तीन वर्षमा सक्नुपर्ने सडकको काम साढे पाँच वर्षमा ४५ प्रतिशत

दाङ– हुलाकी सडकअन्र्तगत तीन वर्षमा सक्नु पर्ने काम साढे पाँच वर्षमा पनि आधा हुन सकेको छैन । हुलाकी राजमार्ग अन्तर्गत देउखुरीको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७९ कात्तिकमा निर्माण सक्नुपर्ने सडक साढे पाँच वर्षसम्म आधा काम पनि भएको छैन ।
६५ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको उक्त सडकको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४० प्रतिशत मात्र भएको हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारी बताउँछन् । आयोजना प्रमुख भण्डारीका अनुसार निर्माण कम्पनीलाई थपिएको म्याद २०८२ असार मसान्तमा सकिँदैछ । सडक निर्माणको काम सकिने अवस्था नभएकाले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख भण्डारी बताउँछन् ।
हर्जनाबापत् निर्माण व्यवसायीले थप दुई सय दिनको समय पाउने भए पनि अहिलेकै अवस्थामा सडक बन्ने विश्वास हुने आधार नभएको बताउँछन् । निर्माण कम्पनीले काम नगर्ने तर ठेक्का अल्झाइरहने प्रवृति देखिएकाले ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको उनले बताए । ठेक्का तोड्नका लागि आयोजनाको तर्फबाट सबै प्रक्रिया पूरा गरेर विभाग हुँदै हुलाकी सडक निर्देशनालयमा फाइल पठाइसकेको भन्दै आयोजना प्रमुख भण्डारीले बताए ।
उनले भने भने, ‘निर्माण कम्पनीले अहिले पनि काम गर्छु भन्छ तर विश्वास गर्ने अवस्था छैन । दुई जना मान्छेलाई काममा लगाएर सडक बन्दैन ।’ निर्माण कम्पनीका प्रतिनिधिले काम गर्ने बताए पनि अहिलेसम्म गरेको काम, जनशक्ति र निर्माण कम्पनीले सडक निर्माणमा प्रयोग गरेका सामग्रीका कारण विश्वास गर्न नसकिने अवस्था भएकाले आयोजनाले ठेक्का तोड्ने निष्कर्षमा पुगेको उनको भनाइ छ । ठेक्का अन्त्य किन नगर्ने भन्ने सूचना निकालिएको र त्यसमा चित्त बुझ्दो स्पष्टीकरण नआएपछि कार्यालयबाट फाइल खडा गरेर ठेक्का अन्त्यको प्रक्रिया अघि बढेको बताए ।
समयमै सडक निर्माणको काम सक्न निर्माण व्यवसायीलाई काममा लगाउन अनेक प्रयत्न गरेको भन्दै आयोजना प्रमुख भण्डारीले पटक पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेको बताए । आयोजनाका अनुसार २० किलोमिटर सडकमध्ये अहिलेसम्म नौ किलोमिटर सडक मात्र कालोपत्रे गरेको, त्यो पनि दुई लेयर गर्नुपर्नेमा एक लेयर मात्रै गरिएको छ । गढवा बजारसम्म साढे चार किलोमिटर र कालाकाँटेतिर चार किलोमिटर पिच र बेस निर्माणको काम गर्न बाँकी छ ।
निर्माण व्यवसायीले सडक निर्माण गरेको चरम ढिलासुस्तीका कारण तीन वर्षमा सक्नुपर्ने काम अहिलेसम्म नसकिएको हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका इन्जिनियर श्रवणकुमार महतरा बताउँछन् । इन्जिनियर महतराले निर्माण कम्पनीले म्याद थप भए बाँकी काम गर्ने प्रतिबद्धता जनाएको बताउँछन् । निर्माण कम्पनीले भने सडक कालोपत्रे गर्नका लागि निर्माण सामग्री आइपुगेकाले अब ढिलाइ नहुने बताएको छ ।
