बुटवलमा बिजनेस इन्कुबेसन तालिम

बुटवल- बुटवलमा बिजनेस इन्कुबेसन तालिम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघले नवउद्यमीलाई लक्षित गरेर बिजनेस इन्कुबेसन तालिम आयोजना गरेको हो ।
तालिम उद्घाटन गर्दै बुटवल उपमहानगरका उपमेयर सावित्रादेवी अर्यालले तालिमले उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सीप सिकेकालाई उद्यमी कसरी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्यक रहेको बताइन् । उक्त अवसरमा संघमा स्थापना गरिएको उद्योग सम्वर्द्धन केन्द्र उद्घाटन गरिएको छ । संघले उद्यमशीलता विकासका लागि २०७६ देखि बिजनेस इन्कुबेसन सेन्टर सञ्चालन गर्दै आएको छ ।
एक महिनासम्म सञ्चालन हुने तालिममा २० जना नवउद्यमी सहभागी रहेको संघका कार्यकारी निर्देशक तथा तालिमका फोकल पर्सन मदनकुमार कार्कीले जानकारी दिए । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीलाई प्रोत्साहन र तिनको उद्यम विकास तथा प्रवर्द्धनका लागि संघले यसअघि दुई पटकसम्म बिजनेस इन्कुबेसन तालिम सञ्चालन गरेको बताए ।
संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले विगतमा बिजनेस इन्कुबेसन कार्यक्रम सञ्चालन गर्दा प्राप्त प्रतिफलकै कारण सरकारी तहबाट सहयोग प्राप्त भएको धारणा व्यक्त गरे । उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले उद्यमशीलताका विभिन्न गतिविधि गर्दै आईरहेको बताउँदै नव उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धनका लागि बिजनेस इन्कुबेसन कार्यक्रम आयोजना गरिएको बताए ।