Logo

१० करोडको अग्र्यानिक खाद्यवस्तु बिक्री

जुम्ला– चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्वारा जुम्लामा सञ्चालित चन्दननाथ अग्र्यानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली बिक्री गरेको छ । सहकारीका सदस्यलाई कृषिमा आकर्षित गर्न बचतका रुपमा बाली खरिद गर्ने, बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले सञ्चालन गरिएको अग्र्यानिक मिनि मार्केटले करोडौंको रैथाने अन्नबाली बिक्री गरेको हो । २०६४ सालमा अग्र्यानिक जिल्ला घोषणापछि जुम्लाको उत्पादन रुचाउन थालिएको छ ।

घरमै थन्किने रैथाने उत्पादन मिनि मार्केट सञ्चालनपछि बजारीकरणमा टेवा पुगेको छ । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाले २०७४ फागुनदेखि मिनि मार्केटमार्फत रैथाने वस्तुको लेबलिङ र प्याकेजिङ गरेर बिक्री गर्न थालेको हो । २०७६ सालदेखि हालसम्म १० करोड बराबरको सिमी, चामल, ओखर, भटमास, स्याउका चाना, चिनु–कागुनो, गहत, जौको पिठोलगायतका वस्तु बिक्री तथा निर्यात भएको छ ।

जुम्ला आउने पर्यटकदेखि यहाँ कार्यरत कर्मचारीसम्मले गृह जिल्ला फर्किदा जुम्लाको अग्र्यानिक खाद्य वस्तु खरिद गरेर लैजाने गरेका छन् । सबै वस्तु एकै ठाउँमा पाइने भएपछि पर्यटकलाई पनि राहत भएको छ । मिनि मार्केट सञ्चालन भएयता १० करोड भन्दाबढीको अग्र्यानिक खाद्य वस्तु बिक्री भएको चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डे बताउँछन् ।

उनी भन्छन्, ‘सहकारीमा २० हजार भन्दाबढी सदस्य आबद्ध छन् । हामी सहकारी सदस्यको उत्पादन खरिद गर्छौं । उनीहरुले चाहेमा हातमै पैसा लिन्छन् । आवश्यक नपरे खरिद गरेको वस्तुको रुपैयाँ सदस्यको खातामा बचत हुन्छ । उत्पादनले बजार पाएपछि सहकारीका सदस्यहरु कृषि पेशामा रमाएका छन् । अहिले अन्य किसान पनि आफै वस्तु बिक्री गर्न मिनि मार्केटमा आउँछन् । तर मागअनुसार अझै पुर्‍याउन सकिएको छैन ।’

हाल सहकारीमार्फत कालिकोट, नाग्म बजार, प्रदेश राजधानी सुर्खेत, संघीय राजधानी काठमाडौंलगायतका स्थानमा समेत अग्र्यानिक मिनि मार्केट सञ्चालन भएको छ । यसले अग्र्यानिक रैथाने बालीको बजारीकरणमा थप सहज भएको छ । हरेक राष्ट्रिय स्तरका कार्यक्रममा मायाको चिनोका रुपमा समेत यहाँका उत्पादन पठाउने गरिएको छ । दसैं तिहारका बेला पर्यटकको घुइँचो लाग्ने भएकाले सामान पुर्‍याउनै मुस्किल हुने गरेको छ ।

करोडौंको रैथाने अन्न बिक्री
विगतका वर्षमा घरमै थन्किने रैथाने अन्नबाली बिक्री हुन थालेपछि जुम्लाका किसान आत्मनिर्भर हुन थालेका छन् । वस्तु रुपैयाँमा विनिमय हुन थालेपछि आम्दानीसमेत बढेको छ । विगतमा रुपैयाँ नभई सहकारीमा नियमित बचत हुँदैन थियो । ऋण गरेर बचत गर्नुपर्ने किस्ता तिर्नुपर्ने अवस्था थियो । तर चन्दननाथ सहकारीले रैथाने उत्पादन किन्न थालेपछि सहज भएको छ ।

एक करोड ७५ लाख ५० हजार रुपैयाँको आठ हजार मेट्रिकटन सिमी, एक करोड २६ लाख बराबरको दाँते ओखर र ८१ लाखको मार्सी चामल बिक्री भएको छ । त्यस्तै ७२ लाखको स्याउको चाना, ५७ लाख ६० हजारको जिम्बु, २१ लाख ६० हजारको टिमुर, ६० लाख १० हजारको चिनुको चामल, ५७ लाख ५० हजारको कागुनो, ५४ लाखको फापरको पिठो बिक्री भएको छ ।

साथै १३ लाख ५० हजारको कोदोको पिठो, १६ लाख २० हजारको अग्र्यानिक जडिबुटी चिया, १३ लाख ५० हजारको जौको पिठो, १८ लाख ९० हजारको सेतो भट्मास, २४ लाख ५० हजारको गहत, १७ लाख ५० हजारको गुराँस, एक लाख १२ हजारको कला बिक्री भएको मिनि मार्केटले जनाएको छ ।

कृषि विकास कार्यालयको विवरणनुसार २०८१/०८२ मा मात्रै ३६ लाख ४८ हजारको ६०८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडी पाखी निर्यात भएको छ । त्यस्तै ३८० मेट्रिक टन हिमाली भेडाको ऊनको कोटेपाखो बिक्रीबाट ६८ लाख ४० हजार जुम्लामा भित्रिएको छ । यस्तै १२ लाखको खरायोको टोपी, १३ लाख बराबको खसीको मासुसमेत निर्यात भएको छ । जुम्लाबाट वर्षेनी करोडौको अग्र्यानिक खाद्यन्न वस्तु बिक्री तथा निर्यात हुने भएपनि सरकारले जुम्लाको रैथाने बालीको उत्पादन बढाउन ठोस नीति र कार्यक्रम ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्