पैंचोको नेसनल सेल्स समिट सम्पन्न

काठमाडौं– पैंचो पसल प्रालिले तीन दिवसीय नेसनल सेल्स समिट सम्पन्न गरेको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारासहित सुरु भएको नेसनल सेल्स समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवर्द्धन गर्ने रणनीति बनाएको पैंचो पसलले जानकारी दिएको हो ।
ग्रामीण उत्पादनलाई सहरसम्म पुर्याइरहेको पैंचोले नेपाली टिपिकल स्वादलाई सहरसम्म पुर्याएर बिक्री वितरण गरिरहेको छ । पैंचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भइरहेको नेपाली युवा पुस्तालाई रोक्न कृषिमा काम गर्नुपर्नेमा जोड दिए । नेपाली वस्तु प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढ्ने उनको भनाइ छ ।
‘देशमा उत्पादन र खपत बढ्नु राष्ट्रकै लागि ठूलो अवसर हो । पैंचोसँग एक लाख बढी किसान जोडिएर काम गरिरहेका छन् । किसानलाई व्यावसायिक खेती गर्न पैंचोले प्रोत्साहन दिँदै आएको छ’, पैंचो पसलका प्रमुख कार्यकारी अधिकृत केशव न्यौपाने भने । किसानको खेतीबारीदेखि बजारसम्म आएको ग्रामीण उत्पादन बजारको रोजाइमा पर्नुले नेपाली कृषि उपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्छ ।
बजार रोजाइमा पैंचोको उत्पादन बढ्दा सेल्स प्रतिनिधिले विदेशमा भन्दा नेपालमैै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको उनले दाबी गरे । पैंचोका उत्पादनले स्वदेश तथा विदेशी बजारको हिस्सा बढाउन सहयोग पुर्याउने उनको भनाइ छ । नेसनल सेल्स समिटमा आगामी आर्थिक वर्ष पैंचोसँग जोडिएका किसानको कृषिजन्य उत्पादन बढ्ने हुँदा पैंचो उत्पादनले व्यापार विस्तार रणनीतिमा लाग्नुपर्नेमा उनले जोड दिए ।
समिटमा चालू आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको रणनीति विषयमा देशभरमा बजार प्रतिनिधिले छलफल गरेका थिए । कार्यक्रममा पैंचो टिमले अहिलेसम्म गरेको काम उत्साहजनक भएको भन्दै थप क्रियाशील हुने प्रतिबद्धता जनाएको छ । पैंचोले ग्रामीण कृषकले उत्पादन गर्ने कृषि उपजबाट केचप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ ।