काठमाडौं–तराई/मधेश द्रुतमार्गको ४१ प्रतिशत भौतिक प्रगति

काठमाडौं– काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको ४१ प्रतिशत भौतिक प्रगति भएको छ । विगत लामो समयदेखि सुरुवाती विन्दुमा विवाद रहँदै आएपछि आयोजनाले गति लिन नसकेको हो । आयोजनाले गति लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमतिका स्थानीय बासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डंगोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर–२१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका थिए । सरोकार समितिले खोकनामा सुरु विन्दुु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
समस्याबारे प्रधानमन्त्री तहबाट छलफल भएपछि आयोजनाको प्रस्थान विन्दुको विवाद समाधान हुने विश्वास लिइएको छ । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्च अधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।
कुल ७०.९७७ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकको हालसम्म ६४.४७७ किलो मिटरमा मात्रै ठेक्का लागेर निर्माण कार्य हुँदैछ । फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनको ६.५ किलो मिटर स्थानीय प्रकृतिका गुठी, व्यक्तिगतका नाममा रहेका जग्गाहरूमा विवाद कायमै रहँदा जग्गा अधिग्रहण हुन सकेको छैन । काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरी चार जिल्लामा निर्माण हुने फास्ट टयाकको समग्रमा भौतिक प्रगति ४१ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ ।
पछिल्लो समय मन्त्रिपरिषद्ले २०८० साउन ३० गते आयोजनाको परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको थियो । द्रुतमार्गको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु निजगढ रहेको छ । कुल दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँको लागतमा निर्माण हुने द्रुतमार्गमा सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर, तराई भू–भागमा २७ मिटर र सुरुङमार्ग संख्या ६ स्थान रहेको छ ।
६ वटा सुरुङमार्गको जम्मा लम्बाइ १०.५५ किलोमिटर रहेको छ । आयोजनामा कुल पुलहरूको संख्या ८९ वटा अर्थात् १२.८८ किलो मिटर रहेको छ । द्रुतमार्गको इन्टरचेन्ज संख्या र टोल प्लजाको तीन स्थान (खोकना, बुदुने र निजगढ) रहेका छन् । सरकारले २०८० वैशाख पाँचसम्मको आयोजनाको म्यादलाई समय सीमा थप गरेर २०८३ चैतसम्म कायम गरेको छ ।
२०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बारा जिल्लाको निजगढमा उक्त आयोजनाको शिलान्यास गरेका थिए । साउन २७ मा सडक विभागबाट सेनालाई हस्तान्तरण भएर मंसिरबाट नेपाली सेनाले जनशक्ति तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायीमार्फत दु्रतमार्गको ट्रयाक निर्माणको कार्य प्रारम्भ गरेको थियो ।