गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३औं वार्षिकोत्सव

काठमाडाैं- गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ७ वर्षदेखि बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३औं वार्षिकोत्सवको उपलक्ष्यमा समेत उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आइरहेकोे र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिइने संस्थाका सूचना अधिकारी तथा सहायक महाप्रबन्धक अर्चना प्रधानले बताइन् ।
संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै एटिएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवाहरु जस्ता आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।