Logo

पुरानो सभाहल अलपत्र, करिब तीन करोडमा नयाँ बन्दै

जुम्ला– संघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले नयाँ सभाहलसहित जिल्ला समन्वय समितिको कार्यालय भवन निर्माण गर्ने भएको छ । पञ्चायत कालमा निर्माण भएको कार्यालय भवन जीर्ण हँदै गएको र जिल्लामा सभाहल नहुँदा नियमित हुने कार्यक्रसमेत प्रभावित भएपछि नयाँ सभासहितको भवन बनाउन थालिएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी सुविधायुक्त सभा हलको निर्माण कार्य सुरु भएको संघन सहरी तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्र खड्काले बताए ।

उनका अनुसार जिल्ला समन्वय समितिका पुराना संरचना भत्काएर नयाँ पूर्वाधार निर्माण गरिने छ । अहिले निर्माण व्यवसायीले पुराना भवन भत्काउन थालेको छ । उनले भने, ‘पाँच करोडको लागतमा ठेक्का आह्वान गरेपनि भ्याट बाहेक २ करोड ७८ लाख १० हजार ६६२ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सभाहलसहित भवन निर्माणको ठेक्का कौसिक सन्ध्या जेभी नेपालगन्जले पाएको छ । यही जेठ १९ गते सम्झौता भई काम अघि बढेको छ । दुई वर्षभित्र सभाहलसहित दुईतले कार्यालय भवन निर्माण हुने छ ।’

चालु आर्थिक वर्षको अन्तिमसम्ममा भवनको पहिलो तला निर्माण हुने छ । करिब चार सय जना अटाउने क्षमताको सभाहल निर्माण हुने छ । बहुवर्षिय आयोजनाका रुपमा सो भवन अहिले एक करोड ७८ लाख १० हजार लागतमा निर्माण भइरहेको छ भने यस वर्ष पहिलो तला कार्यालय भवन बन्ने र अर्को वर्ष दोस्रो तला निर्माण हुने छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जिल्लामा नियमित कार्यक्रम गर्ने स्थल नहुँदाको समस्यालाई मध्यनजर गर्दै सुविधायुक्त सभाहल निर्माण गर्न लागिएको बताए ।

उनले भने, ‘जिल्लाभरीका कार्यक्रम दैनिक रुपमा जिल्ला समन्वय समितिमा हुन्छन् । तर भवन पुरानो हुँदा निकै अव्यवस्थित थियो । सहभाहल नहुँदा कार्यक्रम सञ्चालनमा समस्या हुने गरेको छ । हाम्रो अनुरोधलाई स्वीकार गरेर सभाहलसहित कार्यालय भवन बन्ने भएको छ । समयमै काम सम्पन्न गर्न नियमित अनुगमन गरिने छ ।’ अलपत्र सभाहल कुल ६ करोड १९ लाख ४९ हजार ६०६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म तीन करोड ५९ लाख २५६ रुपैयाँ खर्च भइसकेको छ । तर भवन निर्माणको काम ५८ प्रतिशत मात्र भएको छ । लामो समयदेखि निर्माण अलपत्र हुँदा निर्माण सामग्रीमा क्षति पुग्न थालेर जीर्ण भएका छन् । जिल्ला विकास समितिले थालेको काम जिल्ला समन्वय समितिले भने अघि बढाउन सकेन । तत्कालीन जिल्ला विकास समिति जत्तिकै बजेट प्राप्त नहुने र विकासे कार्यालयहरु संघ, प्रदेश र स्थानीय तह केन्द्रीत भएकाले सभाहल निर्माण अलपत्र परेको हो ।

संघीयतापछि उक्त आयोजनाले कसले जिम्मा लिने भन्ने अन्यौलताले निर्माण अघि बढ्न नसकेको हो । सभाहलको आधा संरचना निर्माणाधीन अवस्थामा छन् । सिमेन्ट झरिसकेको छ । रडमा खिया लागेको छ । अलपत्र सभाहल अहिले लागुऔषध प्रयोगकर्ताको थलो बनेको छ । अलपत्र संरचना घेराबार गरेपनि नागरिकले आलोचनासमेत गरेका छन् ।

तत्कालीन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष २०७१/०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो । सम्झौताअनुसार सभाहल निर्माणको काम २०७४ भदौ ६ गते सकिनु पर्ने हो । २०७० सालमा जुम्लाबाट चार जना संविधानसभा सदस्य बनेका थिए । २०७९ को निर्वाचनपछि संघ प्रदेश गरी ६ जना सांसद जुम्लाकै छन् । तर कसैले पनि अलपत्र सभाहल अघि बढाउन चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्