेन्स प्राप्त गरेका अन्य आयोजनामा ८२.३ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना–ए, ४.७८ मेगावाटको सिस्नेखोला जलविद्युत आयोजना रुकुम पश्चिम, ३०.२ मेगावाट रतमाखोला जलविद्युत आयोजना रुकुम, ३० मेगावाटको सानीभेरी–३ मुसिकोट जलविद्युत आयोजना, ६.३ मेगावाट अपर टाक्सु जलविद्युत आयोजना जाजरकोट, १५२ मेगावाटको मुछुलिमी हुम्ला, ४० मेगावाटको पेल्माखोला जलविद्युत आयोजना रुकुम, ६० मेगावाटको अपर सानीभेरी जलविद्युत आयोजना रुकुम, जिल्ली चुमाइ जलविद्युत आयोजना १०० मेगावाट कालीकोट र ३.५ मेगावाटको फेदीखोला जलविद्युत आयोजना डोल्पा छन् ।

हाल कर्णालीमा निर्माणाधीन जलविद्युत आयोजनाको संख्या २१ वटा रहेको विद्युत विकास विभागले जनाएको छ । ती आयोजनामध्ये सबैभन्दा बढी साविकको कर्णालीमा छन् । सबैभन्दा कम सुर्खेतमा छ । सुर्खेतमा ३३ केभी प्रसारण लाइन विद्युत राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ भने १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्