म्यादी प्रहरीका लागि दुई नम्बर प्रदेशमा सवा अर्ब खर्च

स्थानीय तह निर्वाचन २०७४ का लागि सुरक्षा सहयोगीका रूपमा भर्ना गरिएका म्यादी प्रहरीलाई २ नम्बर प्रदेशमा मात्रै झण्डै सवा अर्ब रुपैयाँ खर्च भएको छ । ०७३ चैत २५ गतेबाट ५५ दिनका लागि भर्ना भएका म्यादी प्रहरीहरूलाई असार २१ गतेबाट बिदा गर्दा २ नम्बर प्रदेशको आठ जिल्लामा मात्रै सवा अर्ब अनुमानित रकम तलब, भत्ता रासनस्वरूप वितरण गरिएको देखिन्छ ।
देशका ६ वटा प्रदेशमा खटिएका म्यादी प्रहरीहरूले चुनावी सुरक्षामा सहभागी भएर बिदा भएपनि २ नम्बर प्रदेशमा खटिनेहरूले चुनावी सुरक्षाको वास्तविक अनुभव लिन नपाई बिदा भएका छन् । दुई नम्बर प्रदेशमा आगामी असोज दुई गते निर्वाचन हुँदैछ ।
सेवा नगरी विदाई हुनुपर्दा भने उनीहरूले मन दुखाएका छन् । उनीहरूलाई प्रहरी जवानसरहको तलब, दैनिक रासन, पोशाक, बीमा लगायत सुविधा दिइएको थियो । सुरुमा ५५ दिनको तलब ५१ हजार, पोशाक भत्ता ७ हजार एकसय र रासन सुविधा दिने सरकारले निर्णय गरेको थियो ।
स्थानीय तह निर्वाचनका लागि पर्सा जिल्लामा मात्रै कुल एक हजार चार सय ८१ जना म्यादी प्रहरीलाई १० करोड ४९ लाख ४८ हजार एक सय तीन रुपैयाँ रकम वितरण गरेको प्रर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
उनका अनुसार एक हजार तीनसय ३७ जना पुरुष र एकसय ४४ जना महिलालाई ७० हजार ८ सय ६३ रुपैयाँको दरले रकम बाँडिएको हो । चैत २५ गतेदेखि असार २१ गतेसम्म (९० दिन) को सरकारले निर्णय गरेअनुसार प्रहरी जवान सरहको तलब र राशनसहितको रकम वितरण गरिएको हो ।
त्यसमा एकसय ४४ जना महिला प्रहरीलाई एक करोड दुई लाख चार हजार दुईसय ७२ रुपैयाँ र नौ करोड ४७ लाख ४३ हजार ८ सय ३१ रुपैयाँ पुरुष म्यादी प्रहरीलाई वितरण गरिएको छ ।
बारामा दुई हजार दुई सय जना म्यादी प्रहरी भर्ना भएकोमा त्यसमध्ये २५ जना बीचमै तालिम छोडेर भागेका र एकजनालाई फौजदारी मुद्दा लागेकोले असार २१ गते दुई हजार एक सय ७४ जनालाई विदाइ गरिएको छ ।
बाराका म्यादी प्रहरीहरूले पटक पटक गरी करिब ७५ हजार रुपैयाँ रकम पाएको म्यादी प्रहरीबाट विदाइ भएकी जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–४ की मञ्जु कार्कीले बताइन् । कार्कीले पाएको अनुपातमा हिसाब गर्दा बारामा म्यादी प्रहरीको लागि १६ करोड ३० लाख ५० हजार रुपैयाँ रकम खर्च भएको छ ।
यसैगरी रौतहटमा दुई हजार ७७ जना म्यादी प्रहरीमा भर्ना भएका थिए । भर्ना भएका मध्ये ४५ जना बीचमै भागेका र अन्तिममा दुई हजार ५५ जनालाई तलब, भत्तासहित विदाइ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन राजभण्डारीले बताए ।
सर्लाहीमा दुई हजार चार सय ४१ जना म्यादी भर्ना भएकोमा दुई हजार चार सय १० जना म्यादी प्रहरीले ९० दिन सेवा गरेर विदा भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले बताए ।
उनीहरूलाई प्रहरी जवानले सरह पाउने तलब, भत्ता र राशन गरी औसतमा करिब १७ करोड ११ लाख १० हजार रुपैयाँ रकम खर्च भएको देखिएको छ । त्यस्तै, महोत्तरीमा एक हजार नौ सय २३ जना म्यादीमा भर्ना भएका मध्ये एक हजार आठ सय ९९ जना पूरा ९० दिन खटेर बिदा भएको छ ।
उनीहरूलाई पनि सरकारले तोकेअनुसारको तलब, भत्ता र राशनसहितको पाउने रकम दिएर विदा गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । महोत्तरीमा औसतमा करिब १३ करोड ४८ लाख २९ हजार रुपैयाँ करिब खर्च भएको छ ।
त्यसैगरी धनुषामा म्यादी प्रहरीमा भर्ना भएका दुई हजार पाँच सय ५५ जनामध्ये दुई हजार चार सय ९१ जना म्यादी प्रहरीले ९० दिन खटेर विदा भएका छन् । बीचमा ६४ जना भागेको प्रहरी नायब उपरीक्षक मनोज यादवले बताए ।
विदा भएको संख्याको आधारमा औसतमा हिसाब गर्दा धनुषामा करिब १७ करोड ६८ लाख ६१ हजार खर्च भएको अनुमान छ । सिराहामा एक हजार नौसय ३२ म्यादी प्रहरी भर्ना भएकोमा अन्तिम विदाइमा एक हजार नौ सय आठ जनाले विदा लिएका थिए । यसरी सिराहामा १३ करोड ५४ लाख ६८ हजार म्यादी प्रहरीमा खर्च भएको छ ।
सप्तरीमा दुई हजार दुई सय ८९ जना म्यादी प्रहरीमा भर्ना भएकोमा दुई हजार दुई सय ६२ जनाले पूरा ९० दिन सेवा गरेका थिए । २७ जनाले बिचमै छाडेका थिए । सप्तरीमा १६ करोड ६ लाख दुई हजार रुपैयाँ अनुमानित रकम खर्च भएको देखिन्छ ।
वैशाख ३१ को पहिलो चरणको चुनावपछि १५ दिन र २० दिन गरी दुई पटक म्याद थप भएको थियो । सुरुमा ५५ दिनका लागि भर्ना गरिएको भएपनि थप भएको अवधि समेत गरी ९० दिनको सुविधा दिएर उनीहरूलाई विदा गरिएको छ ।