अलमलियो अर्थतन्त्र

अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत हुँदै गए पनि त्यसलाई प्रभावकारी रूपमा उपयोगमा ल्याउन सकिएको छैन । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षका १० महिनासम्मको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार बाह्य क्षेत्र निकै मजबुत बन्दै आएको छ । तर, आन्तरिक रूपमा अर्थतन्त्र बलियो बन्न सकेको छैन । बैंकका अनुसार यो अवधिमा आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । यो दस महिनामा कुल वस्तु आयात १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ ।
अघिल्लो वर्ष यो बेला आयातमा २.४ प्रतिशतले कमी आएको थियो । भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: ७.९, १५.१ र २८.३ प्रतिशतले बढेको छ । भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायातका उपकरण तथा स्पेयर पार्ट्स, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायतका वस्तुको आयात घटेको छ । यस्तै यो अवधिमा कुल वस्तु निर्यात २ सय १७ अर्ब ९१ करोड पुगेको छ ।
अघिल्लो वर्ष यो बेला निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो । भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: १०४.७, ५.१ र ४.२ प्रतिशतले बढेको छ । भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ । यो दस महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ । अहिले निर्यात–आयात अनुपात १४.८ प्रतिशत छ ।
अर्कातिर जनतालाई प्रत्यक्ष असर पार्ने महँगी बढेको छैन । उल्टो घट्दो क्रममा छ । सर्वसाधारणको क्रयशक्ति कमजोर भएका बेला महँगी नबढ्दा एक किसिमले राहत पुगेको छ । गएको वैशाखमा उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । अहिले खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको उपभोक्ता मूल्य सूचकांक ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको उपभोक्ता मूल्य सूचकांक ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ । हुन त सर्वसाधारणको क्रयशक्ति नभएपछि स्वाभाविक रूपमा बजारमा माग बढ्दैन । माग नबढेपछि महँगी पनि बढ्ने कुरा भएन ।
वैदेशिक रोजगारीमा जाने नेपालीहरू बढ्दै गएको परिणामस्वरूप रेमिटेन्स आयमा पनि वृद्धि भइरहेको छ । यो वर्ष १० महिनासम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँबराबर रेमिटेन्स आएको छ । गत वर्षसँग तुलना गर्दा रेमिटेन्स आय नेपाली रुपैयाँमा १३.२ र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ । वैशाखमा मात्र रेमिटेन्स १ खर्ब ६५ अर्ब ३० करोड आएको छ । रेमिटेन्स र निर्यात बढेका कारण कुल विदेशी विनिमय सञ्चिति पनि उकालो लाग्दै आएको छ ।
अहिले यस्तो सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ भने नेपाली रुपैयाँमा २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । यी सबैको परिणाम तीन वर्षअघि उच्च घाटामा रहेका शोधनान्तर स्थिति र चालु खाता अहिले मजबुत छन् । अहिले शोधनान्तर ४३८ अर्ब ५२ करोडले र चालु खाता २५५ अर्ब ९३ करोडले बचतमा छन् । अर्थतन्त्रको बाह्य क्षेत्र बलियो बन्दै गए पनि त्यसअनुसार आन्तरिक अर्थतन्त्र सुधार गर्न सरकार असफलजस्तै भएको छ ।
आन्तरिक अर्थतन्त्र सुस्त बनेको तीन वर्ष हुन थालेको छ । अहिले यसमा सामान्य सुधारका लक्षण देखिएका छन् । यो वर्ष अर्थतन्त्रको वृद्धिदर पनि ४.६१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तर, आन्तरिक रूपमा लगानी कमजोर छ, उत्पादन र बिक्री बढ्न सकेको छैन । रोजगारीका अवसर सिर्जना भइरहेका छैनन् । बजारले आत्मविश्वास दिलाउन सकेको छैन । समग्रमा भन्दा अर्थतन्त्र अलमलिएको छ ।