Logo

बेलौरी–कलुवापुर सडक कालोपत्रेको काम अलपत्र

महेन्द्रनगर– कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने बेलौरी कलुवापुर सडक अझैपनि स्तरवृद्धि हुन सकेको छैन । संघ सरकारबाट प्रदेश सरकारमा आएको उक्त सडक दुई पटक कालोपत्रेका लागि उद्घाटन गरिएपनि निर्माण कार्य पूरा हुन नसकेको हो । सडकमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यसअघि अवरोध गरेको सडक मात्रै नभएर अवरोध नभएको कलुवापुरदेखि बन्साहसम्मको सडकसमेत निर्माण भएको छैन ।

निकुञ्ज क्षेत्रमा पर्ने कालागौडीदेखि चान्देबसम्म झण्डै ५ किलोमिटर सडक निर्माण नहुँदा भएका खाल्टाखुट्टीले यात्रुले सास्ती खेप्नु परेको छ । हिउँदमा धुलाम्मे वर्षातमा हिलाम्मे सडक रोपाइँकै खेत जस्तै हुने गरेको छ । स्थानीयका अनुसार जिल्लाका जनप्रतिनिधिलाई नागरिकको दु:ख सुखमा परिणत गर्नुको साटो नियमित सरकारी योजनामा कार्यकर्ता समाजिक सञ्जालमा खटाएर जस लिने होडबाजी मात्रै गर्ने तर, सुधारका लागि प्रभावकारी पहल नगरेको बताए ।

पटक पटक आन्दोलन गर्दासमेत उक्त सडक अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन । त्यसैगरी सो सडक कालोपत्रेको जिम्मा पाएको सन्तोषी थेगिम जेभीले १० करोड ३५ लाखमा ठेक्का पाए पनि कछुवाको गतिमा काम गरिरहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माण व्यवसायीलाई ताकेतादेखि निकुञ्जलाई काम गर्न वातारण बनाइदिन आग्रह गरेको बताएको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले निकुञ्जले प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गरेर मात्रै सडक कालोपत्र गर्न दिने भनेपछि काम अगाडि बढ्न सकेको बताए ।

उनका अनुसार उक्त क्षेत्रको सडकको ठेक्का नै तत्कालका लागि रद्द गरिएको छ । आइई भएपछि मात्रै पुन: ठेक्का सम्झौता गरी काम अगाडि बढाइएको छ । बन्साहाबाट कलुवापुर र कलुवापुरबाट बेलडाँडी दोमिल्लासम्मको सडक कालोपत्रको कार्य र नाली निर्माणको कार्य भने अगाडि बढ्ने थियो । सडक कालोपत्रका लागि सन्तोषी थेगिम जेभीसँग २०७८ साउन २० गते सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण व्यवसायीले निर्धारित समयभित्रै सडक कालोपत्र गर्न नसकेपछि स्थानीय विरोधमा उत्रिएका छन् ।

निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाए पछि सवारीका कारण उड्ने धुलोले स्थानीय समस्यामा परेका छन् । सडकमा उड्ने धुलो घरभित्र पस्ने र बस्नै नसकिने अवस्था आएको छ । धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको छन् । उनीहरूलाई बिरामी हुनबाट जोगाइ दिन स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् । यात्रुसहित विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुन्छन् ।

कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ । सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिबला सुस्तीका कारणले गर्दा लामो समयदेखि कालोपत्र हुन सकेको छैन । उक्त सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्यसमेत अलपत्र परेको छ ।

प्रतिक्रिया दिनुहोस्