Logo

पर्यटन प्रवर्द्धन र सुशासनतर्फ हल्दीबारी

कोसी प्रदेशका १४ जिल्लामध्ये झापाको १५ स्थानीय तहमध्येको हल्दीबारी गाउँपालिका एक हो । नेपालको संविधानबमोजिम नयाँ पुनर्संरचनामार्फत स्थानीय तहको निर्माण गर्दा साबिक जलथल, हल्दीबारी र गोलधाप गाविस मिलाएर हल्दीबारी गाउँपालिका बनाइएको पाइन्छ । यस गाउँपालिकाको पूर्वमा भद्रपुर नगरपालिका, दक्षिणमा कचनकवल गाउँपालिका, पश्चिममा बाह्रदशी गाउँपालिका र उत्तरमा बिर्तामोड नगरपालिका रहेका छन् । हल्दीबारी गाउँपालिका ऐतिहासिक महत्व बोकेको स्थान हो ।

यहाँको इतिहास साहित्यिक स्रोतहरूका आधारमा आजभन्दा करिब ३ हजार वर्ष अगाडिसम्म पुग्ने गर्छ । यसको सीमावर्ती नगर भद्रपुरमा पर्ने किच्चकबध स्थानमा महाभारतका पात्र किच्चकको बध भएको थियो भन्ने किंवदन्ती पाइन्छ । प्राप्त कथाअनुसार गुप्तवासमा विराट राजाको दरबारमा बसेका पाण्डवमध्येका भीमले किच्चकलाई यही स्थानमा बध गरेका थिए भनिन्छ । यसै नामका आधारमा यसलाई किच्चकबध भनिएको हो भन्ने विश्वास छ । यसैगरी यस भेगलाई विराटको साल किच्चकको राज्यभित्र पर्ने पनि बताइन्छ । विभिन्न किंवदन्ती तथा लोकपरम्पराका आधारमा किच्चक किराँती थिए ।

महाभारतको कथा र विभिन्न लोकोक्ति तथा किंवदन्तीका आधारमा हल्दीबारीलगायतको किच्चकबध क्षेत्रमा विस्तारै कालक्रमले गर्दा बस्ती विनाश भयो र निर्जन जंगलका रूपमा परिणत हुन पुग्यो । त्यसपछि पुनः बौद्ध कालमा यस भेगमा मानिसहरूको बस्ती बसेको अनुमान छ । शाक्यमुनि बुद्धको समयमा यस भेगमा थुप्रै बस्ती थिए । तसर्थ, बुद्ध बारम्बार यस भेगको भ्रमणमा आउने गरेको किंवदन्ती पाइन्छ । हल्दीबारीको केही दक्षिणतिर कर्ण–सुवर्ण नामको एउटा प्रख्यात सहर थियो, जहाँ हजारौँको संख्यामा बौद्ध भिक्षु–भिक्षुणी बस्थे भन्ने किंवदन्ती छ । साथै, पछि बुद्धको अवसानका साथमा यहाँको बस्ती कारणवश विनाश भयो र यो स्थान जंगलले ढाक्यो ।

प्राचीन कालमा झापाको हल्दीबारी लगायतको क्षेत्र पुण्ड्रवर्धनअन्तर्गत पनि रह्यो । पुण्ड्रवर्धनको सीमा पूर्वमा टिष्टा थियो भने यसको फैलावट उत्तरमा महाभारत पर्वत श्रेणी तथा दक्षिणमा गंगा नदी थियो । त्यसपछि यो भेग विभिन्न रजौटाको अधीनमा पर्दै विजयपुरको अधीनमा पर्‍यो । विजयपुरमा विजयनारायणले राज्य स्थापना गरेपछि यो भेग पनि विजयनारायणको अधीनमा परेको हो । यसैगरी विजयपुर पाल्पाली सेनको अधीनमा पर्दा हल्दीबारी भेग पनि सेनहरूको एउटा भूभाग बन्न पुग्यो । नेपाल एकीकरणपछि भने यो स्थान नेपालमा परेको पाइन्छ ।

