मेचीनगरमा ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा

झापा– झापाको मेचीनगर नगरपालिकामा ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा सुरु भएको छ । नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआरको विधिवत् सुरुवात गरेका हुन् । उनीहरुले आफ्नो जग्गाको एकीकृत सम्पत्ति कर तिरेर ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा शुभारम्भ गरेका थिए ।
प्रमुख बुढाथोकीले नगरपालिकामा ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा सुरु भएको बताउँदै अब सेवाग्राहीले कर तिर्न जाँदा नगद बोक्नुपर्ने झन्झटबाट मुक्ति पाएको जनाए । राजस्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपप्रमुख पोखरेलले ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा सुरु गरेर सेवाग्राहीलाई सहज बनाएको बताइन् । १५ वटै वडा कार्यालय र मुख्य कार्यालयमा करदाताले व्यवसायको कर तिर्न क्यूआर कोड स्क्यान गरेर सहजै नगद भुक्तानी गर्न सकिने उनको भनाइ छ ।
नगरपालिकाको राजस्वको सफ्टवेयर सफटेक् इन्फोसीसको माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत सेवाग्राहीले कर तिर्न पाउने राजस्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । ‘डाइनामिक क्यूआर’ कोडको सिस्टमको सुरुवातसँगै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा आगामी साउनदेखि लागू गर्ने योजना रहेको जनाए ।
गत चैत तेस्रो हप्तादेखि नै सुरु गर्ने भनिएको ‘डाइनामिक क्यूआर’ प्राविधिक कारणले ढिलो भएको उनको भनाइ छ । नगरपालिकाका सबै वडा कार्यालयमा क्यूआर कोड सेवा सुरु गर्नुअघि सबै वडाका वडा सचिव र राजस्वका कर्मचारीलाई प्रशिक्षण दिइएको राजस्व शाखाका प्रमुख पराजुलीले बताए । करदाताको आफ्नै डाइनामिक क्यूआर कोड नगरपालिकाले बनाएको बताउँदै उनले क्यूआरबाट कर तिर्दा अन्य कुनै शुल्क नलाग्ने जनाए ।
साउनदेखि करदाताले घरमै बसेर अनलाइनबाट सेवा लिन सक्ने बताउँदै उनले करदाताले आफ्नै क्यूआरबाट कर तिर्न, कति तिर्न बाँकी छ, कति कर तिर्यो, सबै जानकारी हेर्न मिल्ने सुविधासमेत उपलब्ध रहेको जनाए । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजस्व शाखाका प्रमुख पराजुली, सूचना प्रविधि अधिकृत अशोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाललगायतले मेचीनगरमा सुरु भएको ‘क्यूआर’ मार्फत कर भुक्तानी सेवा लिन सबैलाई आग्रह गरेका छन् ।