Logo

फूलचौल्या पाटनमा १५ लाखको होमस्टे निर्माण

जुम्ला– फूलचौल्या पाटनमा प्रदेश सरकारको १५ लाख रुपैयाँको लगानीमा सुविधायुक्त होमस्टे निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको १५ लाख रुपैयाँको लागतमा फूलचौल्यामा होमस्टे निर्माण गरिएको हो ।

गिडिदह पुग्ने मुख्य प्रवेशद्धार फूलचौल्या पाटनमा सुविधायुक्त होमस्टे निर्माणले कर्णाली राजमार्गबाट पैदल यात्रा गरेर पहिलो रातको बास बस्न सहजता थपेको छ । कर्णाली प्रदेशको नयाँ पर्यटकीय गन्तव्य जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदहको पर्यटन प्रवद्र्वनका लागि पूर्वाधार निर्माणमा तीव्रता दिइएको हो ।

समुद्री सतहदेखि ३४ सय मिटर उचाइमा अवस्थित गुमनाम गिडिदह चर्चामा आएको दुई वर्षयता त्यस क्षेत्रमा पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिइएको तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । गाउँपालिकाको सक्रियतामा गिडिदह पुग्ने छोटो पदमार्ग, गिडिदहमा धर्मशाला, खानेपानी, शौचालय, ठाउँ–ठाउँमा अभिलेख तथा प्रचारप्रसार,सडकलगायतका पूर्वाधार निर्माण भएका छन् ।

रोकायाले भने,‘विगतमा फूलचौल्यामा बस्ने ठाउँ नहुँदा गएका पर्यटकहरू अलपत्र पर्थे । पाटनमा वर्षा भई रहने भएकोले ओत लाग्ने ठाउँसम्म थिएन् । बाटो नपुगेकोले पैदल हिडेर जाँदा पहिलो दिनको साँझ फूलचौल्या पुगिने भएकोले पर्यटकको सहजताका लागि व्यवस्थित होमस्टे निर्माण गरेका हौं ।’

भूईमा सिलिङ गरेको, चारैतिर घेराबार भएको, खानेपानी, शौचालय सबैको व्यवस्थापन गरिएको छ । गिडिदह जाने पर्यटकले अब बास बस्नको लागि कुनै चिन्ता लिनु नपर्ने उनको भनाइ छ । कोही कसैले होमस्टेको दुरुपयोग गर्ने, संरचनामा क्षति पुर्‍याउने कार्य गरेमा संलग्नलाई कारबाहीसमेत गरिने उनले बताए ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा पाटनमा अत्यधिक चिसो हुने भएकाले मौसम अनुकूलित होमस्टे निर्माण भएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले पछिल्लो समय गिडिदहमा समुह बनाएर घुम्न जानेहरूको सख्ंया बढ्दै गएको अवस्थामा होमस्टे निर्माण हुनले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।

उनले भने,‘पालिकाको अगुवाइमा मिडियाकर्मीको सहयोगले गुमनाम गिडिदह विश्वभर चर्चित बन्यो । त्यहाँसम्म पर्यटक पुर्‍याउन हामीलाई पूर्वाधारकै चिन्ता छ । आधारभूत पूर्वाधार बन्दै छ । अब फूलचौल्यासम्म पनि सडक बन्ने क्रम रहेको छ । गिडिदहमा पर्यटकको आगमन बढाउन हामी लागि परेका छौं ।’

निर्माण सम्पन्न भएको होमस्टेको संयुक्त अनुमगन गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरत बुढथापाले बताए । उनका अनुसार धर्मशालाले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै पर्यटकहरूलाई सुविधा सम्पन्न बसाइँमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अनुगमनका क्रममा निर्माण कार्य गुणस्तरीय र तोकिएको मापदण्डअनुसार भएको पाइएको डिभिजन वन अधिकृत बुढथापाले बताए । समुन्दी सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको तालको गहिराई ४२.३ मिटर, लम्बाइ एक हजार पाँच सय १० मिटर छ । ठूलो तालको लम्बाइ एक हजार ६० मिटर र चौडाइ तीन सय १० मिटर छ भने गिडिदहकै सानो तालको लम्बाइ चार सय ५० मिटर, चौडाइ दुई सय १० मिटर र गहिराइ २१.३ मिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्