स्थानीय सरकार बनेपछि गाउँमै सडक «

स्थानीय सरकार बनेपछि गाउँमै सडक

स्थानीय सरकार निर्माण भएपछि विकास निर्माणले गति लिन थालेको छ । स्थानीयवासीले पनि स्थानीय सरकारले पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर विकास निर्माण भइरहेको बताएका छन् ।
शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सञ्चारलाई विशेष प्राथमिकता दिएर अहिलेका जनप्रतिनिधिले काम गरिरहेका छन् । विकासका लागि सबै पूर्वाधार आवश्यक परे पनि सडक पहिलो आवश्कता हो । अहिले पनि जुम्लाका अधिंकाश ग्रामीण बस्तीका कृषि उत्पादनले सडकको अभावमा बजार पाउन सकेको छैनन् । जसले गर्दा कृषकहरूले आफ्नो परिश्रमअनुसार मूल्य नपाएको गुनासो गरेका छन् । प्रत्येक बस्तीमा सडक पुराउने तातोपानी गाउँपालिकाको प्राथमिकताअनुसार ६ नम्बर वडाको हियाखोला गाउँमा सडक पुगेको छ । पहिले गोरेटो बाटो भएको उक्त हियाखोला गाउँमा स्थानीय सरकार आएपछि मात्रै सडक पुगेको स्थानीयले बताए । अहिले तातोपानी गाउँपालिकाले सबै गाउँमा सडक पु¥याउने योजनाका साथ काम अगाडि बढाएको छ । जसअन्तर्गत ६ नम्बर वडाको हियाखोला गाउँ र ५ नम्बर वडाको नगर गाउँमा सडक पुगेको गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए । उनका अनुसार सबै वडामा यसै आवभित्र सडक विस्तार भइसक्ने छ । यस आवमा आएको झण्डै २३ करोड बजेट नै ८ वटा वडाको विकासका लागि विनियोजित भएको अध्यक्ष न्यौपानेको भनाइ छ । जसअनुसार सडक विस्तारका लागि प्रत्येक वडापालिकामा १५ लाख बढी बजेट छुट्याइएको छ । केही बस्तीमा सडक पुगिसकेका छन् भने केहीमा पुग्ने क्रममै छन् ।
स्थानीय उत्पादनले बजार पाउला त ?
विकासको पहिलो आधार मानिने सडक सञ्जाल विस्तार भएपछि गाउँमा उत्पादन हुने कृषि उपजले बजार पाउने भन्दै स्थानीय कृषकहरू मख्ख परेका छन् । तातोपानी–६ हियाखोला गाउँका कृषक भैरव केसीले भने, “पहिले गाउँमा उत्पादन गरिएको आलु, सागपात, सिमीलगायत अन्य कृषि उपज सडक नहुँदा गाउँमै थन्किन्थ्यो, तर अब भने सहज हुने आशा पलाएको उनको भनाइ छ । गत वर्ष हियाखोला गाउँमा सडक नहुँदा बजारीकरणको अभावले झण्डै ५ हजार क्विन्टल आलु गाउँमै थन्किएको गुनासो गरिन् सोही गाउँकी स्थानीय महिला हरिदेवी सुनारले । अब त गाउँमै सडक पुगेकाले व्यावसायिक कृषिखेती गरी कृषि उपजको बजारीकरणमा निकै राहत हुने उनको आशा छ । केही खाएर केही बजारमा बिक्री गर्नका लागि सडकले सहजता बनाएकाले छोराछोरीको कापी कलम किन्न सकिने आशा धेरैको छ । “सडक विस्तार भइसकेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउला भन्ने ग्यारेन्टी छैन,” तातोपानी ३ की मोतीपुरा रावलले भनिन, “गाउँपालिकाले संकलन केन्द्रको व्यवस्थापन पनि गर्नुपर्छ । यो वर्ष सडक निमार्णको काम सकाए पनि अर्को वर्ष जसरी पनि कालोपत्र गरे सडक विस्तारको कामले पूर्णता पाउने र अन्य विकासका ढोका खोलिने मोतीपुरा रावलको जस्तै धेरैको अपेक्षा छ । तातोपानी गाउँपालिकाले लिएको ५ ‘स’ को नीतिअनुसार सडकको विस्तारसँगै सञ्चारको विकासका लागि निरन्तर कामअघि बढिरहेको वडा नम्बर ३ का अध्यक्ष डिल्ली रावलले बताए । उनका अनुसार गाउँमै जिएसएम टावरको निर्माणकार्य भइरहेको छ भने, सोलार जडानकार्य सकिएको छ । अबको केही दिनमै तातोपानी गाउँपालिकाका स्थानीयले गाउँमै बसेर इन्टरनेट चलाउनुका साथै स्पष्टसँग फोन गर्न पाउने अध्यक्ष रावलले विश्वास दिलाए ।

सागर परियार 

प्रतिक्रिया दिनुहोस्