नेपालको कुल भुभागको ०.०७९ प्रतिशत र झापाको ७.३१ प्रतिशत भूभाग हल्दीबारी गाउँपालिकाले ओगटेको छ । यसको कुल क्षेत्रफल ११७.३५ वर्गकिलोमिटर छ । हल्दीबारी गाउँपालिका समथर भूभाग भएको आवादी योग्य क्षेत्र हो । समुद्र सतहबाट १ सय फिट उचाइमा रहेको यस क्षेत्रमा वर्षाको समयमा अत्यधिक पानी जम्मा हुने गर्छ । पाँगो र बलौटे माटोको सम्मिश्रण रहेको यो क्षेत्र धानको उत्पादनका लागि खेतीयोग्य मानिन्छ । हल्दीबारी गाउँपालिकाको कुल क्षेत्रफलको ४ हजार ७ सय २० हेक्टर क्षेत्रफल वनजङ्गलले ढाकेको छ । जलथल चारकोसे वनले चिनिने जलथल वनको ८० प्रतिशत भूभाग यस गाउँपलिकामा पर्छ । जलथल वन जैविक विविधताले भरिपूर्ण छ । यस वनमा साल, करम, साज, बोट धँयरो, लटहर, सिमल, पिठारी, लाम्पाते, पड्के शिरीष, सिसौ, खयर, सिन्धुरे, कुम्भी, कालीकाठ, टाँटरी, बोहोरी, गलेनी अररी काँडा, मैदल, तिते, मधु थाकल, अनौ, लाली आदि प्रजातिका वनस्पति तथा बुट्यानहरू पाइन्छन् ।

त्यस्तै, जलथल जंगलमा ५ सयभन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति तथा ४० प्रजातिका उन्यू, १४ प्रजातिका सुनाखरी, २ सय ३० प्रजातिका चरा, २८ प्रजातिका स्तनधारी, ३२ प्रजातिका सरिसृप, १४ प्रजातिका उभयचर, ४३ प्रजातिका माछा, १ सय ५७ प्रजातिका पुतली, ४७ प्रजातिका जंगली फलफूल, १७ प्रजातिका सागपात, ३५ प्रजातिका जडीबुटी, ५ प्रजातिका कन्दमूल, ३५ प्रजातिका काठ, ६८ प्रजातिका डालेघाँस, धर्म–संस्कृतिसँग सम्बन्धित १४ प्रजाति, रेसादार ६ प्रजाति, च्याउ १२ प्रजातिलगायत विभिन्न प्रजातिका वनस्पति तथा जीवजन्तुहरूको बासस्थान रहेको छ । जलथल जंगलले नेपालको कुल भूभागको ०.१ प्रतिशत भूभाग ओगोटेको पाइन्छ । रुखको प्रजातीय विविधता र विशिष्टताका कारणले जलथललाई नेपालको रुखहरूको राजधानी भन्नुमा अयुक्ति नहोला ।
हल्दीबारी गाउँपालिकामा ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक, सीमान्तकृत सबै प्रकारको सम्मिश्रण रहेको छ । सबैका आआफ्ना रहनसहन, चाडपर्व, संस्कार र रीतिहरू छन् ।

गाउँपालिकाभित्र नेपालकै सीमान्तकृत जातीमध्ये मेचे जातिको बसोबास रहँदै आएको छ । यस क्षेत्रको आदिवासी रूपमा मेचे समुदाय रहेको छ । मेचे समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन र पर्वहरू रहेका छन् । यस गाउँपालिकामा मातृभाषाको रूपमा नेपाली, राजवंशी, लिम्बु, सन्थाली सतार, मेचे, तामाङ, मैथली, राई, नेवार, चाम्लिङ, मगर, गुरुङ, वंगाला, कलंग, वान्तवा, कुर्माली, थुलुङ, याक्खा, माझी, उराव, थारु आदि भाषाहरू बोलिने गरिन्छ । त्यस्तै, गाउँपालिकाभित्र हिन्दू, बौद्ध, इस्लाम, इसाई तथा अन्य धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ । यस गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलका रूपमा जलथल चारकोसे वन क्षेत्र, भेलागढी सिमसार क्षेत्र तथा भेलागढी चिल्ड्रेन पार्क, पाथिभरा पर्यटकीय क्षेत्र, धनुषपोखरी आदि रहेका छन् ।

प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण रहेको यो गाउँपालिका सुशासनतर्फ अग्रसर रहेको गाउँपालिकाको एक ज्वलन्त उदाहरण हो । ऐतिहासिक, पुरातात्िवक धरोहरका रूपमा रहेको धनुषपोखरीनजिक जग्गादानबाट झन्डै दुई बिघा जग्गामा करिब ४ करोड ५० लाखको लागतमा गाउँपालिकाको मध्यबिन्दु बनाएर वडा नं. ५ मा धनुष आकारमा निर्माण गरिएको गाउँपालिका भवन द्वार एक, सेवा अनेक नारासहित भूकम्प प्रतिरोधि, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा बालबालिकामैत्री बनेको छ ।

यस गाउँपालिकाले १–८ कक्षासम्मको स्थानीय पाठ्यक्रम ‘हाम्रो हल्दीबारी’ निर्माण गरी कार्यान्वयन गरेको छ । त्यस्तै, नेपालकै लोपोन्मुख जातिको सूचीमा पर्ने मेचे जातिको संरक्षण र प्रवद्र्धनका गर्ने उद्देश्यले कक्षा १ मा मेचे भाषामा ‘जङ्नी राउ’ पाठ्यपुस्तक निर्माण गरी अध्यापन गरिएको पाइन्छ । त्यस्तै शैक्षिक सुशासन र गुणस्तरीय शिक्षाका लागि प्रत्येक विद्यालयमा सिसी क्यामेरा जडान गरी सिसी क्यामेरा एप्लिकेसनसमेत तयार गरिएको छ, जसको मद्दतबाट विद्यार्थीका अभिभावक तथा सरोकारवालाहरूले मोबाइलको सहायताबाट गतिविधिहरू नियाल्न सक्छन् । यस गाउँपालिकामा ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क शिक्षा’ नारासहित कक्षा १२ सम्मको विद्यालय शिक्षा निःशुल्क गरिएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई मासिक १० हजार लिटर निःशुल्क खानेपानीको व्यवस्था साथै गरिब, विपन्न घरपरिवारमा निःशुल्क धारा जडान गरिएको पाइन्छ । गाउँपालिकाभित्रका १ सय २० भन्दा बढी काठे पुल तथा बाँसका पुल विस्थापन गरी स्ल्याब कल्भर्ट निर्माण गरिएको पाइन्छ ।

सुशासनतर्फ अग्रसर यस गाउँपालिकामा ६० भन्दा बढी ऐन, कानुन तथा कार्यविधिहरू तर्जुमा गरी लागू गरिएको पाइन्छ । त्यस्तै, संस्थागत विकासका लागि सूचना प्रविधिका क्षेत्रमा इन्टरनेटका माध्यमबाट सबै वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था, प्रहरी चौकीहरू जोडिएको छ । इन्टरनेट, इन्टरकम, सिसी क्यामेरा आदि डिजिटल माध्यमको प्रयोग गरी कर्मचारी तथा जनप्रतिनिधिहरूको क्षमता विकासका कार्यक्रमसमेत गरिएको पाइन्छ । छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहलाई यस गाउँपालिकाले मूल धारको रूपमा विकास गरेको पाइन्छ । पालिकाका अध्यक्षको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै अध्यक्ष स्वयम्ले मुस्कानसहितको कफीबाट सेवाग्राहीलाई स्वागत गरी सेवा प्रदान हुन्छ । पालिकाका अध्यक्ष एवं जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा पालिका परिवारको सकारात्मक सोचद्वारा सुशासन कायम गरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने एक उदाहरणका रूपमा हल्दीबारी गाउँपालिका हो भन्नुमा अयुक्ति नहोला ।

यहाँ रहेको जलथल चारकोसे वनलाई जैविक विविधता अध्ययन केन्द्र तथा वनस्पति विज्ञान खुल्ला प्रयोगशालाको रूपमा विकास गरी हल्दीबारी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन भित्याउन सकिने ठूलो सम्भावना रहेको छ । यहाँ रहेका अन्य विभिन्न पर्यटकीय क्षेत्र र विभिन्न लोपोन्मुख जातिको संस्कृतिलाई प्रवद्र्धन गर्न सके यहाँको पर्यटनलाई दिगो आयस्रोतको मुख्य आधारशिला बनाउन सकिन्छ । यस गाउँपालिकाका लागि पर्यटन गुरुयोजना तयार गरी व्यवस्थित कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्दै हल्दीबारी गाउँपालिकालगायत देशभरिका मानिसको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्