ओभरलोडले गर्दा तीन पटक झर्यो तार
बस्तीमाथि धराप अत्तरिया–धनगढी प्रशारण लाइन

धनगढी– नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र २०४२ सालमा स्थापना भएको थियो । त्यसैको पेरिफेरिमा अत्तरिया–धनगढी विद्युत प्रशारण लाइन बनेको बताइन्छ । प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक जंगबहादुर चन्दले २०४२ सालमा स्थापना भएको धनगढी वितरण केन्द्रले केही वर्ष भारतको पलियाबाट आएको विद्युत वितरण गरेको थियो ।
२०४८ मा धनगढीमा सबस्टेशन बनेसँगै अत्तरिया–धनगढी ३३ केभी प्रशारण लाइनसमेत बनेपछि धनगढी वितरण केन्द्र अत्तरियाबाट आएको विद्युत वितरण गर्न थालेको निर्देशक चन्दले बताए । उनका अनुसार अत्तरिया–धनगढी प्रशारण लाइन बनेको ३४ वर्ष भयो । सामान्यता विद्युत प्रशारण लाइनमा जडान गरिएको विद्युत कन्डक्टरको आयु १५ देखि २० वषसम्मको हुन्छ । तर ३४ वर्षमा एक पटक पनि विद्युत कन्डक्टर नफेरिएको निर्देशक चन्दले बताए ।
उनले सो प्रशारण लाइनको कन्डक्टर, तार र टावरको संरचना परिवर्तन तथा क्षमता विस्तार गर्नुपर्ने बेला भइसकेपनि तत्कालै कुनै योजना नरहेको बताए । ‘प्रशारण लाइनमा लगाएको कन्डक्टर गर्मीमा तातो र हिउँदमा चिसो हुन्छ,’ निर्देशक चन्दले भने, ‘यसले गर्दा गर्मीमा तार फैलिन्छ र चिसोमा खुम्चिन्छ । तार धेरै तन्किने र खुम्चिने हुँदा कहिलेकाँही चुँडिएर खस्छ । तातो चिसो हुँदा कन्डक्टर पनि कमजोर हुँदै जान्छ । एक पटक लगाएको कन्डक्टर १५ देखि २० वर्ष चल्छ । त्यसपछि काम गर्न छोड्छ र विद्युत प्रशारणमा समस्या आउँछ ।’
निर्देशक चन्दले भने जस्तै धनगढी अत्तरिया प्रशारण लाइनमा समस्या देखिन थालेको छ । कमजोर भइसकेको अत्तरिया–धनगढी ३३ केभी प्रशारण लाइनमा बढ्दो विद्युत लोडले गर्दा तार चुँडिएर खस्न थालेको छ । गत वर्ष मात्रै ओभरलोड भएर तीन पटक तार झरेको धनगढी वितरण केन्द्रले जनाएको छ । एक पटक धनगढीको चटकपुरमा, एक पटक गेटामा र अर्को पटक अत्तरियामा तार झरेको वितरण केन्द्रका प्राविधिक लालबहादुर चन्दले बताए ।
प्राविधिक चन्दले आफूले २०५२ सालमा प्राधिकरणमा जागिर सुरु गर्दा देखेको संरचनाले अहिलेसम्म विद्युत सेवा धान्दै आएको बताए । उनले आफू आएदेखि अत्तरिया–धनगढी प्रशारण लाइन मर्मतसमेत नभएको बताए । ‘फल्ट भइसकेपछि बिग्रेको ठाउँमा बनाएर विद्युत सुचारु गर्नुबाहेकको मर्मत कार्य भएको छैन,’ उनले भने, ‘अब त यो प्रशारण लाइनलाई पुनर्निर्माण गर्नुपर्ने भइसकेको छ ।’
अत्यधिक विद्युत लोडले गर्दा पटक–पटक ट्रिपिङको समस्यासमेत आउने गरेको छ । प्रशारण लाइनले लोड धान्न नसकेपछि अत्तरियास्थित ग्रीडमा ट्रिपिङ हुने गरेको प्राधिकरणको प्रादेशिक कार्यालयले जनाएको छ । ओभर लोडको कारण दिनमै कैयौं पटक ट्रिप हुने गरेको छ ।
बस्ती जोखिममा, क्षमता बिस्तारमा समस्या
बस्तीकै छेरुबाट आएको ३३ केभी प्रशारण लाइनको तार खस्ने खतरा बढेकाले छेउछाउका बस्ती जोखिममा छन् । ३३ केभीको तार खरेस बस्तीमा आगलागी हुने, करेन्ट लाग्नेलगातका जोखिम बढेको छ । निर्देशक चन्दले ३३ केभी प्रशारण लाइनको छेउछाउमा ठूला ठूला घरसमेत बनेकाले एकातिर प्रशारण लाइनबाट बस्ती जोखीममा पर्नुका साथै प्रशारण लाइनको क्षमता विस्तारमा समेत चुनौती थपिएको बताए ।
