एक साताभित्रमा चल्दैछ देशकै पहिलो ग्वार्को ओभरपास

काठमाडौं– ललितपुरको ग्वार्काेमा निर्माणाधीन देशकै पहिलो ओभरपास अर्काे सातादेखि सञ्चालनमा आउने भएको छ । ओभरपास कालोपत्र गर्ने काम पूरा भइसकेको छ । यो साताभित्र मार्किङ र अन्य तयारी पूरा गरेर असार दोश्रो साताबाट सर्वसाधारणका लागि खुला गर्ने सडक विभागको तयारी छ ।
सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले भने, ‘ओभरपासका मुख्य संरचना निर्माण कार्य पूरा भइसकेको छ । मध्य भागमा डिभाइडर राख्ने, रंगरोगन र ट्राफिक लाइट राख्ने लगायत फिनिसिङको काम केही दिनभित्रै पूरा हुन्छ ।’ सडक विभागका महानिर्देशक विजय जैशीले नेपालको पहिलो ओभरपास प्रयोग गर्न सर्वसाधारणले एक हप्तादेखि १० दिनमात्र पर्खनुपर्ने बताए ।
ओभरपास सञ्चालनमा आएसँगै चक्रपथमा सवारी चापका कारण भइरहेको ट्राफिक जाम घट्ने अपेक्षा गरिएको छ । सरकारले चक्रपथका अन्य ठाउँमा पनि ओभरपास निर्माणको तयारी गरिरहेको छ । सरकारले त्रिभुवन विमानस्थलदेखि रिङरोडमा सवारी चाप कम गर्न र यातायातमा सहजता ल्याउन ओभरपासको योजना अगाडि सारेको हो । यो ओभरपास सञ्चालनमा आएपछि लामो समयदेखि सर्वसाधारणले भोगिरहेको सास्ती हट्ने अपेक्षा छ । महानिर्देशक जैशीका अनुसार ओभरपास उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने तयारी छ । ‘तयारी भइरहेको छ तर मिति निश्चित भइसकेको छैन,’ उनले भने । उद्घाटनपछि सर्वसाधारणको लागि खुला गरिनेछ ।
भौतिक निर्माणको काम सम्पन्न भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको टोलीले शनिबार ओभरपासको स्थलगत निरीक्षण गरेको छ । त्यक्रममा मन्त्री दाहालले ओभरपास निर्माणको काम नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । ‘ओभरपास सञ्चालनमा आएपछि कोटेश्वर तथा ग्वार्को क्षेत्रको यातायात सञ्चालन सहज हुनेछ,’ उनले भने ।
तोकिएको समयभन्दा निकै ढिला गरी ओभरपासको काम सम्पन्न भएको हो । शुरुको सम्झौताअनुसार १२ फागुन २०८० मा निर्माण सम्पन्न हुनुपथ्र्यो । तर, विविध कारणले तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ पुस ८ सम्म म्याद थपियो । त्यो समयमा पनि निर्माण पूरा नहुने भएपछि २०८१ पुस ९ गतेबाट ‘लिक्युडिटी ड्यामेज’ बापत हर्जाना तिराएर चैतभित्र पूरा गर्ने गरी काम गराएको थियो । ठेक्का रकमको ०.०५ प्रतिशत हर्जाना तिराउने निर्णय भएर निर्माण कम्पनीले काम गरिरहेको थियो । तर, पुस १८ बाट काम रोकेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि समयमा निर्माण पूरा हुने शंका बढेको थियो । निर्माण कम्पनी २३ माघदेखि सम्पर्कमा आएर अहिलेसम्म काम गरिरहेको छ ।
कुल १७ करोड ६ लाख रुपैयाँमा आयोजना सम्पन्न गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद गएको २०८० फागुनको १२ गतेसम्म थियो । गएको आर्थिक वर्षभित्रै ओभरपासमा सवारीसाधन गुडाउने लक्ष्य सरकारको थियो । त्यो समयमा पूरा हुन नसकेपछि म्याद थप्दै काम भएको हो । अघिल्लो वर्ष ओभरपासको डिजाइनमा समस्या देखिएपछि पुनः डिजाइन गरेर निर्माण थालिनुका साथै ‘र्याम रिइन्स्टल’ गरिएको थियो ।
गत असोज दोस्रो साताको भारी वर्षाका कारण पनि आयोजना प्रभावित भएको थियो ।
ओभरपास बनाउनका लागि अहिले आठ लेनमध्ये चार लेन सडक बन्द गरिएको छ । सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । ओभरपास सञ्चालनमा आएपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।