पुल बनाउन १७ करोड

महेन्द्रनगर– कञ्चनपुरको पाँच स्थानमा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र–२ का पाँच स्थानमा पक्की पुल निर्माणका लागि झण्डै साढे १७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको हो । केन्द्र सरकारबाट आएको उक्त बजेटले जिल्लाको बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका विभिन्न बस्तीलाई वर्षैभरि सुरक्षित र भरपर्दो आवागमनको सुविधा दिने अपेक्षा गरिएको छ ।
स्वीकृत बजेटअन्तर्गत बेदकोट नगरपालिका–३ र ५ का समादैजी र पोल्खरी गाउँलाई जोड्ने पुल निर्माणका लागि ३ करोड ४७ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने, बेदकोट नगरपालिका–७ र ६ स्थित चौखुट्टी–मुसेपानी क्षेत्रलाई जोड्ने पुल निर्माणका लागि समेत झण्डै साढे ३ करोड रुपैयाँ छुट्याइएको छ ।
कृष्णपुर नगरपालिका–८ र कैलालीको धनगढी उपमहानगरपालिका–१३ (मझगाउँ–श्रीलंका) बीचको नदीमा पक्की पुल निर्माण गर्न पनि साढे ३ करोड बराबरको बजेट विनियोजन गरिएको छ । त्यसैगरी कृष्णपुर नगरपालिका–१ मा रहेको भेटघाट शिविर र सुन्दरीफाँटा जोड्ने पक्की पुल निर्माणका लागि झण्डै साढे ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यता शुक्लाफाँटा नगरपालिका–१० मा पर्ने अमरपुर–सिसैया क्षेत्रको सुनवरा खोलामा पक्की पुल बनाउन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । उक्त क्षेत्रका स्थानीयका अनुसार पुल निर्माणले बर्खायाममा आवतजावतमा हुने कठिनाइ अन्त्य गर्नुका साथै कृषक, विद्यार्थी, बिरामी र व्यवसायी सबैले यसबाट प्रत्यक्ष रुपमा लाभ पाउने छन् ।
स्थानीयले सडक सञ्जालसँग राम्रोसँग जोडिएपछि स्थानीय उत्पादनको बजार पहुँच विस्तार हुनुका साथै शिक्षण संस्थामा पुग्न सहज हुने छ भने स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको बताए । पूर्वाधारले स्थानीय जीवनस्तर उकास्नुका साथै क्षेत्रीय समृद्धिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । उक्त निर्माण कार्य छिटो सुरु गरी सम्पन्न गरिदिन स्थानीयले आग्रह गरेका छन् ।
त्यसैगरी जिल्लामा निर्माणाधीन दुईवटा महत्त्वपूर्ण पुल बजेट अभावकै कारण अलपत्र परेका छन् । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल तथा बेदकोट नगरपालिका–७ मा रहेको मुसेपानी खोलाको पुल समयमै निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । दोदा नदीको पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौता अनुसार २०७५ साल पुससम्म काम सकिनुपर्ने भएपनि ९ वर्ष बितिसक्दा समेत पुल अझै निर्माणाधीन अवस्थामै छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले हालसम्म ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताए । ‘बजेटको अभावले काम रोकिएको छ’ उनले भने, ‘हामीले बाँकी कामका लागि १० करोड रुपैयाँ बजेट माग गरेका छौं ।’ त्यसैगरी मुसेपानी खोला पुलको ९२ प्रतिशत निर्माण कार्य सकिएपनि पहुँचमार्ग निर्माण नहुँदा पुल प्रयोगमै आउन सकेको छैन् ।
उक्त पुल निर्माणका लागि २०७४ जेठ १० गते १५ करोड ४३ लाख रुपैयाँमा राजेन्द्र लुम्बिनी जेभीलाई ठेक्का दिइएको थियो भने २०७७ जेठभित्र निर्माण सक्ने योजना भएपनि पाँच पटक म्याद थप गरेर २०८१ पुससम्म पुर्याइएको छ । सूचना अधिकारी जोशीका अनुसार बाँकी काम सम्पन्न गर्न थप ४ करोड रुपैयाँ आवश्यक छ । स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउने प्रयास भइरहे पनि बजेट नआउँदा निर्माण अलपत्र परेको हो । पुलहरू समयमा निर्माण नहुँदा स्थानीयलाई बर्खायाममा आवत जावतमा ठूलो समस्या हुँदै आएको छ ।