‘खेतै खेत भएर प्रशारण लाइन गएको छ, खेतवालाले फेरि बनाउन दिन्छन् कि दिदैनन्,’ उनले भने, ‘बजारतिर प्रशारण लाइनकै छेउमा ठूला ठूला घर बनेका छन् । घर बनाउन अनुमति दिनेले पनि जोखिम आंकलन गर्नुपर्थ्यो । प्रशारण लाइन अपग्रेडमा चुनौती थपिएको छ ।’
न मर्मत, न त पुनर्निर्माणको योजना
विद्युत प्रशारणमा अत्यधिक समस्या आउन थालेपछि प्राधिकरणले २०८० कात्तिक १ गतेबाट उल्फ कन्डक्टर राखेर ३३ केभी क्षमताको नयाँ प्रशारण लाइन सञ्चालन गरेको छ । ‘३३/३३ केभी क्षमताको पुरानो र नयाँ प्रशारण लाइन आएको विद्युत सात वटा फिडरमा वितरण भइरहेको छ,’ प्रविधिक चन्दले भने, ‘२ फिडरमा पुरानो लाइनबाट र ५ वटा फिडरमा नयाँ लाइनबाट विद्युत जान्छ ।’
पुरानो लाइनबाट २५० एम्पिएर र नयाँ लाइनबाट पाँच सय एम्पिएर विद्युत प्रवाह हुने गरेको छ । दुई वटा प्रशारण लाइनबाट आएको विद्युतसमेत धनगढीमा अपुग भएको बताउँदै निर्देशक चन्दले पुरानो प्रशारण लाइनलाई अपग्रेड गर्नुपर्ने बताए । ‘पुरानो प्रशारण लाइन टारवबाट गएको छ,’ उनले भने, ‘टावरलगायत प्रशारण लाइनकै पुनर्संरचना गरेर क्षमता विस्तार गरी ६४ केभी प्रशारण लाइन बनाउन पाए मात्रै धनगढीको मागलाई धान्न सकिन्छ ।’ प्रादेशिक कार्यालय र वितरण केन्द्रले पुरानो लाइनको तार, कन्डक्टरलगायतका सामग्री फेर्नुपर्ने भएको भन्दै हरेक आर्थिक वर्षमा बजेट माग गर्ने गरेको छ ।
तर बजेट नपरेको प्राविधिक चन्दले बताए । ‘पुरानो लाइन पुन: निर्माण गर्नुपर्छ भनेर हामीले हरेक आर्थिक वर्षमा बजेट माग गरेर पठाउँछौं,’ उनले भने, ‘तर, बजेट आउँदैन । बजेट व्यवस्थापन गरी तुरुन्तै तार, कन्डक्टर फेर्नपर्छ ।’ प्रशारण लाइनको छेउछाउमा बनेका घरले गर्दा अत्तरिया–धनगढी प्रशारण लाइनको क्षमता विस्तार खर्चिलो पनि हुने देखिएको छ । निर्देशक चन्दले यो प्रशारण लाइन अपग्रेड गर्नका लागि केन्द्रसँग २/३ वर्ष योजना माग गरेपनि बजेट विनियोजन नभएको बताए ।
अत्तरिया–धनगढी १३२ केभी प्रशारण लाइन अध्ययनमा सीमित
प्राधिकरणले १३२ केभी क्षमताको अत्तरिया–धनगढी प्रशारण लाइन र धनगढीमा १३२ केभी क्षमताकै सबस्टेशन निर्माण गर्न आयोजना कार्यालय स्थापना गरेको थियो । आयोजना कार्यालयले धनगढी वितरण केन्द्रमै कार्यालय स्थापना गरी अध्ययन पनि गरेको थियो । तर, पछिल्लो समयमा सो आयोजना नै हराएको छ । २०८० मा आयोजना कार्यालयले १३२ केभी प्रशारण लाइन बनाउनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको थियो ।
त्यसपछि सो सम्बन्धी कुनै पनि गतिविधि भएको छैन । ‘अत्तरिया–धनगढी १३३ केभी प्रशारण लाइन आयोजना कता हरायो हरायो ?’ निर्देशक चन्दले प्रश्न गर्दै अनभिज्ञता व्यक्त गरे, ‘यही आयोजना बन्छ भनेर पनि ३३ केभी प्रशारण लाइन अपग्रेड गर्ने योजना स्वीकृत नभएको पनि हुन सक्छ ।’ बस्तीले गर्दा नयाँ प्रशारण लाइन बनाउन कठिन भएपनि छ लेन सडकको छेउबाट र अण्डरग्राउण्ड प्रविधिबाटसमेत प्रशारण लाइन बनाउन सकिने सम्भावना बाँकी रहेको निर्देशक चन्लले बताए ।