सडक विस्तारसँगै कालोपत्रेको काम गरेपनि समयमा भुक्तानी नहुँदा त्यसको असर काममा परेको भन्दै निर्माण कम्पनीका प्रतिनिधि गोपाल पौडेलले म्याद थप भए काममा ढिलाइ नहुने बताए । सडक कालोपत्रे गर्नका लागि आवश्यक सामग्री ल्याइसकेको उनले बताए । उनले भने, ‘सडक कालोपत्रे गर्नका लागि आवश्यक सामग्री आइसकेको छ, अब काममा ढिलाइ हुँदैन ।’ मौसमले साथ दियो भने साउन–भदौ मै काम सकेर सडक हस्तान्तरण गर्ने गरी कामको तयारी भइरहेको उनले बताए ।
सडकको प्रारम्भिक चरणको काम लगभग गर्न बाँकी रामनगरदेखि गढवा बजारसम्मको पाँच किलोमिटर मात्र रहेको भन्दै उक्त सडकमा समय लाग्ने भएपनि अन्यत्र समय नलाग्ने उनी बताउँछन् । २०७६ मंसिर १ गते ६९ करोडको लागतमा सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी ठेक्का भएको गढवा–राजपुरको गंगदीसम्म सडकखण्डको २० किलोमिटर भने निर्माण सकिएको छ ।
उक्त सडकखण्ड एपेक्स कन्काई खड्का कृष्ण प्रालिले निर्माण गरेको थियो । तीन वर्षमा सक्नुपर्ने उक्त सडक एक पटक म्याद थपेर २०८० साउन १० गते काम सकिएको थियो । पूर्व–पश्चिम हुलाकी राजमार्ग विस्तार गर्ने लक्ष्य अनुसार काम अघि बढाइए पनि सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा जंगलसँगै बस्ती रहेकाले निर्माणमा ढिलाइ भएको बताए ।
हुलाकी सडक आयोजना प्रमुख भण्डारीका अनुसार राजपुरको गंगदीदेखि दाङको पश्चिम अन्तिम गाउँ हाडबाससम्मको २० किलोमिटर सडकका लागि प्रारम्भिक वातावरणीय परीक्षण गर्ने काम सकिएको छ । उक्त सडकखण्डका लागि बहुवर्षीय बजेट स्रोतको सुनिश्चितता भए दुई वर्षभित्रै निर्माण सक्ने गरी ठेक्का आह्वान गर्ने तयारीमा रहेको बताएका छन् ।
पुल निर्माणको काम धमाधम
हुलाकी सडकअन्तर्गत पुल निर्माणको काम भने फटाफट भएका छन् । सडक निर्माणमा ढिलाइ भइरहेको बेलामा हुलाकी सडक अन्तर्गत गढवा गाउँपालिका–१ को बौराहा खोला, पश्चिमपुरे खोला र चमारेसोता पुल ३६ करोड ३६ लाख रुपैयाँमा निर्माण भएका छन् । राजपुर गाउँपालिका–१ को गुरुङ खोला पुल र लमही नगरपालिका–४ र ६ जोड्ने सानो राप्ती पुल ३६ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको आयोजनाले जनाएको छ ।
यसैगरी खौराह खोला पुल छ करोड ४२ लाख, रसरी खोला पुल १२ करोड ५५ लाख, बगैसोता पुल दुई करोड ९२ लाख, पुतलीबजार खोला पुल तीन करोड ५२ लाख र बुकेसोता पुल तीन करोड ३७ लाख रुपैयाँमा निर्माण भएका छन् । गढवाको बौराहा खोलादेखि राजपुरको गंगदीसम्म निर्माण भइसकेको र निर्माणाधीन सडक तथा पुलहरूको लागत एक अर्ब ३४ करोड भन्दाबढी रहेको हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका इन्जिनियर महतरा बताउँछन् ।