Logo

बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु

काठमाडौं- शनिबार रातिदेखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु भएको छ । शनिबार राति १२ बजेपछि बंगलादेश विद्युत निर्यात हुने विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

‘नेपाल, भारत र बंगलादेशबीच भएको सहमतिअनुसार १५ जुन अर्थात् १ असारदेखि विद्युत निर्यात गरिन्छ । त्यसैअनुसार शनिबार राति १२ बजेपछि विद्युत निर्यात सुरु गर्दैछौं,’ उनले भने । नेपालले भारत हुँदै बंगलादेशमा बिजुली निर्यात गर्नेछ । यो वर्ष गत वर्षको तुलनामा धेरै परिमाणको विद्युत निर्यात हुनेछ ।
यसअघि १७ असोज २०८१ मा तीन देशबीच भएको सम्झौताअनुसार बर्खाका ५ महिना नेपालले भारत हुँदै बंगलादेश विद्युत बिक्री गर्नेछ । यसअनुसार प्रत्येक वर्ष अंग्रजी महिना १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बिक्री हुनेछ । यसअघि विद्युत खरिद गर्नको लागि बंगलादेशले प्रतितपत्र नखोलेका कारण निर्यात हुनेमा आशंका गरिएको भए पनि प्राधिकरणले त्यस्तो कुनै समस्या नरहेको जनाएको छ ।

यसअघि पहिलोपटक बंगलादेशलाई ३० कात्तिक २०८१ मा नेपालले ४० मेगावाट बिजुली निर्यात गरेको थियो । नेपालले प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा निर्यात गरेको बिजुलीको अझै बंगलादेशले भुक्तानी दिएको छैन । प्राधिकरण प्रवक्ता ढकालले ३० हजार ८० डलर रकम प्राप्त गर्न बाँकी रहेको बताए । प्राधिकरणका अनुसार बंगलादेशबाट प्राविधिक कारणले भुक्तानी प्राप्त हुन नसकेको हो । अघिल्लो वर्ष त्रिदेशीय सम्झौता भई बिजुली निर्यात गर्दासमेत प्रतितपत्र खोल्ने प्रक्रिया थालिएको थिएन । यसैकारण यो वर्ष पठाएको बिजुली र अघिल्लो वर्षको बाँकी समेत भुक्तानी गर्ने बंगलादेशले स्पष्ट गरिसकेको प्रवक्ता ढकालले जानकारी दिए । यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै परिमाणको विद्युत निर्यात हुनेछ । अघिल्लो वर्षको जस्तै यो वर्ष पनि भारतीय सहयोगमा निर्माण भएको २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामार्फत उत्पादित विद्युत बंगलादेश निर्यात गरिनेछ ।

निर्यातका लागि नेपाल र भारतबीच सञ्चालनमा आएको एकमात्र ४०० केभी अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरको प्रयोग गरिनेछ । मुजफ्फरपुरदेखि भारतीय प्रसारण लाइनमार्फत भारत र बंगलादेशबीच रहेको ४०० केभीको प्रसारण लाइनबाट बंगलादेशको प्रणालीमा नेपालको विद्युत पुग्नेछ । सम्झौताअनुसार नै नेपालभित्र भएको प्रसारणलाइन मार्फत हुने प्राविधिक चुहावट नेपालले व्यहोर्नेछ भने भारत र बंगलादेशमा हुने चुहावट बंगलादेशको जिम्मामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्